टेम्केमैयुङ–साकेलाबीच ऐतिहासिक संकल्प : मुन्दुम पदमार्ग स्थापना दिवस मनाइने

  • प्रकाशित मितिः असार 5, 2083
  • 66 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ५–मुन्दुम पदमार्गको संरक्षण, प्रवद्र्धन र दिगो विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकाबीच ऐतिहासिक संकल्पसहित समन्वयात्मक बैठक सम्पन्न भएको छ । साकेला गाउँपालिका–३ स्थित तावाभञ्ज्याङमा भएको संयुक्त बैठकले पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्तरपालिका सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो ।
साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सम्पन्न बैठकमा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत, दुवै गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकले दुवै स्थानीय तहको साझा हितसँग सम्बन्धित पर्यटन प्रवद्र्धन, सडक तथा पूर्वाधार विकास, प्राकृतिक स्रोत संरक्षण, स्थानीय आर्थिक विकास, वातावरण संरक्षण, सुरक्षा व्यवस्थापन तथा अन्तरपालिका समन्वयलाई संस्थागत रूपमा अघि बढाउने संकल्प प्रस्तावहरू पारित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएका छन् ।
बैठकले हरेक वर्ष मङ्सिर २२ गते ‘मुन्दुम पदमार्ग स्थापना दिवस’ मनाउने निर्णय गरेको छ । २०७७ मङ्सिर २२ गते तावाभञ्ज्याङबाट पहिलो चपरी माटो खनेर औपचारिक रूपमा मुन्दुम पदमार्ग निर्माण अभियान सुरु गरिएको स्मरणमा उक्त दिनलाई स्थापना दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।
१०७ किलोमिटर लामो मुन्दुम पदमार्ग खोटाङ र भोजपुर जिल्लामा फैलिएको पूर्वी नेपालको एक विशिष्ट पदयात्रा मार्ग हो। किराँत सभ्यताको मौखिक ग्रन्थ ‘मुन्दुम’, धार्मिक आस्था, प्राकृतिक सम्पदा र जैविक विविधतासँग जोडिएको यो पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खला तथा पहाड–तराईको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। यस पदमार्गलाई नेपालको मौलिक सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा हेरिँदै आएको छ ।
संयुक्त बैठकलाई सम्बोधन गर्दै राईले मुन्दुम पदमार्ग केवल पदयात्राको मार्ग नभई किराँत सभ्यता, इतिहास, दर्शन र सांस्कृतिक पहिचानको जीवन्त संग्रहालय भएको बताए । पर्यटन विकासलाई स्थानीय आर्थिक समृद्धिसँग जोड्दै होमस्टे, स्थानीय उत्पादन, मौलिक खानपान, सांस्कृतिक प्रस्तुति र धार्मिक सम्पदालाई एकीकृत रूपमा विकास गर्न सके मुन्दुम पदमार्ग अन्तर्राष्ट्रियस्तरको आकर्षण बन्न सक्ने राईले बताएका छन् ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई पूर्वी नेपालको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रमुख आधारका रूपमा विकास गर्न दुवै स्थानीय तहबीच निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।
बैठकले मुन्दुम पदमार्गको प्रचार–प्रसार, पूर्वाधार विकास, पदमार्ग संरक्षण, पर्यटकमैत्री सेवा विस्तार, वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम तथा सांस्कृतिक सम्पदाको संरक्षणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित