खोटाङमा ४ आधारभूत अस्पताल निर्माण अलपत्र (भिडिओ सहित)

  • प्रकाशित मितिः भदौ 1, 2083
  • 133 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँमा निर्माणाधीन आधारभूत अस्पतालहरू अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ गते देशभर एक साथ उद्घाटन गरेको ३ सय ९६ अस्पतालमध्ये खोटाङका ४ वटा अस्पताल अलपत्र परेका हुन् ।
केपिलासगढी गाउँपालिकाको बाक्सिलामा निर्माणाधीन आधारभूत अस्पताल अलपत्र परेको छ । १२ करोड ५० लाख ५९ हजार ८ सय ९७ रूपैयाँको लागतमा २०८० बैशाख ७ गतेभित्र सक्ने गरी २०७८ मङ्सिर ९ गते विवश इन्टरनेश्नल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले संझौता गरेको थियो । तर संझौतामा उल्लेख भएअनुसारको अवधिमा काम नसकिएपछि २०८१ बैशाख ५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसअवधिमा पनि काम नगरेपछि पत्रमार्फत ५ पटकसम्म ताकेता गर्दा समेत अटेर गरेपछि २०८१ चैत २७ राष्ट्रिय पत्रिकामा लिखित स्पष्टीकरणका लागि सूचना प्रकाशित गरिएको थियो ।
त्यसपछि पेश्की जमानतका लागि २०८२ असार ५ गते बैकलाई पत्राचार गरिएको थियो । त्यसको आधारमा एक करोड ११ लाख रूपैयाँ बैंक ग्यारेन्टी फिर्ता गराइएको गाउँपालिका अध्यक्ष समीर राईले बताएका छन् । त्यसको विरुद्ध निर्माण कम्पनीले उच्च अदालत पाटनमा २०८२ साउन २ गते मुद्दा दायर गरेको थियो । त्यसमा अदालतले २०८२ मङ्सिर १ गते खारेज गरेको थियो । त्ससपछि फेरि २०८२ पुस १६ गते मध्यस्थताका लागि उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा निवेदन दिएपछि अहिले मध्यथ गठन भइ विवाद विचाराधीन अवस्थामा छ । गाउँपालिकाले उक्त ठेक्का तोडेर अर्को ठेक्का मार्फत काम गर्ने योजना बनाएको राईले सुनाएका छन् । उक्त भवनको भौतिक प्रगति ६० र वित्तीय प्रगति ५६ प्रतिशत मात्र देखिएको राईको भनाइ छ ।
भवन अलपत्रका कारण अस्पताल सञ्चालन हुन नसक्दा महङ्गोमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र उपचारमा जान वाध्य हुनु परेकाले गाउँपालिकाको अस्पताल पूरा गरी गाउँमै उपचार गर्न पाउनु पर्ने स्थानीय देउधन राईको भनाइ छ ।
ओलीले नै उद्घाटन गरेको रावाबेसी गाउँपालिकाको खार्पास्थित आधारभूत अस्पताल पनि अलपत्र परेको छ । ७ करोड, ५७ लाख ५१ हजार रूपैयाँको लागतमा २०८० असार १७ गतेसम्म सक्ने गरी २०७८ असार १८ गते महादेव खिम्ती अन्जना रुजन जेभीले संझौता गरे पनि अहिलेसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । फाउण्डेसनको पिलर मात्र ठड्याएर त्यत्तिकै छाडिएको छ । यसबारेमा पटक–पटक ताकेता गर्दा अत्तोपत्तो नलागेको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको भनाइ छ । निर्माणमा संलग्न ध्रुव श्रेष्ठले भने डिजाइन परिवर्तन गर्नु परेकाले ढिलाई भएको तर अब निर्माण सुरु गर्ने बताएका छन् । दिक्तेलमा निर्माणाधीन जिल्ला अस्पताल, हलेसीमा निर्माणाधीन नगर अस्पताल र जन्तेढुङ्गा गाउँपालिकामा निर्माणाधीन अस्पताल पनि अलपत्र अवस्थामा छ । ऐसेलुखर्क र साकेलामा निर्माणाधीन अस्पताल भने सञ्चालनको तयारीमा रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित