तेअरामा हनि हन्टिङ महोत्सव (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ ९, २०८३
  • 66 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ९–केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेअरामा हनि हन्टिङ महोत्सव आयोजना गरिएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हनि हन्टिङ महोत्सव आयोजना गरिएको हो ।
चिलिम लाहुरे पोखरी सामुदायिक वनको तेअरा भिरमा यो वर्ष भिर माहुरीले ११ गोला मह लगाएको छ । त्यही मह सिकारका साथ हनि हन्टिङ महोत्सव आयोजना गरिएको हो । फेदीको विभिन्न भिरहरूमा उधौलीको बेला असोज–कात्तिकमा र उभौलीको बेला बैशाख–जेठमा मह सिकार गर्ने पराम्परा रहेको मह सिकारीमध्येका मुख्य माखाम्लाका हस्तराम राईले बताएका छन् । महोत्सव सुरु भएको दिन जेठ ८ गते प्रतिकूल मौसमका कारण मह सिकार गर्न नसकिएपछि जेठ ९ गते विहानैदेखि मह सिकार गरिएको हो । यसवर्ष तेहरा भिरमा लगाएको ११ मध्ये ९ वटा गोलाको मह सिकार गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष कम गोला लगाएको मह सिकारी धनकुमार राईले बताएका छन् । गोडमेल अभावमा यो वर्ष कम गोला लगाएको राईले सुनाएका छन् । उनका अनुसार गत वर्ष १७ वटा गोला लगाएको थियो ।
मह सिकारका लागि चोयाको प¥याङको माध्यमबाट भिरमा चढेर दाबिलोले मह काटेर डोरीको माध्यमबाट डालोमा राख्ने गरिन्छ । मह डालोमा राखेपछि डोरीकै माध्यमबाट भुइँमा खसालिन्छ । त्यसपछि बाँसको छपनीमा मह छानेर बोतलमा भर्ने गरिन्छ । भिर माहुरीले विभिन्न जडिबुटीबाट मह बनाउने भएकाले औषधीय गुणयुक्त हुने हुदाँ महङ्गोमा विक्री हुने गरेको राईले बताएका छन् । उनका अनुसार प्रतिसेर २ हजार रूपैयाँमा विक्री हुने गरेको छ ।
यो क्षेत्र मुन्दु ट्रेलमा पर्ने भएकाले थप पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताएका छन् । यो क्षेत्र मनोरम तथा भर्जिन भएकाले यसको संरक्षणका साथै हनि हन्टिङ पर्यटन पबद्र्धनका लागि थप प्रचार–प्रसारमा जोड दिनु पर्ने मैयु टेम्के साल्पा सिलिचुङ पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताएका छन् । यसका साथै हनि हन्टिङ गर्दा हन्टरहरूको सुरक्षाका लागि थप उपकरणको व्यवस्था गर्नु पर्ने, हनि हन्टिङ गर्ने ठाउँसम्म पुग्ने बाटो अप्ठेरो भएकाले त्यसको मर्मतको व्यवस्था समेत गर्नु पर्ने राईले सुनाएका छन् ।
हनि हन्टिङ महोत्सवमा खोटाङ सहित भोजपुर, ओखलढुङ्गा, झापा, मोरङ, सुनसरी लगायतका विभिन्न जिल्लाबाट समेत आएको केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताएका छन् । उक्त महोत्सवमा रैथाने परिकारहरू समेत राखिएको थियो । चौरीको घिउ, छुर्पि, विभिन्न खालका अचारहरू, सेल रोटी, मकै भटमास, आलुबाट बनाइएका परिकारहरू, भेडा, रैथाने सुगुर, कुखुरा लगायतका मासुजन्य परिकारहरू समेत महोत्सवमा उपलब्ध थियो । कोशी प्रदेशको पदमार्गमा आधारित परियोजना शीर्षकमा सशर्त कार्यक्रम अन्तरगत ३ लाख ३६ हजार रूपैयाँ बजेटबाट हनि हन्टिङ महोत्सव आयोजना गरिएको राईले सुनाएका छन् । यसमध्ये प¥याङ बुन्न १ लाख, १० जना मह सिकारीलाई दुर्घटना विमा, स्वास्थ्य डेस्कका लागि आवश्यक सामग्री खरिद, कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार लगायतमा खर्च गरिएको राईको भनाइ छ । उक्त महोत्सव जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित