नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–महंगी नियन्त्रण, वन्यजन्तुबाट कृषि क्षेत्रमा भइरहेको क्षति न्यूनीकरण, सडक तथा पुल निर्माण र बाढीपीडितलाई राहत उपलब्ध लगायतका माग राख्दै नेपाली कम्युनिस्ट पार्टी खोटाङले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १३ गते ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि, कृत्रिम अभाव सिर्जना गर्ने र म्याद गुज्रिएका खाद्यवस्तु तथा औषधि बिक्री गर्नेमाथि छानबिन गरी कारबाही गर्नु पर्ने, खोटाङलगायत देशभर बाँदर, दुम्सी, बँदेललगायत वन्यजन्तुले कृषि बालीमा क्षति पु¥याइरहेको र वन्यजन्तुको आक्रमण र क्षतिका कारण किसानले कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएकाले यसप्रति सरकारले प्रभावकारी कदम चाल्नु पर्ने उल्लेख छ ।
ज्ञापनपत्रमा तराईसंग जोड्ने महत्वपूर्ण मार्गको रूपमा रहेको सगरमाथा लोकमार्ग अन्तरगत फोक्सिङटारस्थित पुल गत वर्षको बाढीले बगाएपछि आवतजावत र व्यापार व्यवसायमा समेत समस्या सिर्जना भएकाले यथासिघ्र निर्माण गर्नु पर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङको करिब १० किलोमिटर सडकखण्ड कालोपत्र गर्न तथा हलेसी–जयरामघाट सडकखण्ड स्तरोन्नति र विस्तार गर्न समेत माग गरिएको छ ।
निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीप्रति पनि ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । उक्त आयोजना निर्माणबाट प्रभावित क्षेत्रका जनतालाई मुआब्जा नदिइएको र कतिपय कानुनी झमेलासमेत देखिएको उल्लेख गर्दै अधिग्रहण गरिएको जग्गाको मुआब्जा उपलब्ध गराउन समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अमेरिकाबाट प्रकाशन हुने ‘गो जोन’ नामक अन्तर्राष्ट्रिय पत्रिकाले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सांसद सागर ढकाललगायत नेताहरूलाई अमेरिकाले आर्थिक सहयोग गरेको भन्ने आशयको आरोप लगाएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त आरोपबारे सरकारले औपचारिक प्रतिवाद गर्नुपर्ने र आरोप गलत भए तत्काल खण्डन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सरकारले हजारौं सुकुम्बासीलाई घरबारविहीन बनाएको भन्दै उनीहरूको उचित बसोबासको प्रबन्ध मिलाउन माग गरिएको छ । गत भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित हजारौं नागरिकले अझै पर्याप्त राहत पाउन नसकेकाले पीडितलाई आवास तथा उपचारलगायत आवश्यक व्यवस्था मिलाउन समेत विज्ञप्तीमार्फत सरकारसमक्ष आग्रह गरिएको छ । नेकपा खोटाङले भोटेकोशी बाढी पीडितका लागि संकलन गरेको ९४ हजार ७ सय ६८ रूपैयाँ प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा जम्मा गरेको भौचर समेत ज्ञापनपत्रको साथमा बुझाएको छ । ज्ञापनपत्रमा पार्टीका जिल्ला संयोजक दीपक पाण्डे र जिल्ला इन्चार्ज राजन राईले हस्ताक्षर गरेका छन् ।
त्यस्तै उक्त पार्टीको कात्तिक १३ गते पत्रकार सम्मेलन गरी जागरण अभियान सञ्चालन भइरहेको जनाएको छ । यसअन्तरगत कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी देशव्यापी रूपमा जागरण अभियान भइरहेको जनाएको छ । उक्त अभियान अन्तरगत खोटाङका १० वटै पालिकामा दर्शनशास्त्र, अर्थराजनीति, वर्तमान राजनीतिक उपलब्धि, आर्थिक आत्म निर्भरता र समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको पथप्रदर्शक सिद्धान्तको बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रियता, जनजिविका, जनअधिकार, सुशासन र पारदर्शिताको पक्षमा संघर्ष गर्ने, प्रत्येक पालिकामा न्यनतम एउटा जनश्रमदान कार्यक्रम गर्ने लगायतका अभियान सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १३–महं�... ... ...
सविना अछामे–खोटाङ, कात्तिक १२–आगामी मङ्सिरको �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ११–सात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–१० औं ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ६–खोटा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित