प्रधानमन्त्री साहको सीमासम्वन्धी अभिव्यक्तिको विरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • प्रकाशित मितिः जेठ १८, २०८३
  • 351 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–प्रधानमन्त्री बालेन्द्र साहले जेठ १७ गते संसदमा दिएको सीमासम्वन्धी अभिव्यक्तिको विरुद्ध खोटाङस्थित विभिन्न विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन र नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने माग राख्दै ने.वि.संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई जेठ १८ गते ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिमा भारतीय अतिक्रमण जारी रहेको जनाउदै प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चोट पुगेको समेत उल्लेख गरिएको छ । प्रधानमन्त्री साहले नेपालको सीमासम्वन्धी संसदमा बोलेको अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न र आफ्नो धारणा सच्याउन माग गरेका छन् । अन्यथा राष्ट्रहित र राष्ट्रिय स्वाधीनताको पक्षमा विद्यार्थी, युवा तथा आम जनताले सशक्त प्रतिरोध गर्ने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा ने.वि.संघ खोटाडका अध्यक्ष मोतीचन्द्र राई, अनेरास्ववियु खोटाङकी अध्यक्ष सुशिला तिमिल्सेना, अखिल (क्रान्तिकारी) खोटाडका अध्यक्ष डर्विन चाम्लिङ राई र अनेरास्ववियू खोटाडका सचिव रेश्जन राईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित