व्यवस्थित बन्दै पन्चदोबाटो 

  • प्रकाशित मितिः असार १६, २०७५
  • 1218 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजार सुधार गरिएको छ । नगरपालिकामा दिक्तेलदेखि अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक सुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो । 
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बजारमा स्टिल ट्रष्ट, शौचालय, बगैंचा, विद्युत, खानेपानी लगायतको व्यवस्था मिलाइएको छ । जिल्लाको अर्गानिक खाद्य सामग्री खरिद तथा बिक्री हुने उक्त बजारमा अहिलेसम्म नगरपालिका र स्थानीयको श्रमदानगरि करिब दुई करोडको लगानीमा भौतिक संरचना निर्माण गरिएको छ । 
लामो समयदेखि हटिया लाग्ने पञ्चदोबाटोमा यसअघि चित्राको छाप्रो हालेर व्यापार गर्ने गरिएको थियो । खोटाङको मात्र नभइ छिमेकी जिल्ला उदयपुरका सर्वसाधारणले समेत प्रत्यक्ष सेवा लिने उक्त ठाउँमा अहिले ४२ वटा स्टिल ट्रष्ट निर्माण गरिएको छ । 
उपभोक्ताको माग र व्यवसायीको निवेदनको आधारमा थप २३ वटा स्टिल ट्रष्ट निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुनिल राईले बताए । डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको स्टिल ट्रष्ट निर्माणका लागि २३ वटै ठाउँमा जग हाल्नेक्रम जारी छ । 
सगरमाथा लोकमार्गमा पर्ने पञ्चदोबाटो बजार यसअघि ढूलो र फोहरको डङ्गुरले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको थियो । बजारलाई व्यवस्थित र आधुनिकीकरण गरेपछि व्यापारीको संख्या पनि बृद्धि हुँदै गएको छ । 
परम्परागत रुपमा सञ्चालन हुँदै आएको बजारलाई आधुनिकीकरण गरेपछि व्यापार व्यवसाय सञ्चालनमा सहज भएको व्यापारी कपिलमणी बस्नेतले बताए । ‘पानी पर्दा र हावा चल्दा भाग्नुपर्ने अवस्था थियो ।’ सत्र वर्षदेखि कपडा व्यापार गर्दै आएका बस्नेतले भने –‘बजारलाई व्यवस्थित गरेपछि ढुक्क भएर व्यापार गर्न पाइन्छ, पहिलेको तुलनामा व्यापार पनि बढेको छ ।’ 
हप्ताको एक दिन मात्र हटिया लाग्ने पञ्चदोबाटोमा बस्नेतसँगै करिब एक सय ५० जना व्यापारीले लामो समयदेखि व्यापार गर्दै आएका छन् । हटियाको दिन न्युनतम् दश हजारदेखि ५० हजारसम्म व्यापार हुने गरेको व्यापारीहरुले बताएका छन् । 
तरकारी, थोकवस्तु, लत्ताकपडा, भाँडाकुँडा लगायत छुट्टाछुट्टै राखेर बिक्री गर्न गराउन बजारलाई आधुनिक रुपमा विकास गर्ने योजनाका साथ काम अगाडि बढाइएको वडा अध्यक्ष दिनेश राईले बताए । ‘पञ्चदोबाटो बजारलाई वडाको गौरवको आयोजनाको रुपमा विकास गर्ने योजना बनाइएको छ ।’ राईले भने–‘यसलाई थप प्रभावकारी बनाउन योजनावद्ध तरिकाले अगाडि बढेका छौं ।’
पञ्चदोबाटो बजारमा विशेषगरि चामल, दाल, तरकारी तथा फलफूल, कुखुराको भाले तथा सुँगुरको पाठापाठी लगायत घरायसी उत्पादन खरिद तथा बिक्री हुने गर्दछ । सडक सञ्जालको राम्रो पहुँच रहेको उक्त बजारमा अर्गानिक खाद्यवस्तु पाइने भएकाले पनि सबैको व्यापारिक केन्द्र बनेको हो । 
लेक र बेँसीको बीच भागमा सञ्चालन हुने पञ्चदोबाटो बजारमा लेकालीले झारेको आलु, मकै, गहुँ तथा सागसब्जी बेँसीकाले उत्पादन गरेको दाल, चामल, फलफूलसंग साटासाट गर्ने चलन समेत रहेको छ । पुरानो तथा ऐतिहासिक बजार पञ्चदोबाटोलाई स्थानीय तह लागू भएपछि व्यवस्थित गर्न सुरु गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित