हलेसी गुरुयोजनाको कुरा
- प्रकाशित मितिः कार्तिक २, २०७६
- 1387 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २–विश्व प्रशिद्ध हलेसीको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । हलेसी विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि बृहत गुरुयोजना निर्माण गरिएको हो ।
करिब दश महिनाअघि सुरु बृहत गुरुयोजनाको बजेटिङ भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । ‘विश्व सम्पदा सूचीको मापदण्ड अनुसार बृहत गुरुयोजना लगभग सकिएको छ ।’ नगरप्रमुख राईले भने–‘अहिले बृहत गुरुयोजना कार्यान्वयनका लागि बजेटिङको काम भइरहेको छ ।’
नगरप्रमुख राईका अनुसार धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र, त्रिधार्मिक हब (हिन्दू, बौद्ध र किरात), सांस्कृतिक क्षेत्र, ध्यान केन्द्र, खानेपानी, अस्पताल, बसपार्क लगायतको अन्तरराष्ट्रिय मापदण्ड अनुसारको संरचना निर्माणका लागि विभिन्न विषयका विज्ञहरुसंग छलफल, परामर्शपछि बृहत गुरुयोजना निर्माण सुरु गरिएको हो । उक्त बृहत गुरु योजनाका लागि विभिन्न प्राविधिक समिति गठन गरिएको थियो । धार्मिक, सांस्कृतिक, पर्यटन, भूगर्व, सहरी योजना लगायतका विज्ञहरु खटिएको नगरप्रमुख राईले सुनाए ।
हलेसी मन्दिर आसपासका करिब चार सय घर–टहरा रहेको र त्यसको व्यवस्थापन कसरी गर्ने, मध्यपहाडी लोकमार्ग पनि हलेसी मन्दिर क्षेत्रभित्रै रहेकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका अन्य विषयमा समेत विज्ञहरुको परामर्शपछि गुरुयोजनामा समावेश गरिएको नगरप्रमुख राईले सुनाए । हलेसी सुक्खा क्षेत्र रहेकाले पानीको नियमित श्रोत चुनौति भएकाले यसको व्यवस्थापनमा समेत दीर्घकालीन योजना गुरुयोजनामा समेटिएको छ ।
सुविधा सम्पन्न अस्पताल, बसपार्क लगायतको समेत निर्माण गर्नु पर्ने भएको यसका लागि सरकारले बजेट विनियोजन गर्नु पर्ने नगरप्रमुख राईले बताए । बसपार्कका लागि आठ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध भएको र मापदण्डको अनुसारको बसपार्क निर्माणका लागि प्रक्रिया बढाइएको नगरउपप्रमुख विमला राईले सुनाइन् ।
गुरु योजना निर्माणका लागि करिब चार करोडको हाराहारीमा बजेट लाग्ने नगरप्रमुख राईले सुनाए । यसमध्ये नगरपालिकाले ७० लाख रुपैया“ मात्र छुट्टयाएको नगरप्रमुख राईले सुनाए । अपुग बजेटका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गरिएको छ । नगरप्रमुख राईका अनुसार गुरुयोजना कार्यान्वयनका लागि करिब १२ अर्ब रुपैया“ जति लाग्छ ।