उभौली पर्वको शुभकामना

  • प्रकाशित मितिः वैशाख १७, २०८३
  • 142 पटक पढिएको
  • संवादताता

-तीर्थराज भट्टराई-

मेरा बाल्यकालका स्मृतिहरूमा किरॅात समुदायले मनाउने उभौली पर्व केवल एउटा सांस्कृतिक उत्सव थिएन। उभौली पर्व हाम्रो जीवनको लय, प्रकृतिसँगको सम्बन्ध र सामुदायिक एकताको प्रतीक थियो। मैले करिब ४०-४५ वर्षअघि देखेको त्यो उभौली र आजको उभौलीबीचको भिन्नता सम्झँदा समयले संस्कृतिलाई नयॅाशैलीबाट परिवर्तन र विस्तार गरेको छ भन्ने प्रष्ट अनुभूति हुन्छ। अभाव, असहजता र सीमित साधनका बीच मनाइने त्यो समयको पर्व आज शिक्षित, सचेत र विविध समुदायको सहभागिताले अझ समृद्ध बनेको छ। मुसादेउले काकाले मलाई खुवै माया गर्नुहुन्थ्यो। त्यहि टोलमा बस्ने एउटै कक्षामा पढ्ने मेरा दौतेरी साथीहरू बावुराम राई र सुरविक्रम राईसॅग मेरो गहिरो मित्रता थियो।त्यहि समयदेखि मेरो मनमा उठेको अनुभूति र भौगोलिक सहयात्राको एउटा व्यक्तिगत प्रतिबिम्बको रूपमा आएको आलेख हो यो ।  

प्रकृति र सभ्यताको जीवन्त संगम उभौली पर्व किरात राई समुदायको जीवनदर्शनसँग गहिरो रूपमा जोडिएको पर्व हो। खेतीपातीको सुरुवातसँगै मनाइने यो पर्व केवल कृषिजन्य चक्रको संकेत मात्र होइन मानव र प्रकृतिबीचको सहअस्तित्वको उद्घोष पनि हो। बाल्यकालमा हामीलाई उभौली भनेको देवताप्रति कृतज्ञता व्यक्त गर्ने, पृथ्वीलाई सम्मान गर्ने र सामूहिक रूपमा जीवनको उत्सव मनाउने अवसर थियो।   त्यो समयको परम्परागत सभ्यता आधुनिकताको परिभाषामा आधारित थिएन बरु परम्परागत ज्ञान, मौखिक इतिहास र सांस्कृतिक अभ्यासहरूमा प्रतिविम्वित थियो । धामी, झॅाक्री र बिजुवाहरूले साकेला नाचको माध्यमबाट देवता र प्रकृतिसँग संवाद गर्न सक्छन् भन्ने परम्परागत विश्वास रहेकोछ। जसले साझा सॅस्कृति र सामुहिक पहिचानसँग जोडिराख्न सहयोग पुऱ्याएको छ।  

यो पर्वको आगमनसँगै प्रकृतिको हरियाली पनि झन् जीवन्त देखिन्थ्यो। बोटबिरुवाहरूमा पलाएका नयाँ पालुवाहरू, चरा-चुरुङ्गीको चिरबिर ध्वनि र माटोको सुगन्धले वातावरणलाई पवित्र बनाउँथ्यो। उभौली पर्व केवल किरॅात सॅस्कृतिको मात्रै उत्सव थिएन यो पृथ्वी, आकाश, पानी र हावाको पनि सहयात्रा जस्तो लाग्थ्यो। प्रकृतिले आफूलाई पुनर्जन्म दिँदै गरेको अनुभूति यस पर्वमा स्पष्ट झल्किन्थ्यो।   चिउरीडाँडाको आत्मीय बाल्यकाल करिव ४५ वर्षअघि म सानो हॅुदा मेरो जन्मथलो चिउरीडाँडामा उभौली मनाउने शैली अत्यन्तै सरल तर भावनात्मक थियो। त्यो समयमा हामी स-साना बालबालिकाहरू बिहानैदेखि साकेला नाच्न उत्साहित हुन्थ्यौं। ढॅुगे, सुगुरूवा, खरवारी, चम्पा आदि ठाउॅबाट धामी, विजुवाहरू हाम्रै घर अगाडिको ठाडोबाटो साकेलाथान निक्लिनुहुन्थ्यो । दोर्पाको ओखरबोटेमा नयॅाघरे काकाको घरमा बनाइएको जाँड र कोदाको रक्सीको सुगन्धले गाउँभरि चहलपहल बढाउँथ्यो।  

त्यो समय नयाँ कपडा त प्रायः लगाउने कुरै हुँदैनथ्यो। हामी रिट्ठाको झोल र खरानीमा पकाएर दौरा, भोटो र कट्टु सफासॅग धुन्थ्यौं। अनि त्यहि कपडा लगाएर साकेला पर्वमा नाच्दै गाउॅदै सहभागी हुन्थ्यौं। हामीले धामी र बिजुवासँगै ढ्याङ्ग्रो, ढोल र झ्याम्टा बजाउँदै गाउँभरि घुम्दै नाचेको त्यो क्षण आजसम्म पनि मनमा ताजै छ। ढ्यॅाग्रो र ढोलको लयात्मक संगीतमा कुनै औपचारिकता थिएन तर अपार आत्मीयता र ऊर्जा थप्थ्यो ।  

उहिलेको समयमा आर्थिक, सामाजिक र व्यवस्थापकीय अभावले हामीलाई निराश बनाउँदैनथ्यो। किनकी विहान बेलुका घरको भात र दिउॅसोको खाजा प्रायः कन्दमुल खान्थ्यौं। अहिलेको जस्तो बजारीया जंकफुड खॅादैनथ्यौं। पैसाको खासै आवश्यकता नपर्ने हॅुदा हाम्रो ध्यान चाड पर्वको रौनकता थप्न तिरै केन्द्रित गर्थ्यौं । यस्ता समावेशी पर्वहरूले समयसमयमा एकआपसमा घुम्ने, रमाउने र एकजुट हुने अवसर दिन्थ्यो। साकेला नाचमा सबै समूहका जातजाति र भाषाभाषीहरूको समान सहभागिता हुन्थ्यो। न कोहि ठूलो, न कोहि सानो सबै एउटै वृत्तमा नाच्थ्यौं। गोलोघेरामा नारिएर साकेला सिलीको चालमा नाच्दा मन नै भुरूंग हुन्थ्यो। त्यो गोलो घेरा केवल नाचको संरचना मात्रै थिएन मुन्दुमी दर्शनमा  आधारित समानताको प्रतीकको विम्बागमत नृत्य थियो। न त्यहाँ कुनै विभाजन हुन्थ्यो न कुनै अहंकार। त्यहॅा केवल मानवीय सम्बन्धको शुद्धता सहितको हुन्थ्यो निश्वार्थ जमघट र नृत्य। त्यो समयमा साथीहरूसॅग वालापनको उमेरमा गरिएको हाँसो, रमाइलो र आत्मीयता आज पनि सम्झँदा मेरो मानसपटलमा पुनर्ताजगी बनेर आउॅछ।   साकेला पर्व अभावदेखि अवसरसम्म हाल समयक्रमसँगै चिउरीडाँडामा धेरै परिवर्तन आयो । शिक्षा, सडक, , खानेपानी, सञ्चार र प्रविधिको विकासले हाम्रो जीवनशैली मात्र होइन पर्व मनाउने तरिका पनि बदलियो। यो समयमा उभौली पर्व अझ व्यवस्थित, आकर्षक र व्यापक रूपमा मनाइन्छ।

युवाहरूले सांस्कृतिक पोशाकमा सजिएर तालिमप्राप्त शैलीमा साकेला नाच प्रस्तुत गर्छन्। अहिले संगीतमा पनि परम्परागत वाद्यवादनसँगै आधुनिक धुनहरू समावेश हुन थालेको छ । तर यस परिवर्तनसँगै केही चुनौतीहरू पनि देखिन्छन्। पहिलेको आत्मीयता र सहजता विश्वासिलो र दर्विलो थियो। तर अहिले केवल औपचारिकतामा मात्रै रूपान्तरण भएको अनुभूति हुन्छ। उहिलेको “मनले रमाउने” भावनाआज “प्रदर्शन गर्ने” शैलीमा बदलिँदै गएको जस्तो लाग्छ। हाम्रा सॅस्कृति र पर्वहरू आधुनिकताको नाममा स्खलित हॅुदै जाने खतरा बढेकोछ।पहिले अभावै अभावका वीचमा मनाईने पर्व अहिले अवसरको रूपमा लिन थालिएको छ। यो गतिविघी सॅास्कृतिक उत्थानका लागि गर्वको विषय हो।  

अहिलेको सकारात्मक पक्ष के हो भने शिक्षित युवाहरूले पनि आफ्नो संस्कृतिप्रति गर्व गर्न थालेका छन्। उनीहरूले उभौलीलाई केवल परम्परा होइन, पहिचान र गौरवको रूपमा लिएका छन्। आजको पुस्ताले प्रकृति संरक्षणसँग उभौलीलाई जोड्ने प्रयास पनि थालेका छन्।यसको मौलिकतालाई उजागर गर्दै वृक्षारोपण, जलस्रोत संरक्षण र वातावरणीय चेतनासँग यो पर्वलाई जोड्दै लैजानु यसको दीर्घकालीन महत्त्वलाई अझ बलियो बनाउने संकेत हो।   समावेशिता र साझा पहिचानको उत्सव पहिले उभौली पर्व मुख्यतः राई समुदायभित्र सीमित थियो। तर आज यसको दायरा निकै फराकिलो भएको छ। अन्य समुदायका मानिसहरूले पनि साकेला पर्वमा अझै ज्यादा अपनत्व महसुस गर्न थालेका छन्। यो परिवर्तन अत्यन्तै महत्वपूर्ण छ। यसले हाम्रो संस्कृतिलाई समावेशी बनाएको छ। साकेला नाचमा विभिन्न जाति, भाषा र पृष्ठभूमिका मानिसहरू एकैसाथ सहभागी हुनु आजको समाजको सकारात्मक संकेत हो। मलाई अझै सम्झना छ। हामी जव ढ्याङ्ग्रो र ढोलको तालमा रमाउँथ्यौं। वालापनमा नाच्दा , हॅास्दा र रमाउॅदा साझा उत्सवको रूपमा सहभागि हुन्थ्यो। तर अहिलेको जस्तो समावेसी थिएन।  

समयको परिवर्तनसॅगै त्यो उत्सव आज साझा पहिचानको प्रतीक बनेको छ। मेरो माथ्लाघरको छिमेकी नयॅाघरे काकाको घरमा बनाइएको जाँड र कोदाको रक्सी पिउँदै रमाउने त्यो पुरानो जोश आज पनि हराएको छैन। अहिलेको अवस्थामा भने थपिएको छ नयाँ पुस्ताको चेतना र जिम्मेवारी।म त रक्सी खान्न। तर फोसीमा बनाएको तात्तातै पकाएको रक्सीको मगमग बास्ना आउॅदा राई गाउॅ नै सलवलाउॅथ्यो। निष्कर्ष उभौली पर्वको यात्रा मेरो आफ्नै जीवनको भावना , संघर्ष, परिवर्तन र व्यवहारिक ज्ञानले भरिएको जस्तो लाग्छ। ४०-४५ वर्षअघिको अभाव र आत्मीयतामा आधारित उभौली आज समृद्ध, शिक्षित र समावेशी स्वरूपमा विकसित भएको छ। यद्यपि केही पुराना मूल्य, मान्यता र सॅस्कृति हराउँदै गएको अनुभूति हुन्छ। तर समयसँगै बदलिँदै गएको यो स्वरूपभित्र पनि यसको मूल आत्मा अझै जीवित छ। नयाँ पुस्ताले यस पर्वलाई केवल परम्परा होइन, भविष्यको सांस्कृतिक धरोहरका रूपमा अंगाल्दै लगेको मानव सॅस्कृति र सभ्यता हो। उभौली पर्व अब केवल सम्झनाको विषय होइन। यो पुस्तान्तरण हुँदै जाने जीवित संस्कार हो।  

उभौली हाम्रो देशको पहिचान, सॅस्कृति, सभ्यता र सामूहिक आत्माको अभिव्यक्ति हो। समय बदलिँदै जाँदा यसको स्वरूप बद्लिन सक्छ तर यसको मर्म- प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र जीवनप्रतिको उत्सव सधैं जीवित रहिरहनेछ।   अन्त्यमा, उभौलीको पावन अवसरले हामी सबैमा नयाँ ऊर्जा, आशा र एकताको भावना जागृत गरिरहोस्। प्रकृतिप्रति हाम्रो सम्मान अझ गहिरो बनोस्। आपसी सम्बन्ध अझ सुदृढ बनून्। हाम्रो सांस्कृतिक पहिचान अझ उज्ज्वल बनोस्। यो पर्वले हरेक घरमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। सबैमा उभौली पर्वको हार्दिक शुभकामना। यो उल्लासमय पर्वले हामीलाई हाम्रो मूल मान्यता र पहिचानसँग जोडिराखोस्। भावी पुस्तालाई सकारात्मक सोच र सही मार्ग देखाउने प्रेरणा बनिरहोस्। यस पावन अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण किरॅात धर्मावलम्वी तथा नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

(स्तम्भकार - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन् )

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित