दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ६८ करोड ६९ लाख ९६ हजार बढी  

  • प्रकाशित मितिः असार २९, २०७५
  • 1437 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६८ करोड ६९ लाख ९६ हजार रुपैया“को बजेट पारित गरेको छ । असार २९ गते आयोजित दोश्रो नगरसभाले यत्तिको बजेट पारित गरेको हो । प्रस्तुत छ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमको पूर्ण पाठ :
 
माननीय सभाका सदस्यज्यूहरु, 
आमन्त्रित विशिष्ट व्यक्तित्वहरु,
राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं नगरवासी समस्त महानुभावहरु,
विभिन्न समयक्रममा भएका ऐतिहासिक क्रान्ति, संघर्ष र अन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीकरण सहितको नेपालको संविधान, २०७२ बमोजिम गठित स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गरिमामय यस नगरसभामा नगरपालिकाकाको आ.व. २०७५।०७६ को बजेट प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ । प्रथमतः नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक क्रान्ति, जनआन्दोलन र कठिन संघर्षमा जिवन उत्र्सग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण  गर्दछु । साथै घाईते तथा अपाङ्गहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
जनताको लागि जनताद्वारा गरिने जनताको शासनको पवित्र सिद्धान्तलाई स्थानीयस्तरमा व्यवहारमा उतारी लोकतन्त्रको लाभहरुलाई स्थानीय जनतासम्म पु्याउने दिशामा हामी अविचलित रुपमा लागिरहेका छौं । सघन तयारी र विज्ञहरुको परामर्शवाट नगरको सर्वागंीण र सन्तुलित विकास गर्न आवधिक नगर विकास योजना २०७५÷०७६– २०७९÷८० तयार गरी समृद्ध नगर तयार गर्न हामी प्रयत्नरत छौ ।  
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
ऐतिहासिक माझकिरात अन्तर्गत खोटाङ जिल्लाको सदरमुकामस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जातीय सहिष्णुता, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यताले सम्पन्नशाली धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वले प्रचुर सम्भावना बोकेको नगरपालिका हो । यिनै वृहत सम्भावना र विविधतालाई उपयोग गरी स्रोत साधनको वैज्ञानिक परिचालनवाट यो नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न हामी प्रयत्नरत छौं  ।
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
मूलुकको ऐतिहासिक राज्य पुनर्संरचना संगै गठित नयाँ नगरपालिका हुनु, नगर संचालनका लागी यथेष्ट भौतिक पुर्वाधारको कमी, संघ तथा प्रदेशसभाबाट प्राप्त हुनुपर्ने ऐन तथा नीतिको अभाव, केही नितीगत अस्पष्टता तथा आन्तरिक स्रोतको अपर्याप्तताका बाबजुद यस नगरपालिकाको दिगो तथा गुणस्तरीय सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासको माध्यमबाट समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरको रुपमा विकास गर्ने सोचका साथ आ.व.२०७५।०७६ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय सभामा उपस्थित भएको छु ।
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु, 
मैले यो बजेटमा, नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा प्रादेशिक सरकारका नीति, कार्यक्रम तथा मार्गदर्शन, नेपाल सरकारबाट प्राप्त निर्देशिकाहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम आवधिक योजना (२०७५।७६ – २०७९।८०)ले निर्देशित गरेका लक्ष्यहरु, लाई  मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखी नगरपालिकाले प्राप्त गर्ने आयश्रोतको सीमाभित्र रही वार्षिक कार्यक्रमहरु तयार गरी पेश गरेको छु ।
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतको श्रोत अनुमान तथा कुल बजेट सिमा निर्धारण समिति, राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, ६ वटा विषयक्षेत्रगत समितिहरु, १५ वटै वडा समितिहरु, नागरिक समाजका प्रतिनिधिहरु, टोलवासीहरु, वडावासीहरु,विभिन्न लक्षित वर्गका प्रतिनिधीहरुको प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगबाट माग भई आएका योजनाहरु, प्राप्त सल्लाह र सुझाव समेतलाई आत्मसात गर्दै नगरकार्यपालिकाको बैैठकमा सघन छलफल सहित पारित गरी मैले यो बजेट तथा कार्यक्रम निर्माण गर्ने कार्य गरेको छु ।
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०७५।०७६ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व यस नगरपालिकाको समग्र विकास कार्यमा देखिएका तथा भोगिएका विद्यमान समस्या, चुनौति एवं अवसर र संभावनाहरुलाई यस गरिमामय सभामा प्रस्तुत गरेर समीक्षात्मक रुपमा अगाडी बढ्न सकिने तथ्यलाई मनन् गर्दै त्यस्ता समस्या, चुनौति एवं अवसर र संभावनाहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
समस्याहरु :
# आन्तरिक श्रोतको न्यूनताका कारण बढेको केन्द्रीय परनिर्भरता ।
# पर्याप्त उपयुक्त जनशक्ति, एथेष्ट कार्यालय पूर्वाधार र संस्थागत क्षमताको कमी ।
# गुणस्तरीय सडक, विधुत्त र सञ्चारको पहँुच सबै वडासम्म पुग्न नसक्नु ।
 
चुनौतिहरु :
# न्यून सहरी पूर्वाधार, कमजोर सामाजिक तथा आर्थिक सूचकहरु ।
# ठूलो भूगोल, भौगोलिक विकटता, छरिएर रहेको वस्ति ।
# स्थानीय सरकारसँग नगरवासी जनताका असिमित अपेक्षाहरु  ।
# सिमित क्षमता र श्रोत साधन तथा असिमित आवश्यकताका बीचमा तालमेल मिलाई सन्तुलित र दिगो विकासका लागि जनसहभागिता र आम सहमति कायम गर्ने ।
 
अवसरहरु :
# निर्वाचित प्रतिनिधिहरुमा जोसजागर र उत्साह हुनु ।
# जनताप्रति उत्तरदायी प्रतिनिधिमूलक स्थानीय सरकार गठन भई जनचाहना अनुरुप सहभागितात्मक प्रकृयावाट योजनाहरु छनौट भई स्थानीय स्तरमा संचालन हुनु ।
# प्रथम आवधिक योजना २०७५/०७६–२०७९/८० तयार भई कार्यान्वयनको चरणमा अगाडी वढ्नु  ।
 
सम्भावनाहरु :
# प्रयाप्त युवा जनशक्ती र तिनको समुचित परिचालनवाट प्राप्त हुन सक्ने जनसांख्यीक लाभ ।
# निर्माणाधिन मध्यपहाडी लोकमार्ग 
# निर्माणाधिन महुरे फोक्सीङ्टार सडक 
# ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको हलेसीथान, देवीथान मझुवागढी, माहुरेगढी, रुपाकोट, भुलभुले क्रमशः जिल्ला र नगरमा अवस्थित हुनाले पर्यटन विकासको प्रचुर सम्भावना ।
 
सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यरुहरु,
अव म आर्थिक बर्ष २०७४/०७५ को समिक्षा र स्वीकृत नीति तथा कार्यक्रमका आधारमा बजेटका उदेश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।
 आर्थिक बर्ष २०७३/०७४ को आय र व्ययको यथार्थ विवरण – आर्थिक बर्ष २०७३/०७४ को आन्तरिक आय (राजस्व) तर्फ रु. ३५ लाख ३४ हजार नौ सय चौसठ्ठी र केन्द्रीय सरकारको अनुदान तर्फ रु. २६ करोड २३ लाख ७५ हजार चार सय सत्र गरी कुल रु. २६ करोड ५९ लाख १० हजार तीन सय एकासी मध्ये सम्पूर्ण रकम खर्च भएको ।
 चालु आर्थिक बर्ष २०७४/०७५ को आय र व्ययको संशोधित अनुमान – चालु आर्थिक बर्ष २०७४/०७५ को आन्तरिक आय (राजस्व) तर्फ रु. ११ लाख ८७ हजार र संघीय सरकारको अनुदान तर्फ रु. ५८ करोड ५१ लाख ६३ हजार गरी कुल ५८ करोड ६३ लाख ५० हजार मध्ये रु. ५४ करोड ७३ लाख ५४ हजार खर्च भएको संशोधित अनुमान छ ।
बजेटका उदेश्यहरु :–
 विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने ।
 स्थानीय अर्थतन्त्रमा उच्च आर्थिक वृद्धि हासिल गर्ने ।
 नगरपालिकाद्वारा प्रदान गर्ने सेवामा आमनागरिकको पहुँच वृद्धि गर्ने ।
 विकासका पूर्वाधारहरु विस्तार र पहुँच वस्तीस्तर सम्म पु¥याउने ।
 समृद्ध, समुन्नत र हरियाली नमुना नगरपालिकाको रुपमा विकास गर्ने ।
 
बजेटका प्राथमिकताहरु :–
 दिगो र गुणस्तरीय पूर्वाधार विकास ।
 सामाजिक विकास, सामाजिक न्याय तथा लैङ्गिक मूलप्रवाहीकरण   ।
 कृषि, पशुपंक्षी, सहकारी, उद्यम मार्फत रोजगारी र उत्पादनमा वृद्धि ।
 वातावरण संरक्षण र हरियाली तथा सौन्दर्य प्रवद्र्धन  ।
 संस्थागत विकास र सेवा प्रवाहमा क्षमता विकास ।
सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु,
उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको चालु आ.व. २०७५।०७६ को बजेट सारमा प्रस्तुत गर्न गईरहेको छु ।
१) आ. व. २०७५।०७६ मा मैले कुल बजेट रु. ६८,६०,९६,०००।००।–(अठसठ्ठी करोड साठी लाख छयानब्बे हजार मात्र) को बजेट पेश गरेको छु ।
२) आयतर्फ :
क) नगरपालिकाको आन्तरिक आय रकम रु. ४५,००,०००। (पैतालिस लाख रुपैया) रहने अनुमान छ ।
ख) संघीय सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित रकम रु. १० करोड ३ लाख २४ हजार, वित्तिय समानिकरण अनुदान रु. १४ करोड ९ लाख र सशर्त अनुदान तर्फ रु. ४१ करोड ५९ लाख गरी कुल रु. ६५ करोड ७१ लाख २४ हजार हुने अनुमान रहेको छ ।
ग) प्रादेशिक सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित रकम रु. ५ लाख, वित्तिय समानिकरण अनुदान रु. ३९ लाख ७२ हजार र सशर्त अनुदान तर्फ रु. २ करोड गरी कुल रु. २ करोड ४४ लाख ७२ हजार हुने अनुमान रहेको छ ।
३) विनियोजनतर्फ
क) संघीय सशर्त कार्यक्रम तर्फ रु. ३२ करोड ९ लाख विनियोजन गरेको छु ।
ख) प्रादेशिक सशर्त कार्यक्रम तर्फ रु. २ करोड विनियोजन गरेको छु ।
ग) चालु खर्च (कार्यालय) तर्फ रु.८ करोड ९६ लाख ४९ हजार ६ सय खर्च गर्ने व्यवस्था मिलाएको   छु ।
घ) विशेष कोषहरु तर्फ रु. १ करोड ७४ लाख ७४ हजार एक सय नौ विनियोजन गरेको छु ।
ङ) समपुरक कोष तर्फ रु. २ करोड विनियोजन गरेको छु ।
च) विषयगत विनियोजन तर्फ
पूर्वाधार विकास :
नगरपालिकाको केन्द्र/मध्यपहाडी सडकदेखि प्रत्येक वडा केन्द्रसम्म १२ महिना यातायात सञ्चालन हुने गरी सडकको पहुँच पु¥याउने । वडा केन्द्रदेखि वडामा रहेका माध्यामिक विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरू, सामुदायिक भवनहरूसम्म पुग्ने गरी सडक विस्तार गर्ने, नगर क्षेत्रभित्रका उत्पादन पकेट क्षेत्र र पर्यटकीय स्थलहरूलाई मुख्य बजार केन्द्रसँग आबद्ध हुने गरी सडक सञ्जालको निर्माण गर्ने तथा जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाहरूसँग समन्वय गरी स्थानीय सडक सञ्जालसँग जोडिने गरी नगर सडकहरूको विकास गर्ने र आन्तरीक र वाह्य पर्यटन प्रवद्धन गर्दै लाने उद्देश्यकासाथ 
# स्थानीय गौरवका सडक योजनाहरु सचांलनको लागी रु १ करोड ३५ लाख विनियोजन गरेको छु ।
# पूर्वाधार विकास तर्फका क्रमागत योजनाहरुलाई सम्पन्न गर्न एकमुष्ट १ करोड १५ लाख विनियोजन गरेको छु ।
समग्र पूर्वाधार विकास क्षेत्र तर्फ कुल रकम रु.७ करोड ९६ लाख ९५ हजार बिनियोजन गरेको छु ।
सामाजिक विकास :
नगरवासीको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइकोे सुविधामा पहुँच, खेलकुदको विकास युवा परिचालन एवं प्रवद्र्धनका साथै लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी नगरवासीलाई आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ :
# जेष्ठ नागरिक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भक्ता प्रदान गर्ने व्यवस्था मिलाएको छु ।
# युवा मैत्री नगर विकासको लागी खेलकुदका कार्यक्रमहरु लाई निरन्तरता दिएको छु ।
# नगरपालिका क्षेत्र भित्र शिघ्र कुपोषित वालवालिकाहरु पहिचान र छनौट गरी वहु क्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु ।  
# दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई महिला मैत्री नगरपालिकाको रुपमा स्थापित गराउन, महिला हिंसालाई न्यूनिकरण गर्न, महिलाहरुलाई आर्थिक, राजनीतिक र सामाजिक रुपमा सवल र सक्षम बनाउदै महिला शसक्तिकरण गर्ने कुरालाई ध्यानमा राखेर उपप्रमुख संग महिला कार्यक्रम संचालन गर्न रु. ५० लाख विनियोजन गरेको छु ।
समग्र सामाजिक विकास तर्फ ःकुल रकम रु. ११ करोड ७९ लाख ६ हजार ८ सय रुपैया विनियोजन गरेको छु ।  
आर्थिक विकास :
कृषिजन्य उत्पादन, वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापना र प्रोत्साहन गर्दै उद्योग व्यापार तथा सेवा क्षेत्रलाई सक्षम वनाउने उद्देश्यका साथ :
# सम्भाव्यताका आधारमा एक वडा न्यूनतम एक उत्पादन पकेट स्थापना गरी उत्पादन प्रवद्र्धन गर्न कृषि व्लक तथा पकेट विकास कार्यक्रम तर्फ रु २७ लाख विनियोजन गरेको छु ।
# वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूका लागि लक्षित नगर स्तरीय नमूना कृषि उद्यमि कार्यक्रमलाई निरन्तरता दिन आवश्यक वजेटको व्यवस्था मिलाएको छु 
# रसायनिक मलमा ढुवानी अनुदान दिने व्यवस्था मिलाएको छु । 
# नगरमा औद्योगिक विकास प्रवद्र्धनका लागी  नगर महोत्सव तथा औधोगीक प्रर्दशनी गर्न आवश्यक वजेट सहीत कार्यक्रमको व्यवस्था गरेको छु । 
समग्र आर्थिक विकास क्षेत्रको लागी रु.१ करोड ८९ लाख ४५ हजार बिनियोन गरेको छु ।
बन, वाताबरण तथा सरसफाई : 
नगरपालिका क्षेत्रमा उत्सर्जन हुने घरेलु फोहोर मैला व्यवस्थापनका लागी हाईड्रोलिक ट्याक्टर र Toilet Connected Septic Service and Vehicle Mounted Suction Machine खरिद गर्नका लागी आवश्यक वजेट व्यवस्था गरेको छु ।
समग्र बन, वाताबरण तथा सरसफाई तर्फका आयोजना तथा कार्यक्रमहरुका लागि रकम रु. ६५ लाख २६ हजार ३ सय ९५ विनियोजन गरेको छु ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका कार्यक्रमहरुका लागि आवश्यक वजेट विनियोजन गरेको छु 
 
सम्माननीय सभाध्यक्ष महोदय तथा माननीय सदस्यज्यूहरु, 
अन्तमा,
प्रस्तुत बजेट निर्माण कार्र्यमा अहोरात्र खटिई तथा प्रत्यक्ष/अप्रत्यक्ष रचनात्मक सल्लाह सुझाव एवं प्रतिक्रिया दिई सहयोग गर्नुहुने नगरसभाका सचिव लगायत राष्ट्रसेवक कर्मचारीहरु, कार्यपालिकाका सदस्यज्यूहरु, विभिन्न समितिका सदस्यज्यूहरु, राजनैतिक दल, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । 
यस सम्मानित सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पनि यहाँहरुको सक्रिय सहभागिता रही उदेश्य प्राप्तिमा रचनात्मक तथा सिर्जनात्मक सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु । धन्यवाद !
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित