काम नगर्ने निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गर्न पत्राचार

  • प्रकाशित मितिः जेठ १४, २०८३
  • 140 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १४–पूर्वाधार विकास कार्यालय खोटाङले काम नगर्ने निर्माण कम्पनीहरूको बैंक ग्यारेन्टी जफतका लागि पत्राचार गरेको छ । विभिन्न ९ योजनाहरूको संझौता गरी काम नगर्ने निर्माण कम्पनीहरूको बैंक धरौटी जफतका लागि पत्राचार गरेको हो ।
पूर्वाधार विकास कार्यालय खोटाङका सूचना अधिकारी राजत पोखरेल अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँस्थित दुईचुप्ला हुदै बुतेपाछाको साकेलाथान हुदै मुढेटोल सडक निर्माण, साकेला गाउँपालिका–५ बरडाडाँ पलंका तावादोभान टुकुरे दोभान हुदै दिखुवा दोभान सडक निर्माण र भगरपुरदेखि कुरिमा सडक योजना साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँको ठेक्का लिने सेल्मे कन्स्ट्रक्सन खोटाङको बैंक ग्यारेन्टी तान्न जेठ ५ गते पत्राचार गरेको हो ।
उक्त निर्माण कम्पनीहरूको नेपाल बैंक लिमिडेलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका लेखाअधिकृत सीताराम राउतले बताएका छन् । यसमध्ये १५ लाख ८७ हजार रूपैयाँको लागतमा २०८३ जेठ ३१ गतेभित्र सक्ने गरी दुईचुप्ला हुदै बुतेपाछाको साकेलाथान हुदै मुढेटोल सडक निर्माणको २०८२ माघ ११ गते संझौता भएको थियो । १५ लाख ७६ हजारको लागतमा २०८३ जेठ ३१ गते सक्ने गरी बरडाडाँ पलंका तावादोभान टुकुरे दोभान हुदै दिखुवा दोभान सडक निर्माणको २०८२ फागुन ५ गते संझौता भएको थियो । त्यस्तै २८ लाख ७३ हजार रूपैयाँको लागतमा २०८३ जेठ ३१ मै सक्ने गरी भगरपुरदेखि कुरिमा सडक योजनाको पनि संझौता भएको थियो ।
त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथालामा पर्ने मुलडाडाँ–गैरी चामखर्क सडक स्तरोन्नति र हलेसी तुवाचुङको राजापानी धितुङ हलेसी सडक अन्तरगत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नति योजनाको ठेक्का लिने राना साम्पाङ कन्स्ट्रक्सन प्रालिको बैंक ग्यारेन्टी तान्नका लागि नेपाल बैंक लिमिटेडलाई जेठ ५ गते नै पत्राचार गरिएको राउतले सुनाएका छन् । यसमध्ये मुलडाडाँ–गैरी चामखर्क सडक स्तरोन्नति १५ लाख १७ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी र हलेसी तुवाचुङको राजापानी धितुङ–हलेसी–सडक अन्तरगत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नति योजना १८ लाख ४९ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी २०८२ माघ १९ गते संझौता भएको थियो ।
त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाडाँस्थित मेवाखोला दुम्ली दोबेला सडक स्तरोन्नतिको ठेक्का लिने एसआर दोर्पा जेभी खोटाङको धरौटी तान्नका लागि जेठ ५ गते नै कृषि विकास बैंक दिक्तेललाई पत्राचार गरेको छ । उक्त निर्माण कम्पनीले ३९ लाख २९ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी गत फागुन २८ गते संझौता गरेको थियो ।
त्यसैगरी केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी–धोद्रे सडक स्तरोन्नतिको ठेक्का लिने विश्वहाङ कन्स्ट्रक्सनको धरौटी जफत गर्न माघापुछ«े बैंक टेम्के मैयु शाखा भोजपुरलाई जेठ ५ गते नै पत्राचार गरिएको छ । १८ लाख ३३ हजार रूपैयाँको लागतमा आगामी जेठ ३१ गते सक्ने गरी गत माघ ६ गते संझौता भएको थियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित पोखरे जामुने साँगुटार सडक स्तरोन्नतिको जिम्मा लिने इमो बिल्डर्स् प्राइभेट लिमिटेड खोटाङ, उक्त गाउँपालिका–४ बतासेस्थित जगन्नटार वारेम्तुङ हुदै मुसुरीडाडाँसम्म सडक स्तरोन्नतिको ठेक्का लिने पिनाकल इन्जिनियरिङ प्राइभेट लिमिटेड भक्तपुर र हलेसी तुवाचुङ नगरपालिकास्थित चुलिमापे सडक निर्माणको ठेक्का लिने पिके निर्माण सेवा कटारी उदयपुरलाई समेत जेठ १२ गते पत्राचार गरिएको छ । यसमध्ये इमो बिल्डर्स् प्राइभेट लिमिटेड खोटाङको नेपाल बैंक लिमिटेड दिक्तेल शाखा, पिनाकल इन्जिनियरिङ प्राइभेट लिमिटेडको राष्ट्रिय वाणिज्य बैंक ठिमी शाखा, पिके निर्माण सेवा कटारी उदयपुरको ग्लोबल आइएमइ बैंक दिक्तेल शाखालाई पत्राचार गरिएको हो ।
पोखरे जामुने साँगुटार सडक स्तरोन्नति २३ लाख ७१ रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी गत माघ १९ गते, जगन्नटार वारेम्तुङ हुदै मुसुरीडाडाँसम्म सडक स्तरोन्नति १२ लाख ४७ हजार रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी गत माघ ६ गते र चुलिमापे सडक निर्माण १७ लाख ४३ हजार रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी माघ २३ गते संझौता भएको थियो । निर्माण अवधि सकिनै लाग्दा पनि काम नथालेपछि बैंक ग्यारेन्टी तान्नका लागि सम्वन्धित बैंकहरूलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । यीमध्ये केही काम सुरु भएको पोखरेलले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित