दिखुवा खोलामा पुल निर्माणको ठेक्का लिने निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गर्न पत्राचार

  • प्रकाशित मितिः जेठ २१, २०८३
  • 36 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २१–दिखुवा खोलामा पुल निर्माणको ठेक्का लिने निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गर्न पत्राचार गरिएको छ । कामै नसकी म्याद गुजार्ने अन्शुवी–नेपाल फूलबारी–पिंगला ज्वइन्ट भेन्चर सुनसरीको बैंक ग्यारेन्टी तान्नका लागि कृषि विकास बैंक काठमाडौंलाई जेठ २० गते पत्राचार गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको बीचमा पर्ने दिखुवा खोलाको पुल निर्माणका लागि उक्त निर्माण कम्पनीले संझौता गरेको थियो । दुई करोड ७० लाख २६ हजारको लागतमा २०८३ बैशाख २४ गतेभित्र सक्ने गरी २०८२ पुस २३ गते संझौता गरेको थियो । संझौता लगत्तै कुल बजेटको २० प्रतिशत पेश्की समेत लिएको थियो । तर पेश्की लिएर कामै नगरी सम्पर्क विहीन भएपछि निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गर्दा समेत अटेर गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताएका छन् ।
दाहालका अनुसार उक्त निर्माण कम्पनीलाई पटक–पटक ३ पटक पत्राचार गर्दा समेत कुनै जवाफ नदिएपछि २०८३ बैशाख ७ गते बैंक ग्यारेन्टी जफत गर्नका लागि सम्वन्धित कम्पनीको बैंक ग्यारेन्टी भएको कृषि विकास बैंक काठमाडौंलाई पत्राचार गरिएको थियो । बैंकलाई पत्राचार गरेपछि भने बैंकले ताकेता गरेपछि सम्बन्धित निर्माण कम्पनी सम्पर्कमा आएको थियो । निर्माणमा संलग्न वसन्त बुढाथोकी गत जेठ ४ गते कार्यालयमा उपस्थित भएर असार २० गतेभित्र काम सक्ने भनी प्रतिबद्धता र निर्माण कार्यतालिका पेश गरेपछि त्यतिन्जेलका लागि म्याद थप गरिएको दाहालले सुनाए । त्यसपछि फेरि कामै नगरी निर्माण कम्पनी सम्बद्ध सम्पर्क विहीन भएपछि जेठ २० गते ३ दिनभित्र बैंक ग्यारेन्टी तान्न कृषि विकास बैंक काठमाडौंलाई पत्राचार गरिएको दाहालले बताएका छन् । बैंक ग्यारेन्टी तानेपछि ठेक्का तोडेर कालो सूचीका लागि प्रक्रिया बढाइने समेत दाहालले सुनाएका छन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाट र प्रदेश सडक पुल सहयोग इकाइ इटहरीको साझेदारीमा दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको थियो । अहिलेसम्म उक्त पुलको भौतिक प्रगति १ प्रतिशत पनि नभएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । उक्त पुलको पिलरको जग मात्र खनेर रड मात्र बिच्छ्याएको दाहालले बताएका छन् । निर्माण सामग्री भने निर्माण स्थलमा ल्याइएको छ । उक्त समाग्री प्रयोग नगरिएकाले खिया लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित