अनुदानको प्रलोभनमा लाखौं ठगी

  • प्रकाशित मितिः असार ३१, २०७५
  • 1698 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार ३१–तपाईको गाउ“ ठाउ“मा केही कार्यक्रम सञ्चालन गर्छु भन्दै कुनै नौलो मान्छे आएका छन् ? यदी आएका छन् भने राम्ररी बुझेर मात्र संगत गर्नुहोस् । किन भने तपाईलाई डुबाउन सक्छ । यसको एउटा उदाहरण हालै भएको घटना हो ।
अनुदान दिने प्रलोभनमा दुई दर्जन बढी किसानलाई ठगी गरेको खुलासा भएको छ । कृषिसम्वन्धी विभिन्न फर्म सञ्चालन गर्ने किसानहरुलाई ७० प्रतिशत अनुदान दिने प्रलोभनमा खोटाङका दुई दर्जन बढी किसानलाई ठगी गरेको हो ।
विभिन्न बहानामा खोटाङका किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका करिब दुई दर्जन बढी किसान ठगीमा परेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फर्मका प्रबन्धक रमेश राईका अनुसार अर्बा नामको इज्रायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गर्ने व्यक्तिले प्रति फर्म तथा व्यक्तिको दुई लाख ५० हजार रुपैया“का दरले ठगी गरेको हो । 
उनका अनुसार आफ्नै खातामा दुई लाख ५० हजार जम्मा गरेपछि अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि आफूहरु ठगीमा परेको बताए । ‘हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मक्ख परियो ।’ उनले भने–‘खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकाली फरार भए ।’
ठगीमा पर्ने मध्येका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाण्डूबाट तीन जना र ज्योति विकास बैंकबाट एक जनाको गत असार २८ गते रकम चोरी भएको हो । यसबाहेक अन्यको चोरी भएको तर जानकारीमा भने नआइसकेको राईले बताए । ‘हामीजस्तो थुप्रैलाई अनुदान दिने भनेर प्रलोभनमा पारिएको छ ।’ राईले भने–‘अहिलेसम्म थाहा हुन आएको २० जना छ, अरुको पनि खाताबाट रकम चोरिएको हुनसक्छ ।’
दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने पैसा चोरी गर्ने व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको बताएका छन् । डिएस्पी थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकहरुबाट निकालिएको पाइएको छ । सोझासाझालाई विभिन्न बहानामा ठगी गरी फरार भएकाले खोजी सुरु भएको डिएस्पी थापाले बताए । ठगिनेमा निर्मलीडाडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा लगायतका किसान परेका छन् । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित