सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक 18, 2083
  • 59 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १७–सातौं सोल्मा वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीले चुमेको छ । खोटाङको सोल्मा खेल मैदानमा कात्तिक १७ गते सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।
पहिलो हाफको ३७ औं मिनेटमा इन्द्रेणीपोखरीका जर्सी नम्बर २२ का धीरन राईले, दोश्रो हाफको २२ औं मिनेटमा जर्सी नम्बर ७ का शुभराजहाङ राईले र ३७ औं मिनेटमा जर्सी नम्बर १० का निरज राईले गोल गरेका हुन् ।
जितसंगै इन्द्रेणीपोखरीले एक लाख २२ हजार २ सय २२ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता मात्तिमले ७७ हजार ७ सय ७७ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सेमीफाइनलिष्ट खार्मी र लफ्याङले ३३ हजार ३ सय ३३ रूपैयाँका दरले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
विधागत पुरस्कार अन्तरगत उदीयमान खेलाडीमा नेर्पाका एन्जल राई, उत्कृष्ट गोल रक्षकमा इन्द्रणीपोखरीका शुभराज राई, उत्कृष्ट डिफेण्डरमा इन्द्रेणीपोखरीकै सविन भुजेल, सर्वाधिक गोलकर्ता मात्तिमका साहिल राई, उत्कृष्ट मिडफिल्डरमा मात्तिमका युसन राई, उत्कृष्ट प्रशिक्षकमा इन्द्रेणीपोखरीका विकाश राई घोषित भएका छन् । उनीहरूलाई दुई हजार दुई सय २२ रूपैयाँ दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडी इन्द्रेणीपोखरीका विजय राईलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् ।
खेल कात्तिक ११ गते सुरु भएको थियो । खेलको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका हुन् भने समापनको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित