ग्रामीण आमाहरूको तुलनामा शिक्षित र शहरका आमाहरूले कम स्तनपान गराउछन्

  • प्रकाशित मितिः असार 22, 2083
  • 65 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २२–नेपालमा शिक्षित र शहरका आमाहरूले भन्दा ग्रामीण भेगका अशिक्षित आमाहरूले नवजात शिशुलाई पूर्णस्तनपान गराउने गरेको पाइएको छ । ग्रामीण भेगका अशिक्षित आमाहरूको तुलानामा शिक्षित र शहरका आमाहरूले आफ्ना शिशुलाई दूधदानीबाट कृतिम दूधजन्य वस्तु सेवन गराउने गरेको समेत तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङले असार २२ गते दिक्तेलमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार ६१ प्रतिशत आधारभूत शिक्षा प्राप्त गरेका र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ । उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको छ ।
बुढाथोकीका अनुसार २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका छन् । यसमध्ये कोशी प्रदेशमा २५ प्रतिशत, मधेसमा १२, बागमतीमा ४३, गण्डकीमा २७, लुम्बिनीमा २४, कर्णालीमा ११ र सुदूर पश्चिममा १५ प्रतिशत दूधदानीबाट दूध खुवाउने गरेको पाइएको छ । दूधदानीबाट विभिन्न किसिमका कृतिम दूधजन्य वस्तुको सेवनले शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको बुढाथोकीको भनाइ छ् । त्यस्ता दूधजन्य वस्तुको सेवनले झाडापखाला, श्वासप्रश्वासको सङ्क्रमण, मोटोपना लगायत समस्या देखिन सक्ने तथा आमामा स्तन क्यान्सर, डिम्बाशय (अण्डाशय) क्यान्सर र दोस्रो प्रकारको मधुमेहको जोखिम बढ्ने बुढाथोकीले सुनाएका छन् । आमाको स्तनपान गराइएका नवजात शिशुको ७५ प्रतिशतसम्म ज्यान बचाउन सकिने समेत बुढाथोकीले जनाएका छन् ।
नवजात शिशुलाई कम्तिमा पनि छ महिनासम्म आमाको दूध नियमित खुवाउँदा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिने बुढाथोकीले जनाएका छन् । बच्चा जन्मिएलगत्तै कङ्गारु शैलीमा आमाको छातीमा टाँस्ने, आवश्यक परे नवजात शिशु ब्युँताउने विधि अपनाउने, सङ्क्रमण समयमै पहिचान गरी उपचार गर्ने तथा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्दा मातृ तथा शिशु मृत्युदर घटाउन सकिने बुढाथोकीले सुनाएका छन् ।
स्तनपानको संरक्षण, प्रवद्र्धन र समर्थनका लागि नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन, ७५३ वटै स्थानीय तह तथा सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना, स्वास्थ्यकर्मीलाई तालिम, नियमित परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली कार्यान्वयनका लागि औषधि व्यवसायी, पत्रकार तथा अस्पताल एवम् मेडिकल कलेजका विद्यार्थीहरूसँग बहस तथा पैरवीसमेत भइरहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत शिवेन्द्रप्रसाद सिंले बताएका छन् ।
उत्पादक वा वितरकबाट आर्थिक वा भौतिक उपहार स्वीकार गर्ने, उत्पादनको नमूना वितरण गर्ने वा कुनै उत्पादनको प्रवद्र्धन गर्ने स्वास्थ्यकर्मीलाई एक हजारसम्म जरिबाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यस्तै बिना प्रमाणीकरण उत्पादन वा पैठारी गर्ने तथा लेवलसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई १५ हजारसम्म जरिबाना, ४ महिनासम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
स्तनपानको अभ्यासमा सुधार ल्याउन सके वार्षिक रूपमा विश्वभर करिब आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । अपर्याप्त स्तनपानका कारण हरेक वर्ष करिब छ लाख बालबालिका र एक लाख महिलाको मृत्यु हुने गरेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको व्यापार सन् २०१४ मा करिब ४५ खर्ब रहेकोमा सन् २०१९ मा बढेर ७२ खर्ब पुगेको समेत बुढाथोकीले बताएका छन् । ्नवजात शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरी पहिलो छ महिनासम्म आमाको दूधमात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित