खोटाङको हलेसी तुवाचुङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः जेठ २२, २०७७
  • 1196 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २२–जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का २१–२१ वर्षीय दुई जना पुरुष र वडा नं ५ दुर्छिमका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार विराटनगरस्थित कोशी अस्पतालले जेठ २२ गते दिउसो उनीहरुलाई कोरोना संक्रमण पुष्टि गरेको हो । संक्रमित तीन जना जेठ दोश्रो साता भारतबाट आएको प्रजिअ पौडेलले सुनाए । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए । उनीहरुमध्ये बाहुनीडाडा“का २१ वर्षीय दुई जना जेठ १५ गते र दुर्छिमका ४५ वर्षीय जेठ १६ गते घर आइपुगेका हुन् ।
उनीहरुमध्ये २१ वर्षीय युवाहरु भारतको कानपुरबाट र ४५ वर्षीय भारतकै गोरखपुरबाट आएका हुन् । उनी गोरखपुरको क्वारेन्टाइनमा २८ दिन बसेर आएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताए । बाहुनीडाडा“का दुई युवालाई मालिका मावि कदुवाको क्वारेन्टाइनमा र ४५ वर्षीय पुरुष दुर्छिमस्थित स्वास्थ्य चौकी भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई कोभिड १९ अस्पताल विराटनगरमा पठाउने तयारी गरिदै गरेको प्रजिअ पौडेलले सुनाए ।
हलेसी तुवाचुङ नगरपालिकाका ३३ जनाको पीसीआर परीक्षणका लागि गत जेठ १६ गते स्वाब सङ्कलन गरी जेठ १७ गते कोशी अस्पताल पठाइएको थियो । यसअघि पनि हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीय युवामा कोरोना संक्रमण भएको थियो । उनको कोभिड १९ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित