खोटाङमा १८ जनाले जिते कोरोना

  • प्रकाशित मितिः कार्तिक २४, २०७७
  • 1086 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–जिल्लामा १८  जनाले कोरोनालाई जितेका छन् । जिल्ला समन्वय खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीया लगायत १८  जनाले कोरोना जितेका हुन् ।
जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाका अनुसार प्रदेश नं १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कात्तिक २४ गते कोरोना मुक्त भएको पुष्टि गरेको हो । चिकित्सक झाका अनुसार जिल्ला समन्वय प्रमुख बबि चाम्लिङकी श्रीमती सर्मिला राई, जिल्ला जिल्ला समन्वय अधिकारी राजेश गिरी, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङका स्वकीय सचिव मिलनचन्द्र राई लगायत १८ जना कोरोनामुक्त भएका हुन् । उनीहरुमध्ये सहायक प्रजिअ श्रेष्ठ र डिएसपी चिमरीयाको भने काठमाडौमा गरिएको स्वाब परीक्षण नेगेटिभ देखिएको हो ।
कात्तिक २३ गते १६ जना संक्रमितको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चिकित्सक झाले सुनाए । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि कात्तिक १४ गते एकै दिन १२ जनामा कोरोना पुष्टि भएपछि कात्तिक १७ गते एक सय ४७ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो । यसमध्ये फेरि कात्तिक २१ र २२ गते गरी १५ जनामा कोरोना पुष्टि भएको थियो ।
जिल्ला समन्वय प्रमुख, प्रजिअ, सहायक प्रजिअ, डिएसपी लगायत दिक्तेलबजारका अन्य तीन जना सर्वसाधारणलाई समेत कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि दिक्तेलबजार सिल गरिएको थियो । दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा अनिश्चितकालीन सिल गरिएको हो ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् । यसबाहेक सबै बैंकहरु समेत बन्द गरिएका छन् । औषधी पसल, दैनिक उपभोग्य वस्तु लगायतका पसल बाहेक अन्य सबै बन्द गरिएको छ । अत्यावश्यक बाहेक यातायात समेत बन्द गरिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मलाई बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित