दादुरा–रुबेला खोपको तयारी पूरा

  • प्रकाशित मितिः फाल्गुन १, २०७६
  • 1256 पटक पढिएको
  • संवादताता

डिएम चाम्लिङ राई
खोटाङ (साकेला, मानेभञ्ज्याङ), फागुन १– साकेला गाउपालिकाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान तयारी पूरा गरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आज बिहीबार खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफलको आयोजना गरी उक्त जानकारी गराएको हो ।
साकेला गाउँपालिकाको पाँचै वडामा फागुन १५ गतेदेखि २३ गतेसम्म यो अभियान सञ्चालन हुने स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिए । दादुरा रुबेला २०२३ सम्म अन्त्य गर्ने सरकारी लक्ष्य अनुसार यस पालिकाले पनि उक्त अभियान सञ्चालन गर्ने भएको हो ।
अभियानको क्रममा पालिकाभरीका ७३८ जना बालबालिकालाई यस खोप लगाउने लक्ष्य राखिएको हेल्थ असिस्टेण्ट शेखर राजवंशीले जनाए । जसअन्तर्गत वडा नं. १ बाँझेच्यानडाँडामा एक सय ६५, वडा नं. २ रतन्छामा एक सय ४३ जना, वडा नं. ३ खिदिमामा एक सय ५९ जना, वडा नं. ४ मात्तिममा एक सय ५६ जना र वडा नं. ५ मात्तिमविर्तामा एक सय २४ जना बालबालिकाको तथ्याङ्क रहेको छ ।
यस अभियान पाँच वडाको ३६ स्थानमा खोपकेन्द्र राखिने छ भने ७२ जना स्वयमसेवक र ३६ जना खोप कार्यकर्ता परिचालन गर्ने तयारी भएको राजवंशीले बताए । गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले यस अभियान प्रभावकारी रुपमा लागू गर्न र कुनै पनि बालबालिका नछुटाउन निर्देशन दिए ।
नेपालमा सन् २०१५ देखि दोश्रो मात्रामा दादुरा–रुबेला खोप अभियानको सुरुवात भएको थियो । यस अभियानबाट विफर रोगको उन्मूलन, बालमृत्युदर कम, मातृ तथा नवशिशु धनुष्टङकार निवारण, जापानिज इन्सेफलाईटिस नियन्त्रण, रुबेला तथा सिआरएस नियन्त्रण, हेपाटाईटिस वी नियन्त्रण लगायतका रोगहरु उन्मूलन भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित