करोडौंका योजना अलपत्र, उपचारका लागि हेलिकोप्टरको भर

  • प्रकाशित मितिः मंसिर 12, 2083
  • 132 पटक पढिएको
  • संवादताता

सविना परियार, (खोज पत्रकारिता केन्द्रका लागि)
खोटाङ, मङ्सिर ११–हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले गाउँमै अस्पताल बनोस् र स्थानीयले उपचारका लागि टाढा धाउन नपरोस् भनेर आफ्नो जग्गा निःशुल्क दिए । उनी जस्तै अरू स्थानीयले पनि अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराए । तर वर्षौं बितिसक्दा पनि अस्पताल बनेन । भवनको जग समेत पूरा हुनसकेको छैन ।
प्रकाशचन्द्र लगायत सात जना स्थानीय वासिन्दाले हलेसीमा १५ शय्याको अस्पताल निर्माणका लागि ९ रोपनी ३ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
त्यतिबेला प्रतिरोपनी ४८ लाख रूपैयाँ पर्ने जग्गा अस्पतालका लागि निःशुल्क उपलब्ध गराएको प्रेमबहादुर बस्नेतले बताए । ‘गाउँमै अस्पताल बन्छ भनेर जग्गा दिएको हो । तर जग्गा त्यसै खेर गयो’, उनले भने ।
उक्त जग्गामा भवन निर्माण सुरु भए पनि अहिलेसम्म सम्पन्न भएको छैन । संघीय सरकारको ११ करोड ९९ लाख रूपैयाँ (भ्याटबाहेक) लागतको उक्त अस्पताल भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ गते देशभरका ३९६ अस्पताल भवनसंगै शिलान्यास गरेका थिए ।
नगर अस्पताल निर्माणको ठेक्का नमूना हिमालयन जेभी विराटनगरले लिएको थियो । २०७८ साउन ७ गते सम्झौता गरेको कम्पनीले २०८० साउन ७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर समयमै काम नसकिएपछि पटक–पटक म्याद थपिएको छ । चौथो पटक पनि म्याद थप्ने तयारी भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।
निर्माण कम्पनीले भवनको जग र पिलर मात्रै उठाएको छ । अहिलेसम्म करीब ३४ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको देखिन्छ । यसबापत करीब ४ करोड रूपैयाँ रनिङ बिल मार्फत भुक्तानी भइसकेको नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताए ।
निर्माणमा ढिलाइ गरेपछि नगरपालिकाले ठेकेदार रमेश बस्नेतको गाडी समेत नियन्त्रणमा लिएको थियो । २०८२ चैत ९ गते नियन्त्रणमा लिइएको बा.प्र.१६ च ६८०२ नम्बरको सुजुकी कार जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर त्यही दिन हलेसीस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो ।
पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि गाडी नियन्त्रणमा लिनुपरेको नगर प्रमुख विमला राईले बताइन् । उनका अनुसार गाडी नियन्त्रणमा लिएपछि चैत १२ गतेदेखि काम सुरु गर्ने र त्यसपछिको ६० दिनभित्र दोस्रो तलाको ढलान गरेपछि मात्रै गाडी फिर्ता गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि काम सुरु भएको छैन ।
नगर प्रमुख राईले अस्पताल निर्माणमा ढिलाइ हुनुको मुख्य कारण निर्माण कम्पनीको लापरबाही भएको बताइन् । ‘अस्पताल नबन्नुको मुख्य कारण निर्माण कम्पनी नै हो । त्यही भएर पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि निर्माणमा सम्बद्ध व्यक्तिको गाडी नियन्त्रणमा लिइएको हो’, उनले भनिन् ।
हलेसीको अस्पताल संघीय सरकारको बजेटमा सुरु भएको हो । तर कार्यान्वयनको जिम्मेवारी स्थानीय तहसंग जोडिएको छ । संघीय बजेट, स्थानीय तहको कार्यान्वयन र निजी निर्माण कम्पनीको जिम्मेवारी बीच समन्वय कमजोर हुँदा त्यसको मार भने उपचारको प्रतीक्षामा रहेका नागरिकले खेपिरहेका छन् ।
हलेसीमा मात्रै होइन, खोटाङका अन्य पालिकामा निर्माणाधीन आधारभूत अस्पतालका भवन पनि अधुरै छन् । स्वास्थ्य क्षेत्रको यो समस्या विकासका काममा भइरहेको हेलचेक्र्याइँको एउटा पाटो मात्रै हो । कोशी प्रदेश सरकारबाट सञ्चालित सडक र पुलका योजना समेत निर्धारित समयमा पूरा हुनसकेका छैनन् । संघ, प्रदेश र स्थानीय तहका करोडौं रूपैयाँका आयोजना अधुरै रहँदा नागरिकले सहज उपचार, यात्रा र आधारभूत सेवाका लागि अझै प्रतीक्षा गर्नुपरेको छ ।


रावाबेंसी गाउँपालिकास्थित खार्पाको आधारभूत अस्पताल पनि अलपत्र छ । सात करोड ५७ लाख रूपैयाँको लागतमा २०८० असार १७ गतेसम्म निर्माण सक्ने गरी महादेव खिम्ती अन्जना रुजन जेभीसंग सम्झौता भएको थियो । तर अहिलेसम्म १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भवनको जग र पिलर उठाएर निर्माण रोकिएको छ ।
पटक–पटक ताकेता गर्दा पनि काम नभएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ बताउँछन् । निर्माणमा संलग्न ध्रुव श्रेष्ठले भने डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ भएको र अब काम सुरु गर्ने बताए ।
त्यसै बेला शिलान्यास गरिएको केपिलासगढी गाउँपालिका–बाक्सिलामा निर्माणाधीन आधारभूत अस्पतालको अवस्था पनि उस्तै छ । १२ करोड ५० लाख रूपैयाँको लागतमा २०८० वैशाख ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी विवश इन्टरनेशनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिसंग सम्झौता भएको थियो । समयमै काम नसकिएपछि २०८१ वैशाख ५ गतेसम्म म्याद थपियो । त्यसपछि पनि काम पूरा नभएपछि गाउँपालिकाले १ करोड ११ लाख रूपैयाँको बैंक ग्यारेन्टी जफत गरेको छ ।
त्यस विरुद्ध निर्माण कम्पनीले २०८२ साउन २ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । अदालतले उक्त मुद्दा खारेज ग¥यो । तर २०८२ पुस १६ गते मध्यस्थताका लागि उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा निवेदन दिएपछि अहिले मध्यस्थता गठन भई विवाद विचाराधीन अवस्थामा रहेको गाउँपालिकाका अध्यक्षले बताए । उक्त भवनको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५६ प्रतिशत मात्रै छ ।
जन्तेढुंगा गाउँपालिका–५, चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन पनि अलपत्र छ । तीन वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भवनको भौतिक प्रगति अहिलेसम्म ३३ प्रतिशत मात्रै रहेको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
२० करोड ७१ लाख रूपैयाँको लागतमा २०७९ असार २८ गतेभित्र निर्माण सक्ने गरी ड्रागन–रियर जेभीसँग २०७८ असार २५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिलेसम्म ६ करोड ४९ लाख रूपैयाँ भुक्तानी लिइसकेको छ । ‘अस्पताल भवनका दुईवटा ब्लकमध्ये एउटा ठड्याउँदा–ठड्याउँदै छाडिएको छ । अर्को ब्लकको जग मात्रै उठाइएको छ’, खड्काले भने ।
पाँचौं पटकसम्म म्याद थप्दा पनि काम नभएपछि गएको असार ६ गते बसेको कार्यपालिकाको बैठकले थप म्याद नदिने निर्णय गरेको उनले बताए ।
निर्माणाधीन भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि गाउँपालिकाले केही संरचना भत्काउन समेत लगाएको थियो । पीसीसी ढलानमा गुणस्तरहीन बालुवा प्रयोग भएको पाइएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको निर्माणमा संलग्न देवराज पाण्डेले बताए ।
पाण्डेका अनुसार भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दुई पटक संशोधन गर्नुपरेकाले निर्माण सुरु हुन एक वर्ष ढिला भयो र लागत पनि बढ्यो । भवन बनाउन स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क दिएका थिए ।
डीपीआर संशोधनमा लागेको समय, फोक्सिङटारमा पुल नहुनु र जेनजी आन्दोलन लगायतका कारण निर्माणमा ढिलाइ भएको पाण्डेको दाबी छ । “अब एक वर्षभित्र सक्ने गरी काम अघि बढ्छ”, उनले भने ।
भवन नबन्दा टहरामै उपचार :
खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन भर्खरै मात्र सकिएको छ । निर्माण कम्पनीले भवन सकेर कात्तिक १९ गते अस्पताललाई बुझाइए पनि नयाँ भवनबाट सेवा सुचारु हुन सकेको छैन । त्यसैले टहरामै उपचार गर्नु पर्ने अवस्था छ । अस्पताल भवन सकिए पनि त्यस अनुसारको उपकरण र त्यसका लागि आवश्यक जनशक्ति नहुदा अवस्था उस्तै रहेको जिल्ला अस्पतालका निमित्त प्रमुख पुस्कल राईको भनाइ छ । ‘अस्पताल भवन त बन्यो तर ५० शय्याका लागि आवश्यक उपकरण, त्यसका लागि जनशक्ति नहुदा समस्या समाधान भइसकेको छैन’ राईले भने ।
संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार लागतमा ३० महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग सम्झौता गरेको थियो ।


अस्पताल नहुँदा हेलिकोप्टरको सहारा :
जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त सुविधा नहुँदा बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । समयमा अस्पताल पु¥याउन नसकिएपछि लाखौं रुपैयाँ खर्चेर हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ ।
निमोनियाबाट थलिएका दिक्तेल भवन गैह्राका ७० वर्षीय शिवप्रसाद आचार्य र सोही ठाउँकी ८३ वर्षीया नरकुमारी श्रेष्ठलाई थप उपचारका लागि गत भदौ १४ गते जनही ३ लाख ५० हजार रूपैयाँ खर्चेर काठमाडौं लगिएको थियो ।
त्यस्तै, उच्च रक्तचापबाट बिरामी परेका केपिलासगढी गाउँपालिका–३, बास्पानी छिप्रुङका ५६ वर्षीय भूमिराज राईलाई पनि ३ लाख ५० हजार रूपैयाँ खर्चेर हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको स्थानीय देउधन राईले बताए । ‘पैसा हुनेले हेलिकोप्टर चार्टर गर्छन्, नहुनेले त्यत्तिकै मर्नुपर्ने अवस्था छ’, उनले भने ।
उपचारका लागि जिल्लाबाट वार्षिक करीब एक सय पटक हेलिकोप्टर चार्टर हुने गरेको यस क्षेत्रमा संलग्न व्यक्तिहरू बताउँछन् । मनाङ, फिस्टेल, डाइनोस्टिक र नेपाली सेनाका हेलिकोप्टर चार्टर गरेर सुविधासम्पन्न ठाउँमा उपचारका लागि जानुपर्ने बाध्यता रहेको चार्टरका लागि सहजीकरण गर्दै आएका कुमार आचार्यले बताए ।


प्रदेशका योजना पनि अधुरै :
कोशी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय खोटाङले सञ्चालन गरेका करीब एक दर्जन योजना अपूरा छन् । निर्माण कम्पनीले सम्झौता अनुसार समयमै काम शुरु नगर्नु र शुरु गरेका काम पनि सुस्त गतिमा गर्नु यसको प्रमुख कारण रहेको कार्यालयको भनाइ छ ।
कार्यालयबाट सञ्चालित प्रमुख योजनामध्ये हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐंसेलुखर्क सडक, बङ्शिला–चिसापानी–मौवाबोटे सडक, अस्पतालचोक–साकेला सडक र दिखुवा खोला पुल निर्माण अपूरा छन् ।
पूर्वाधार विकास कार्यालय खोटाङका सूचना अधिकारी रजत पोखरेलका अनुसार जिल्लाको उत्तरी क्षेत्र जोड्ने हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक कालोपत्रेको भौतिक प्रगति करीब २५ प्रतिशत र वित्तीय प्रगति २१.६९ प्रतिशत मात्रै छ ।
त्यस्तै, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐंसेलुखर्क सडकको अस्फाल्ट कालोपत्रेको काम ४० प्रतिशत र वित्तीय प्रगति ४१.५० प्रतिशत पुगेको छ । दुवै सडकको ठेक्का बीसी–पीसी–पीकेबी जेभीले लिएको हो ।
हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको निर्माण २ करोड ५३ लाख ५३ हजार रूपैयाँको लागतमा आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीले गत वैशाख ३ गते पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरेको थियो ।
त्यस्तै, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐंसेलुखर्क सडकको अस्फाल्ट कालोपत्रे पनि सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो छ । २ करोड ३८ लाख ३७ हजार रूपैयाँ लागतको उक्त योजना पनि असार १५ गते सम्पन्न गर्ने गरी वैशाख ३ गते सम्झौता भएको थियो ।
उक्त सडकखण्डमा १ हजार ८ सय ८८ मिटर कालोपत्रे, १४० मिटर ढलान, कज्वे र नाला निर्माण गर्नुपर्ने थियो । निर्माणमा संलग्न लोकेन्द्र विष्टले बिटुमिन अभाव र प्रतिकूल मौसमका कारण केही ढिलाइ भएको बताए । क्रमागत योजनामा रहेको यो दुवै सडकका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा प्रदेश सरकारले बजेट विनियोजन नगर्दा सडक निर्माण अन्यौलमा परेको छ ।


बङ्शिला–चिसापानी–मौवाबोटे सडक पनि अपूरै छ । पोलिस्टार–शान्तिभूमि जेभीले २ करोड ३६ लाख १३ हजार रूपैयाँको लागतमा २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८२ चैत २४ गते सम्झौता गरेको थियो । उक्त योजनाको वित्तीय प्रगति ४५ प्रतिशत मात्रै रहेको पोखरेलले बताए ।
दिक्तेल अस्पतालचोक–साकेला सडक पनि पूरा भएको छैन । खोक्चिलिपा–साल्मे–आरडीटीले १ करोड १६ लाख ३६ हजार लागतमा २०८३ असार ३१ गतेसम्म निर्माण सक्ने गरी २०८२ फागुन ११ गते सम्झौता गरेको थियो । उक्त योजनाको भौतिक तथा वित्तीय प्रगति ८१ प्रतिशत छ ।
तराईसँग छोटो दूरीको सडकका रूपमा रहेको दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको दिखुवा खोलामा निर्माणाधीन पुल पनि अपूरै छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्ले र वडा नम्बर १५, विजयखर्कको बीचमा पर्ने खोलामा ट्रस ब्रिज निर्माणको ठेक्का अन्शुवी–नेपाल फूलबारी–पिंगला जेभी सुनसरीले लिएको थियो ।
२ करोड ७० लाख २६ हजार रूपैयाँको लागतमा २०८३ वैशाख २४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८२ पुस २३ गते सम्झौता भएको थियो । तर पुलको भौतिक तथा वित्तीय प्रगति ३१.६१ प्रतिशत मात्रै रहेको पोखरेलले बताए ।
पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार चालु आर्थिक वर्षमा विनियोजित ८५ करोड ८५ लाख ५६ हजारमध्ये ७४ करोड ९९ लाख रूपैयाँ खर्च भएको छ । तर खर्च भएको रकमले सबै योजना समयमै पूरा भएका छैनन् ।
प्रदेश सरकारको कार्यक्षेत्र स्पष्ट नहुनु, साना योजनामा पनि प्रदेशको लगानी हुनु, योजना सञ्चालन गर्ने स्थानमा जग्गा सहज रूपमा उपलब्ध नहुनु, समयमा बजेट निकासा नहुनु, योजना सम्पन्न हुने गरी बजेट व्यवस्था नहुनु र अस्वाभाविक रूपमा कम रकम कबोल गरेर ठेक्का लिने प्रवृत्तिले आयोजना अपूरा रहने गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए । ‘प्रदेशका योजना जथाभावी वितरण गरिएका छन् । स्थानीय तहले गर्न सक्ने काममा पनि प्रदेशको योजना छ, संघले गर्नुपर्ने काममा पनि प्रदेशको योजना पर्छ । कार्यक्षेत्र स्पष्ट हुने हो भने योजना र बजेटको सही सदुपयोग हुन्छ’ दाहालले भने, ‘यहाँ त पहुँचका भरमा योजना पारिन्छ । कुन स्तरको योजना हो भन्ने वास्ता गरिंदैन । ठेकेदारले पनि धेरै कम रकममा ठेक्का कबोल गर्ने र काम नगर्ने प्रवृत्तिले योजना अलपत्र पर्छन् ।’

अलपत्र योजनाको मूल्य नागरिकले तिर्दै :
योजना अलपत्र पर्दा जिल्लावासीले सास्ती खेप्नुका साथै समग्र विकासमा बाधा पुगेको जिल्ला समन्वय समिति खोटाङका निवर्तमान प्रमुख सनबहादुर राई बताउँछन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधा नहुँदा जिल्लाबाट बसाइँसराइ बढेको उनको भनाइ छ । आर्थिक हैसियत भएका नागरिक समेत सुविधा खोज्दै जिल्ला छाड्न थालेका छन् ।
तथ्यांक कार्यालय खोटाङका सूचना अधिकारी सुवास राईका अनुसार २०७८ सालको जनगणनामा जिल्लाको कुल जनसंख्या १ लाख ७५ हजार ७ रहेको छ । त्यसमध्ये करिब १७ प्रतिशत जनसंख्या बसाइँ सरेको उनको भनाइ छ ।
आधारभूत सेवा, स्वास्थ्य सुविधा, सडक र पूर्वाधारको कमजोर अवस्थाले बसाइँसराइ बढाएको विश्लेषक हरि रोकाको भनाइ छ । यसले जिल्लाको कृषि, आर्थिक र सामाजिक अवस्था पनि कमजोर बनाउँदै लगेको उनले बताए ।
योजना बनाउने सरकार, जवाफदेही कसको ?
खोटाङका यी उदाहरणले योजना छनोट, बजेट विनियोजन र ठेक्का सम्झौता हुने तर, आयोजना समयमै सम्पन्न नहुने देखाउँछन् ।
योजना अलपत्र पर्नु निर्माण कम्पनीको ढिलाइमा मात्रै सीमित छैन । योजना छनोट, बजेट व्यवस्थापन, प्राविधिक तयारी, ठेक्का सम्झौता, अनुगमन, अन्तरसरकारी समन्वय र समयमै कारबाही गर्ने प्रणाली समस्याग्रस्त छन् भन्ने देखिन्छ ।
तीन तहका सरकार बीच योजना र बजेट वितरणमा प्रभावकारी समन्वय गर्ने नियामक निकाय नहुँदा आयोजना अपूरा रहने गरेको विश्लेषक रोकाको भनाइ छ । स्थानीय आवश्यकता अनुसार योजना छनोट र कार्यान्वयन हुन नसक्दा विकासप्रति नागरिकको अपनत्व समेत कमजोर भएको उनले बताए ।
संघ, प्रदेश र स्थानीय तहबाट योजना घोषणा हुनु मात्रै नागरिकका लागि उपलब्धि होइन । ती योजना समयमै पूरा भएर अस्पतालमा उपचार, सडकमा सहज यात्रा र पुलबाट सुरक्षित आवतजावत गर्न पाउनु नै विकासको वास्तविक परिणाम हो ।
खोटाङका अधुरा योजनाले नागरिकलाई यही परिणामको प्रतीक्षामा राखेका छन् । करोडौं रुपैयाँ खर्च गर्ने सरकारसँग नागरिकको प्रश्न भने उही छ— बजेट खर्च भयो, योजना किन बनेनन् र यसको जवाफदेही कसले लिने ?

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित