दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता सहित न्यानो सिरक वितरण

  • प्रकाशित मितिः असोज 28, 2083
  • 33 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २८-दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सप्तेश्वर–छितापोखरी र छितापोखरीमा सामाजिक सुरक्षाभत्ताको साथमा न्यानो सिरक वितरण गरिएको छ । आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता, नागरिक सम्मान सहित असोज २८ गते सिरक वितरण गरिएको हो ।
उक्त गाउँपालिकाको वडा नं ५ सप्तेश्वर–छितापोखरीमा भएको शिविरमा एक सय ३२ जना लाभग्राहीलाई १३ लाख ६४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । यसका साथमा न्यानो सिरक समेत वितरण गरिएको उक्त गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ छोरम्बुका वडाअध्यक्ष भूपेन्द्र बस्नेतले बताएका छन् । शिविरमा ७२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
उक्त गाउँपालिकाको वडा नं ६ छितापाखेरीमा भएको शिविरमा एक सय जना लाभग्राहीलाई १० लाख ३३ हजार सामाजिक सुरक्षा भत्ताको साथमा सिरक वितरण गरिएको छ । उक्त शिविरमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
असोज २७ गते वडा नं ४ बतासेमा आयोजना गरेको शिविरमा एक सय ८० जना लाभग्राहीलाई सिरक र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । उक्त वडामा १८ लाख रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । उक्त शिविरमा एक सय ८ जनाको स्वास्थ्य जाँच समेत गरिएको बस्नेतले बताएका छन् ।
असोज २६ गते उक्त गाउँपालिकाको वडा नं १ याम्खामा एक सय ६६ र वडा नं ३ छोरम्बुमा एक सय ४७ जनालाई सामाजिक सुरक्षा भत्ता सहित एक–एक थान सिरक वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगरले सिरक हस्तान्तरण गरेका हुन् । यो चोटी उक्त गाउँपालिकाका दलित बालबालिका बाहेक एक हजार ८ सय एक जना लक्षित वर्गलाई सिरक वितरण गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा सानिमा बैंककै कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । याम्खामा १७ लाख ४० हजार र छोरम्बुमा १६ लाख ५० हजार गरी ३३ लाख ९० हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको बस्नेतले बताएका छन् ।
उक्त घुम्ति शिविर असोज २९ गते टेम्मा र ३० गते डाडाँगाउँ सञ्चालन गरिने बस्नेतले जनाएका छन् । हरेक ३–३ महिनामा प्रत्येक वडामा घुम्ति शिविर सञ्चालन हुने गरेको बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित