नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक अनावरण स्थगित गरिएको छ । शान्ति सुरक्षा दिन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्थगित गराएको हो ।
नगरपालिका र बुइपा वडा कार्यालयले छुट्टा–छुट्टै मितिमा, फरक–फरक व्यक्तिबाट अनावरण गराउने कार्यक्रम तय गरेपछि विवाद उत्पन्न हुदा शान्ति सुरक्षा दिन नसकिने भएकाले कार्यक्रम स्थगित गर्नु परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताएकी छन् । वडा कार्यालयको आयोजनामा आगामी बैशाख १८ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट सालिक अनावरण गर्ने भन्दै बुइपाका वडाअध्यक्ष दिनेश राईले बैशाख ९ गते पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । त्यसको ३ दिनपछि बैशाख १२ गते नगरपालिकाले पनि पत्रकार सम्मेलन मार्फतै कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट बैशाख १७ गते संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी गराएको थियो । त्यसपछि विवाद सुरु भएको हो ।
विवाद सुरु भएपछि गत बैशाख १३ गते प्रमुख जिल्ला अधिकारी कँडेलको समन्वयमा छलफल भएको थियो । त्यतिखेर सालिक अनावरण कार्यक्रमको आयोजक नगरपालिका र मुन्दुमविद्, जेष्ठ नागरिक, सालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने सहमती भए पनि कार्यान्वयन नभएपछि नगरपालिकाले १७ गते र वडाले १८ गते नै अनावरण गर्ने अडान लिदै आएको थियो । बैशाख १६ गते विहान जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा भएको प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू सहितको सर्वदलीय सर्वपक्षीय बैठकले नगरपालिका र वडाले आयोजना गरेको दुवै दिनको अनावरण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि उक्त सर्वपक्षीय सर्वदलीय बैठकको निर्णयलाई नगरकार्यपालिकाको बैठकले अनुमोदन गरी जिल्ला प्रशासन कार्यालय खोटाङलाई अनुरोध गरेको थियो । त्यसैको आधारमा शान्ति सुरक्षा समितिको बैठकले अनावरण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताएकी छन् ।
उक्त सालिक कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिदा पटक–पटक म्याद थपिदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको नगरपालिकाले जनाएको छ । निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अबरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित