विकास माने सडक ?

  • प्रकाशित मितिः मंसिर २७, २०७६
  • 1692 पटक पढिएको
  • संवादताता

भिम राई -
यसपाली खोटाङ जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटमा विनियोजन गरिएको बारे पत्रकार सम्मेलन भयो । स्थानीय स्तरबाट जनताको माग भइआएका योजनाहरुमा सांसदहरुले आवश्यकताका आधारमा बजेट वितरण गरिएको सम्मेलन सुनाइयो । बजेटको प्रथामिकीकरण हेर्दा बजेटको आधा भन्दाबढी बजेट सडकमा रहेछ । अरु कामहरुमा निकै कम छ । भौतिक पूर्वाधार निर्माणमा मात्र खर्च गर्न पाईने निर्देशिका अनुसार बजेट वितरण भएको  हो । भौतिक पूर्वाधार निर्माणमा सडक भन्दा अरु देखिएन । यसले चिसो भनेकै कोकाकोला भने जस्तै विकास भनेकै सडक हो भन्ने भान परेको छ । 
जस्तो स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा प्रतिनिधि सभाबाट प्राप्त बजेटमध्ये सकड शिर्षकमा ३ करोड रुपैयाँ,  प्रदेश सभाबाट आउने योजना क्षेत्र (क) मा १ करोड २० लाख रुपैयाँ र प्रदेश सभामार्फत आउने बजेट मा क्षेत्र नं (ख) १ करोड ७५ लाख रुपैया रहेको छ । उक्त कार्यक्रमबाट जम्मा प्राप्त हुन ११ करोड रपैयाको बजेटमा ५ करोड ९५ लाख रुपैया रकम सडकमा छुट्टयाइएको छ । यो भन्दा अरु भौतिक निर्माणको कामहरु नै नभएका हुन त ? गाउँ पालिका तथा नगरपालिकाको योजनाहरुमा समेत सडक नै प्राथामिकतामा रहेका छन् । केन्द्रिय आयोजनाहरुबाट आउने बजेटहरुमा समेत सडक छुटेका छैनन् । यो सुखद् पाटो हो तर समृद्धिको यात्रामा अगाडि जान सडक सबै कुरा नहुन सक्छ । हाम्रो विकास प्रतिको सोचले हामीलाई कता धकेलिरहेको छ । समृद्धि तिर कि ! गरिबी तिर ?
धेरै समय अगाडी खोटाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन एमालेको तर्फबाट दुई पटक प्रतिनिधि सभामा टंक राईले निर्वाचन जिते । राजनीतिक वैचारिक हिसाबले केही असमझदारीहरु रहेपछि उनले नेकपा एमाले छाडेर नेकपा मालेको राजनीतिमा लागे । नेपाल कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्ने क्रममा नेकपा एकीकृत, नेकपा र नेकपा माओवादी केन्द्र हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेता स्थायी आमन्त्रित सदस्यका रुपमा उनी कृयाशिल छन् । उनै नेता राईले धेरै पटक मञ्चहरुमा भाषण गर्दा विकासका बारेमा बोलेका कुराहरु अहिले हो जस्तो भएको छ । उनले बोलेका एउटा भाषणमा भनेका थिए  –‘हामीले सडक ल्याउँला, सडक ल्याएपछि गाडी आउँने छ । गाडीमा कोकाकोला आउने छ । वियर आउने छ । चाउ चाउ आउने छ । यी चिजहरु हामीले किनेर खाने छौँ । अनि त्यो गाडी फर्किँदा हामीसँग भएका सबै पैसा लिएर जाने छ । हामीलाई गरिबीको चपेटामा यसैले पु¥याउने छ । त्यसैले जुन गाडीले समानहरु बोकेर आउँछा त्यही गाडीमा हाम्रो आफ्नो उत्पादन समेत पठाउन सक्ने गरी हामीले विकासलाई रोज्नु पर्दछ ।’
विकास भनेको सडक निर्माण मात्र होइन विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि पनि हुन् । यो भनाई अहिले सार्थक बनेको छ । ‘सडक माने विकास’ मात्र बुझेर समग्रतामा विकास निर्माणको काम नहुँदा जताततै उब्जाउ जमिनहरु बरवाद बन्दै गएको छ । उनै सांसद राईले यस पटकको भेटमा भने ‘सडक त बन्यो टयाक्टर सम्म भएपनि कुद्न त थाल्यो, सबै तराई तथा शहरहरुबाट समानहरु भटाभट आउन थाले तर गाडी फर्किदा पैसामा मात्र बोकेर गयो, न हामीले हाम्रा कुनैपनि समानहरु शहरलाई पठाउन सकेनौँ ।’ वास्तविकता यही भयो । अहिले गाउँ गाउँमा सडकहरु पुगेका छन् । जताततै सडकले छोएको छ । एउटा गाउँसम्म पुग्न चारवटा सम्म बाटाहरु खुलेका छन् । विकासलाई राजनीतिकरण गरिएको छ । सडकलाई कांग्रेस र कम्युनिष्टको बनाइएको छ । यसले खासमा विकासको सही सदुपयोग भएको देखाउँदैन । 
ग्रामीण विकासको पहिलो शर्त भौतिक पूर्वाधार निर्माणलाई मान्ने हो भने सडकलाई मात्र पर्छ त ? शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयहरुलाई चाँही कसरी सम्बोधन गर्ने होला । हामीले सदरमुकाम वरीपरिको विकासलाई हेरेर सिँगो जिल्लाको विकासको सूचक तयारी बनाउन थालेका त छैनौँ । अव हाम्रो जिल्ला भित्र कृषि, पशु, शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक विषयहरुमा सक्षम भइसकेको हो र ? स्थानीय तहमा रहेका विकास माग्ने हामी आम नागरिकहरुले चाहेको विकासमा सडक कति औँ नम्बरमा प्राथामिकतामा रहन्छ । 
केही समय अगाडि दिक्तेल बजारमा नेकपा युवा नेता गोपाल आचार्यले प्रसङ्गवस एउटा यस्तो अभिव्यक्ति राखे, ‘हामीले विकासलाई नजिकबाट चिन्न नसकेर हैरान भएका छौँ ।’ 
विकासको चाहाना फरक फरक तरिकाले हुनेकुरा बताउँदै उनले भने, ‘सडक बनायौँ, भ्यु टावर बनायौँ, अब ठूला ठूला पार्कहरु बनाउँदै छौँ । तर मेरो बालाई त्यसको कुनै महत्व छैन । मेरा बालाई त एउटा सानो सिँचाई पोखरी चाहिएको छ । खेतमा लगाउने मल चाहिएको छ । यस्तै विउ विजन चाहिएको छ ।’ यो कुराले एउटा विषय उठान भएको छ । गोपाल जीका बा जस्तै अधिकांश बाहरुलाई सडकमा आएको गाडीको कुनै महत्व देखिदैन । उनीहरुसँग न गाडि चढेर कतै जाँदा तिर्नुपर्ने भाडा हुन्छ न जानुपर्ने काम नै । बरु सडक आएपछि उनीहरुले वल्लो गाउँबाट पल्लो गाउँ हिँडेर गएको बाटाहरुमा मिच्छे हराएको छ । 
यो कथाले वास्तवमा हाम्रो विकास निर्माणको योजना छनौटमा प्राथामिकि करण गर्नमा केही चुकेको हुन सक्छौँ । नेतृत्व तहबाट होस या नागरिकको तहबाट होस हामीले विकासको परिभाषालाई नजिकबाट ठिक ढंगले बुझ्न नसकिरहेको हो त ? अहिले हामीले रोजेको विकासले दिएको उपलब्धिहरु के के हुन ? अब सोच्ने बेला नआई सकेको नै हो ? कि हामी आफै अलमलिएर गरिबीको मुलढोका उघार्न तम्तयार भएका हौँ ।
प्रकाशित मिति २०७६ मङस्रि २७

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित