हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला र नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक निर्माणको गति सुस्त (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ २३, २०८३
  • 104 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २३–जिल्लाको उत्तरी क्षेत्र जोडेने दुई सडक निर्माणको काम सुस्तगतिमा भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला र नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक अस्फाल्ट कालोपत्रेको काम सुस्तगतिमा भइरहेको स्थानीयले गुनासो गरेका हुन् ।
दुवै सडकको ठेक्का बीसी–पीसी–पीकेबी जेभीले लिएको हो । यसमध्ये हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक दुई करोड ५३ लाख ५३ हजार ५ सय १५ रूपैया“ बजेटमा आगामी असार १५ गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले गत बैशाख ३ गते पूर्वाधार विकास कार्यालय खोटाङसंग संझौता गरेको थियो । करिब अढाई महिनाको अवधिमा निर्माण सक्नु पर्नेमा अहिलेसम्म २० प्रतिशत मात्र काम भएकाले यो अवधिमा सकिने छा“ट नभएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताएका छन् । हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक खण्डमा २ हजार ४ सय मिटर सडक अस्फाल्ट कालोपत्रे, गेबिन, नाला लगायतको काम गर्नु पर्ने दाहालले जनाएका छन् ।
निर्माणस्थलबाट उपकरण नै लिएर गइसकेकाले काम अलपत्र पर्ने देखिएको हुदा स्थानीय तहले चासो देखाउनु पर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका बर्जबहादुर राईले बताएका छन् । निर्माणमा सम्बद्ध लोकेन्द्र विष्टले भने काम भइरहेको दाबी गरेका छन् । अहिलेसम्म शव बेसको काम सकिएको र अबको ८–१० दिनमा बेसको काम पनि सकिने विष्टले बताएका छन् । सामग्री (बिटुमिन) अभाव, प्रतिकूल मौसमका कारण केही ढिला भएको विष्टले जनाएका छन् ।
त्यस्तै उक्त निर्माण कम्पनीले नै ठेक्का लिएको नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक सस्फाल्ट कालोपत्रेको काम पनि सुस्तगतिमा भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । दुई करोड ३८ लाख ३७ हजार ५ सय ७७ रूपैया“को लागतमा असार १५ गते सम्पन्न गर्ने गरी बैशाख ३ गते नै पूर्वाधार विकास कार्यालय खोटाङसंग संझौता भएको थियो । तर अहिले १५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको दाहालले सुनाएका छन् । उक्त सडक खण्डमा एक हजार ८ सय ८८ मिटर अस्फाल्ट कालोपत्रे, एक सय ४० मिटर ढलान तथा कज्वे र नाला निर्माण गर्नु पर्ने दाहालले सुनाएका छन् । विष्टले भने उक्त सडक खण्ड अन्तरगत ३ दिनभित्र स्ट्रक्चरको काम सकिने बताएका छन् । त्यसपछि शवबेस लगायतका काम सुरु गर्ने विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित