प्रशासनिक संयन्त्र र नागरिक बीचको सम्वन्ध

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • 2500 पटक पढिएको
  • संवादताता

दिनेश ढुङ्गाना-
लोकतन्त्रका लाभहरुको अधिकतम् वाँडफाँड गर्नका लागी नेपालमा विगत दशकौंदेखि भएका आन्दोलनको परिणम स्वरुप संविधानसभा मार्फत स्थानीय सहभागिता तथा स्वायत्तता प्रबद्धर्न गर्न तीन तहको सरकार सहितको राज्यको स्वरुप तयार भइसकेको छ । 
संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले करिव २० प्रतिशत कार्यकाल समेत पूरा गरिसकेको अवस्था छ । विषेशतः स्थानीय सरकारलाई हाम्रो संविधानले दिएको अधिकार हेर्ने हो भने स्थानीय तह सेवाप्रवाह केन्द्र, जनसम्पर्क केन्द्र, सेवा प्रवाह केन्द्र र जनताको घरदैलोको सरकारको रुपमा स्विकार गर्न सकिन्छ । 
प्रस्तुत पृष्ठभूमिमा स्थानीय सरकारको राजनीतिक सरकारको गठन भए पश्चात त्यसकै एक महत्वपूर्ण पाटो प्रशासनिक सरकारको सन्दर्भमा प्रसस्तै अन्यौलता तथा गुनासाहरु रहेको पाइन्छ । विगतको एकात्मक स्वरुपमा रहेको राज्य सत्ता हाल संघात्मक अवस्थामा आउँदा उही यथास्थितिवादी सोच र आफ्नौ स्वार्थ तथा हितमा प्रशासनिक संयन्त्र रहेको भन्ने कुरामा आंशिक सत्यता रहेको पाइन्छ । कर्मचारी समायोजन झन–झन जटील बन्दै गइरहेको अवस्था छ । यद्यपि भइरहेका प्रयासहरुलाई थप मजबुत तुल्याउदै जादा टुङ्गो अवस्य भेटिन्छ । 
प्रशासनयन्त्र योग्यहरुको सरकार हो । देशको शासन व्यवस्था त्यहाँको प्रशासनको उत्कृष्टता भन्दा माथि जान सक्दैन । राजनीतिज्ञले देखेको सपना पूरा गर्ने सबैभन्दा विश्वासिलो पात्रको रुपमा कुनै पनि देशको प्रशासन संयन्त्रले काम गरिरहेको हुन्छ । आवाश्यक नीतिगत व्यवस्था, श्रोत साधनको व्यवस्था तथा सुपरीवेक्षणको आशा राजनीतिबाट प्रशासनले राखेको हुन्छ । राजनीतिज्ञलाई तथ्यमा आधारित भएर सुझाव दिनु तथा आफ्नो व्यवसायिकतामा आधारित भएर काम गर्नु कर्मचारी प्रशासनको धर्म हो । त्यसै गरी प्रशासनप्रति तटस्थ व्यवहार तथा विश्वासको माग राजनीतिकयन्त्रसंग प्रशासनले राखेको हुन्छ । 
कर्मचारी प्रशासन योग्य र विषेशज्ञहरुको समूह हो । उनीहरु योग्यता प्रणालीबाट छनौट भएर आएका हुन्छन् । राजनीतिक नेतृत्वले कर्मचारी संयन्त्रलाई आफ्नो सेवकको रुपमा बुझ्नु दुर्भाग्यपूर्ण हो । राजनीतिको लक्ष जनताका इच्छा र चाहना पूरा गर्नु हो । त्यस्तै प्रशासनको अन्तिम उदेश्य पनि नागरिकको खुसी र सन्तुष्टि नै हो । 
यसरी एउटै उद्देश्य लिएर हिडेकाहरुको बाटो त एउटै होइन र ? कि दुवैको उद्देश्यमा नै बिचलन आएको हो ? नभए एक अर्का प्रतिको यो अविश्वास किन ? एक सचेथ नागरिकले राखेका यस्ता प्रश्नहरुको जवाफ कस कसले दिनुपर्ला ? सवाल यो हो । 
हाम्रो देशको प्रशासनले जनअपेक्षा बमोजिम काम गर्न नसकेको सत्यतालाई नकार्न सकिदैन । कर्मचारी संयन्त्रको पुनःसंरचनासंगै कर्मचारीहको संस्कारमा समेत परिवर्तन गर्नु पर्दछ । नागरिक र प्रशासन बीचको सम्बन्ध स्पष्ट हुनु पर्दछ । कर्मचारीहरुले राजनीतिको चाकडी होइन जनताको सेवा गर्ने हो । 
प्रत्यक हप्ता नागरिकसंग बहस तथा सम्पर्क गर्ने व्यवस्था कर्मचारी प्रसासनमा जरुरी छ । सार्वजनिक सुनुवाइ, खुला समय, नागरिक बजेट, नागरिक सन्तुष्टि मापन आदिका माध्यामबाट प्रशासन र नागरिक बीचको सम्बन्ध स्थापित गर्न सकिन्छ । नागरिकको अनुहारमा आउँने खुसी नै प्रशासनको सक्षमता मापन गर्ने औजार हो । 
(ढुङ्गाना नेपाल सरकारका कर्मचारी हुन्)
प्रकाशित मिति २०७५ असोज ९

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित