नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधि विहीन भएपछि कार्यबाहक वडाअध्यक्षको काम, नगरप्रमुख तीर्थराज भट्टराईले गर्ने भएका छन् । दल त्याग गरेको सिफारिसको आधारमा निर्वाचन आयोगले वडाअध्यक्ष सहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त गरेपछि भट्टराईले कार्यबाहक वडाअध्यक्षको काम गर्ने मङ्सिर ४ गते पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
जनता समाजवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित वडाअध्यक्ष मुगाधन राई, महिला वडा सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गीता विश्वकर्मा, वडा सदस्यहरू शहरमनि राई र रामधन राईको पद निर्वाचन आयोगको मङ्सिर २ गतेको निर्णयले रिक्त भएको थियो । वडाअध्यक्ष लगायत वडाका सबै जनप्रतिनिधिहरूको पद रिक्त रहेकाले यस्तो अवस्थामा वडाकै जनताले मतदान गरेर नगरप्रमुख बनाएकाले कार्यबाहक वडाअध्यक्षको भूमिका निर्वाह गर्ने भट्टराईले बताएका छन् ।
स्थानीय सरकार ऐन २०७४ को दफा ११६ को उपदफा (२) मा वडाअध्यक्षको पद कुनै कारणले रिक्त भएमा, वा निलम्बनमा परेमा, वडा समितिका सदस्यहरूमध्येबाट छनौट गरेको सदस्य कार्यवाहक वडाअध्यक्ष हुने व्यवस्था भए पनि सबै जनप्रतिनिधिहरूको पद रिक्त रहेको अवस्थामा कसले काम गर्ने भन्ने स्पष्ट प्रावधान नभएकाले मङ्सिर ४ गते वडामै सर्वदलीय सर्वपक्षीय बैठक गरी नगरप्रमुख वा नगरप्रमुखले तोकेको कार्यपालिका सदस्यबाट वडा अध्यक्षको जिम्मेवारी बहन गर्ने निर्णय भएकाले त्यसै अनुसार आफू कार्यबाहकको रूपमा काम गर्न तयार रहेको भट्टराईले सुनाएका छन् । जनप्रतिनिधि विहीन भएपछि संघीय मामिला मन्त्रालयमा राय माग गर्दा समेत समस्या समाधान नभएको भट्टराईले बताएका छन् ।
पदरिक्त भएकाहरूमध्ये शहरमनि, कल्पना र गीता तत्कालीन नेकपा माओवादी र रामधन नेकपा एकीकृत समाजवादीको भए पनि चुनावी तालमेलका क्रममा जनता समाजवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् । मुगाधन जनता समाजवादी पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । वडा जनप्रतिनिधि विहीन भएपछि बिहीबारदेखि कामकाज ठप्प भएको छ ।
उनीहरू सहित निर्वाचन आयोगले जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहाहदुर राई लगायत जिल्लाका ८ जना जनप्रतिनिधिहरूको पद रिक्त भएको छ । आयोगले मङ्सिर ३ गते जारी गरेको सूचना अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई लगायत केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य विरेन्द्रकुमार दर्नालको पद पनि रिक्त भएको छ । जनता समाजवादी पार्टी परित्याग गरेको सिफारिसको आधारमा उनीहरू पद मुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २-नेपाल खे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–१० औ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित