दिक्तेलमा जथाभावी पार्किङले सर्वारी दुर्घटनाको जोखिम (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज 24, 2083
  • 55 पटक पढिएको
  • संवादताता

जिल्ला प्रहरी कार्यालय खोटाङको अगाडि सडकमा राखिएका गाडीहरू । यी गाडीहरूमध्ये ट्रक प्रहरीले नियन्त्रणमा लिएर राखेको हो ।

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २४–जिल्ला सदरमुकाम दिक्तेलमा जथाभावी सवारी साधन पार्किङले दुर्घटनाको जोखिम बढेको छ । नगरपालिकाले पार्किङको व्यवस्था नगर्दा जोखिम बढेको हो ।
दिक्तेल बजारका जताततै पार्किङ गर्ने गरिएको छ । यसले जोखिम बढेको स्थानीयको गुनासो छ । नगरपालिका गैरजिम्मेवार बनेकाले यो अवस्था आएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले सुनाए । ‘नगरपालिकाले यसको समाधान गर्नु पर्ने हो, तर गैर जिम्मेवार बनेपछि कसैको केही नलाग्दो रहेछ’–श्रेष्ठले भने ।
बजार क्षेत्रमा निजी मात्र होइन सरकारी गाडी नै अव्यवस्थित रूपमा पार्किङ गर्ने गरिएको छ । यसले थप जोखिम बढाएको छ । केही समयअघि दिक्तेलको मानवअधिकार चौकमा पार्किङ गरेर राखिएको पूर्वाधार विकास कार्यालय खोटाङको प्रदेश १–०४००१ झ ०१२१ नम्बरको गाडीलाई ह्वील लगाइएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय अगाडि नै गाडी पार्किङ गरेर राखिदै आएको छ । प्रहरी कार्यालय अगाडि नै पार्किङ गर्नु अनुपयोगी भएको स्थानीयको गुनासो छ ।

केही समयअघि दिक्तेलको मानवअधिकार चौकमा पार्किङ गरेर राखिएको अवस्थामा ह्वील लक लगाइएको पूर्वााधार विकास कार्यालय खोटाङको गाडी ।

दिक्तेलमा सञ्चालित बैंकहरूले समेत पार्किङको व्यवस्था नगर्दा थप समस्या आएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । ‘दिक्तेलमा भएका कुनै पनि बैंकले पार्किङको व्यवस्था गरेका छैनन्’ आचार्यले भने–‘सम्वन्धित बैंकले पार्किङको व्यवस्था गर्ने हो भने आधा समस्या समाधन भएर जान्छ, यस बारेमा सिडिओ कार्यालय, नगरपालिका र सम्वन्धित बैंकहरूको ध्यान केन्द्रित हुनु पर्ने हो ।’
विद्यालय समयमा बालबालिकाहरू जथाभावी हिड्ने गरेकाले यसबारेमा सम्वन्धित विद्यालय तथा अभिभावकहरूले समेत वास्ता गरेको देखिदैन । विद्याललय लाग्ने समय र छुट्ने समयमा विद्यार्थीहरूलाई बजार क्षेत्रमा जथाभावी हिड्न नदिएर लाइनमा लगाउदा जोखिम कम हुने स्थानीयको भनाइ छ । यसका साथै बालबालिकाहरू सडकमा फुटबल खेल्ने गरेका छन् । बालबालिकाहरू मात्र होइन युवाहरू समेत सडकमै ब्याटमिन्टन खेल्ने गरेकाले सवारी जोखिम बढ्दो छ । यसप्रति सम्वन्धित निकायको ध्यान गएको छैन । यसअघि दिक्तेलमा भएको सवारी दुर्घटनामा एक विद्यार्थी सहित दुई जनाको ज्यान गइसकेको छ भने थुप्रै विद्यार्थी घाइते भइसकेका छन् ।

दिक्तेलमा साँझपख सडकमा फुटबल खेल्दै बालबालिका। बालबालिकाहरू मात्र होइन युवाहरू समेत सडकमै ब्याटमिन्टन खेल्ने गरेकाले सवारी जोखिम बढ्दो छ । 

आचार्य गाउँ र सोल्मा गरी दुई ठाउँमा बसपार्क भए पनि सडक किनारमा पार्किङ गर्ने गरेकाले जोखिम बढेको छ । दुवै ठाउँको बसपार्क लागि स्थानीयले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएका थिए । बसपार्क हुदा हुदै सञ्चालनमा नआएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । ‘दुइटै बसपार्कका लागि स्थानीयले निशुल्क जग्गा दिनु भएको छ’ आचार्य गाउँका कृष्णप्रसाद आचार्यले भने–‘कि बसपार्क सञ्चालनमा ल्याउनु प¥यो, कि जग्गा फिर्ता हुनु प¥यो, होइन भने खेलाइँची गर्न पाइदैन ।
बजारमा जथाभावी पार्किङ, बसपार्क सञ्चालन लगायतका बारेमा यातायात व्यवसायी र नगरप्रमुख–उपप्रमुखसंग छलफल भइसकेकाले केही दिनमै समस्या समाधान गर्ने प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले दुई साताअघि बताए थिए । यसबारेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पनि सम्वन्धित पक्षसंग छलफल भइरहेको र केही दिनमै टुङ्गो लाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित