दिलकाजी–इन्दिरा स्मृति दिवसमा बृक्षरोपण

  • प्रकाशित मितिः असार ३१, २०७७
  • 1041 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३१–जनयुद्धमा मारिएका तत्कालीन नेकपा माओवादीका नेता दिलकाजी कार्की र इन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ । २०५९ साल असार ३१ गते राज्यपक्षबाट मारिएका दिलकाजी–इन्दिराको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित निर्माणाधीन शहीदपार्कमा वृक्षारोपण गरिएको हो ।
दिलकाजी–इन्दिराको १९ औं स्मृति दिवसको अवसरमा असार ३१ गते शहीद पार्कमा विभिन्न विरुवा रोपिएको हो । जनयुद्धमा जिल्लामा नेतृत्व गर्ने दिलकाजी र उनकी श्रीमती इन्दिराको स्मृतिमा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, नेकपाका नेता दीपक पाण्डे, विनोद आचार्य, विशन राई, सुरेन्द्रकुमार राई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन खोटाङका अध्यक्ष ध्रुबकुमार कार्की लगायतले वृक्षारोपण गरेका हुन् ।
तत्कालीन नेकपा माओवादीका जिल्ला सेक्रेटरी समेत रहेका दिलकाजी र अनेमसंघ क्रान्तिकारीका जिल्ला सदस्य रहेकी इन्दिरालाई नेपाली सेनाले जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट नियन्त्रणमा लिएर टुवा खोलामा ल्याएर हत्या गरेका थिए । कार्की दम्पत्ती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निवासी हुन् ।
‘शहीदमाथि नै अन्याय भो’
स्मृति दिवसको अवसर पारेर संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ले जनयुद्धमा बलिदान दिएका शहीदको सपना पुरा हुन नसकेको बताएकी छन् । सहीदकै बहिनी समेत रहेकी कार्कीले सामाजिक सञ्जालमा दाई (दिलकाजी) र भाउजु (इन्दिरा)लाई सम्बोधन गर्दै नेपालमा व्यवस्था परिवर्तन भए पनि नेतृत्वको बिचारमा परिवर्तन आउन नसकेको उल्लेख गरेकी छन् । ‘जनयुद्धमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दा गर्दै शाहीसेनाको कठोर यातनापछि सहादत प्राप्त गर्नुभयो । हजुरहरुको बलिदानले संघर्षमा झनै उर्जा थप्यो । हजुरहरुको विचारलाई सार्थक बनाउँदै आन्दोलनले निरन्तरता पायो, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो । सबै विभेदको अन्त्य भयो ।’ समिताले लेखेकी छन्–‘तर फरक यत्ति भयो, परिवर्तनको नेतृत्व हजुरहरुले भनेजस्तै परिवर्तनशील बिचारले पाएन ।’ समिताले फेसबुकमा भनेकी छन्–‘यतिबेला हजुरहरुलाई शान्ति पक्कै मिलेको छैन । हजुरहरुले न्याय पाएजस्तो लाग्दैन । हजुरहरुको न्यायको लागि हामी बाँच्नेहरु सँधै प्रतिवद्ध छौँ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित