सकियो हलेसी गुरुयोजना

  • प्रकाशित मितिः माघ १५, २०७६
  • 1174 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १५–हलेसी गुरुयोजना निर्माण समितिले हलेसीको बृहत गुरुयोजनाको काम सकेको छ । माघ ११ र १२ गते काठमाडौंमा अन्तरक्रिया आयोजना गरी हलेसीको गुरुयोजना टुङ्गो लगाएको हो । यद्यपि स्थानीयस्तरमा सरोकारवाला तथा जग्गावालासंग छलफल त्यसपछि नगर कार्यपालिकाले निर्णय गरी नगरसभाले पारित गरेपछि मात्र वैधानिकता पाउने छ । त्यसपछि सम्वन्धित मन्त्रालयमा पेश गरिने छ । 
हलेसी तुवाचुङ नगरपालिकामा पर्ने विश्व प्रशिद्ध हलेसीको गुरुयोजना २०७५ जेठबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजकत्वमा बनेको गुरुयोजना निर्माण समितिले उक्त गुरुयोजना निर्माण गरेको हो । भट्टराईले भने–‘हलेसी तथा आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका चरणबद्ध छलफल र अन्तरक्रियाको माध्यमबाट बनाइएको प्रस्तावित गुरुयोजना फाइनल भएको हो ।’ भट्टराईले थपे–‘अब यसै गुरुयोजनाको आधारमा किरात, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गरिने छ ।’
गुरुयोजनामा महादेव गुफा, मन्जुश्री गुफा, किरात ऐतिहासिक उत्पत्तिको थलो तुवाचुङ जायजमुम, होलेसुङ, ककनीडाडा“ लगायतलाई प्राथमिकतामा राखिएको छ । ककनीडाडा“लाई रक गार्डेनका रूपमा विकास गर्ने भट्टराईले सुनाए । हलेसी वरिपरि पर्ने भुम्जुडाडा“, खाम्तेलगढी, सल्लेपोखरी, महादेवबेंसी, गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, जयराम, जोर्तीघाट लगायतलाई पनि गुरुयोजनामा समावेश गरिएको छ ।
भट्टराईका अनुसार गुरुयोजनामा हलेसी मन्दिर (गुफा) आसपासको दुई सय मिटर वरिपरिको जग्गा अधिग्रहण गरिने छ । भट्टराईले भने–‘हलेसीको गुफालाई केन्द्र मानेर दुई सय मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गरिने छ ।’ हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अुनसार यसक्षेत्रमा पर्ने जग्गाधनी तथा सरोकारवाला पक्षसंग छलफल गरेर उचित क्षतिपूर्तिको विषय टुंग्याइने भएको छ । यसका लागि अधिग्रहणमा पर्ने घर, सरकारी तथा निजी जग्गाको वर्गीकरण पनि भइसकेको नगरप्रमुख राईले बताए । राईका अनुसार एक सय ६९ वटा घर टहरा विस्थापित हुने छन् ।
स्थानीयले कब्जा गरेको जग्गाबाट बा“की रहेको गुफा आसपासको २६ रोपनी जग्गाभित्र कुनै पनि संरचना नबनाइने नगरप्रमुख राईले सुनाए । राईका अनुसार हलेसी गुफाको मुखैमा बनाइएका मारतिका छोलिङ गुम्बा समेत व्यवस्थापन गरिने भएको छ । गुम्बाको वजनले कमलो चट्टानले बनेको हलेसी गुफा धरापमा परेकाले यसको व्यवस्थापन गरिने भएको हो । गुफाको भारवहन लगायतका अन्य खतरालाई मध्यनजर गर्दै भूगर्वविद्को परामर्शको आधारमा व्यवस्थापन गरिने नगरप्रमुख राईले सुनाए । यसबाहेक हलेसी मन्दिर, गणेश मन्दिर तथा आसपासका घर तथा हलेसीको प्राकृतिक गुफालाई असर पु¥याउने रूखको समेत उचित व्यवस्थापन गरिने नगरप्रमुख राईले बताए । 
गुरुयोजनालाई अन्तिम रूप दिन हलेसी तुवाचुङ नगरपालिकाको पहलमा प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो । प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पूर्वराज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पूर्वसांसद टंक राई, विदुर पौडेल, संविधानसभा सदस्य हरि रोका, पिके राई, समिता कार्की, दुर्गाजयन्ती राई,  हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राई, उपप्रमुख बिमला राई, हलेसीका वडाध्यक्षलगायत सदस्य रहेको समितिले गत असार ५ गतेभित्रै गुरुयोजना तयार पारिसक्ने कार्यतालिका बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित