यलम्बरको सालिक अनावरण विवाद प्रकरण : समाधान नजिक (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख १४, २०८३
  • 22 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरण विवाद, समाधान नजिक पुगेको छ । नगरपालिका र वडा कार्यालयले छुट्टा–छुट्टै मितिमा सालिक अनावरण कार्यक्रम आयोजना गरेपछि चुलिएको विवाद बैशाख १४ गतेको छलफलपछि सहमती नजिक पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको समन्वयमा छलफल भएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार सालिक अनावरण कार्यक्रमको आयोजक नगरपालिका र मुन्दुमविद्, जेष्ठ नागरिक, सालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथ्यतामा बैशाख १८ गते अनावरण गरिने छ । यसबारेमा बैशाख १५ गतेको नगर कार्यपालिकाको बैठकले टुङ्गो लगाउने राईको भनाइ छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ, प्रतिनिधिसभा सदस्य आरेन राई, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो, संविधानसभा सदस्यहरू, पूर्व सांसदहरू लगायतको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिने राईले सुनाएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाअध्यक्ष दिनेश राईले भने प्रमुख अतिथि हर्क साम्पाङ नै हुने दाबी गरेका छन् । राईले बैशाख ९ गते पत्रकार सम्मेलन आयोजना गरी वडाकै आयोजनामा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङबाट बैशाख १८ गते सालिक अनावरण गर्ने जानकारी गराएका थिए । त्यसको ३ दिनपछि बैशाख १२ गते नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरकै आयोजनामा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट बैशाख १७ गते अनावरण गर्ने जानकारी गराएको थियो ।
वडा अध्यक्ष दिनेश राईले आफ्नो वडामा सालिक निर्माण गरिएकाले त्यसको संरक्षण गर्ने दायित्व वडाकै हुने भएकाले अनावरण पनि वडाकै आयोजना हुने दाबी गर्दै आएका थिए । नगरक्षेत्रभित्र भएका विकास निर्माणका योजनाहरूको अपन्वत्व नगरले लिनु भर्ने जनाउदै उक्त सालिक निर्माणको अपन्वत्व पनि लिदै नगरकै आयोजनामा कार्यक्रम हुनु पर्ने नगरपालिकाको अडान थियो ।
उक्त सालिक कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिदा पटक–पटक म्याद थपिदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अबरोध गरेका थिए । कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरेको थियो । त्यसपछि उद्घाटन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित