हर्क साम्पाङलाई प्रमुख अतिथि बनाउने कि नबनाउने भन्ने बारेको विवाद उत्कर्षमा (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख १५, २०८३
  • 14 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित ११० फिट अग्लो यलम्बरको सालिकको अनावरण गर्ने विषयमा प्रमुख अतिथिको बारेमा सहमती नजुटेपछि नगरपालिका र वडा कार्यालय बुइपा बीचको विवाद उत्कर्षमा पुगेको छ । वडाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रमुख अतिथि बनाउने गरी तय गरेको कार्यक्रमप्रति असन्तुष्टि जनाउदै नगरपालिकाले अनावरण कार्यक्रम अर्को मितिमा आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
एउटै सालिक अनावरण गर्न फरक–फरक मिति, फरक–फरक आयोजक र फरक–फरक प्रमुख अतिथि भएपछि एउटै कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको सहजीकरणमा बैशाख १४ गते भएको सहमती बुइपाका वडाअध्यक्ष दिनेश राईले कार्यान्वयन नभएपछि विवाद थप उत्कर्षमा पुगेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उक्त छलफलमा कार्यक्रमको आयोजक नगरपालिका र मुन्दुमविद्, जेष्ठ नागरिक, सालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने सहमती भएको थियो । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ, प्रतिनिधिसभा सदस्य आरेन राई, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो, संविधानसभा सदस्यहरू, पूर्व सांसदहरू लगायतको विशेष आतिथ्यतामा बैशाख १८ गते सालिक अनावरण गर्ने सहमती भए पनि वडाअध्यक्ष राईले वडा कार्यालय नै आयोजक र साम्पाङलाई नै प्रमुख अतिथि बनाउने गरी कार्यक्रम तय गरेपछि सहमती तोडिएको भट्टराईले बताए ।
वडाअध्यक्ष राईले बैशाख ९ गते पत्रकार सम्मेलन गरी वडाको आयोजनामा आगामी बैशाख १८ गते सालिक अनावरण गर्ने जानकारी गराएका थिए । त्यसको ३ दिनपछि बैशाख १२ गते नगरपालिकाले पनि पत्रकार सम्मेलन मार्फतै कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट बैशाख १७ गते संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी गराएको थियो ।
उक्त छलफलमा कार्यक्रमको आयोजक नगरपालिका र मुन्दुमविद्, जेष्ठ नागरिक, सालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथ्यतामा र श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ, प्रतिनिधिसभा सदस्य आरेन राई, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो, संविधानसभा सदस्यहरू, पूर्व सांसदहरू लगायतको विशेष आतिथ्यतामा बैशाख १८ गते सालिक अनावरण गर्ने सहमती भए पनि वडाअध्यक्ष राईले सहमती तोडेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।
वडाअध्यक्ष राईले भने त्यस्तो कुनै सहमती नभएको दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले अझै पनि छलफल गराएर एउटै कार्यक्रम गराउनु पर्ने बताइन् । फरक–फरक कार्यक्रम आयोजना गरिए र त्यहाँ झडप हुने स्थिति आए दुवै कार्यक्रम रोक्नु पर्ने अवस्थासम्म आउन सक्ने बताएकी छन् ।
उक्त सालिक कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिदा पटक–पटक म्याद थपिदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अबरोध गरेका थिए । कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरेको थियो । त्यसपछि उद्घाटन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित