वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी समापन, स्टलतर्फको पुरस्कार ज्योति माविलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख ७, २०८३
  • 133 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ७–दिक्तेल सोल्मास्थित शुभम फाउण्डेसनमा बैशाख ७ गते सम्पन्न वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनीमा स्टलतर्फको प्रथम पुरस्कार ज्योति मावि जालपाले हात परेको छ । उक्त विद्यालयले प्रथम पुरस्कार स्वरूप २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
त्यस्तै दिक्तेल इङ्लिस बोर्डिङ स्कुल दोश्रो र जालपा आधारभूत विद्यालय सिरुवास तेश्रो भएको छ । दोश्रो हुने दिक्तेल इङ्लिस बोर्डिङ स्कुलले नगद दश हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेश्रो हुने जालपा आधारभूत विद्यालय सिरुबासले नगद ५ हजार सहित सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
रोबो–कार–रेसतर्फ जबदम्बा मावि बिजयखर्कका जेन राई प्रथम भएका छन् । राईले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोश्रो हुने चम्पावती मावि बुइपाका सालिन राईले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेश्रो हुने सरस्वती मावि दिक्तेलका एलविन बास्तोलाले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
पिपुल चोइज अवार्डमा दिक्तेल इङ्लिस बोर्डिङ स्कुल छानिएको छ । उक्त स्कुलले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट भूमिका निर्वाह गर्ने विज्ञान शिक्षकमा ज्योति मावि जालपाकी सवनम चौधरी छानिएकी छन् । उनले पनि नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् ।
उत्कृष्ट प्रस्तोताको रूपमा चम्पावती मावि बुइपाका आनन्द श्रेष्ठ छानिएका छन् । उनले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् । मोष्ट प्राक्टिस इनोभेसन अवार्ड जालपा आधारभूत विद्यालय सिरुवासले पाएको छ । उसले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै राडीपाखीमा कालिका मावि नेर्पा, छुवाली कलामा जालपा मावि जालपा, माटोको भाडा बनाउने कुमालतर्फ श्रीमावि बास्बोटे लफ्याङ, चोयाको सामग्रीतर्फ जालपा मावि नुनथला र स्टल राखेर सहभागी भएकोमा पृथ्वी मावि बाक्सिलालाई पुरस्कृत गरिएको छ । यसमध्ये कालिका मावि नेर्पालाई ६ हजार, जालपा मावि जालपालाई ६ हजार, श्रीमावि बास्बोटे लफ्याङलाई १० हजार, जालपा मावि नुनथलालाई ५ हजार र पृथ्वी मावि बाक्सिलालाई ८ हजार नगद सहित प्रमाणपत्र दिइएको विज्ञान शिक्षक समाज खोटाङका अध्यक्ष तथा स्टल संयोजक भूपाल राईले बताएका छन् ।
त्यस्तै खाडी तथा ढाकाको स्टल राख्ने अभिषेक ढाका तथा खाँडी उद्योगलाई ६ हजार, आरनको स्टल राख्ने संगम खुकुरी उद्योगलाई ६ हजार र ऐतिहासिक तथा आधुनिक विकाससम्वन्धी स्टल राख्ने खाल्लेका दीपक राईलाई ६ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको राईले सुनाएका छन् ।
प्रदर्शनीको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा दिक्तेल बहुमुखी क्याम्पसकी निता विश्वकर्मा प्रथम, सरस्वती मावि दिक्तेलकी पुष्पा आचार्य दोश्रो र सिम्पानी मावि सिम्पानीकी प्रकृति घिमिरे तेश्रो भएकी छन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाख आर्थिक सहयोगमा तथा हिमालय मावि सोल्मा, शुभम फाउण्डेसन र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा गत बैशाख ३ गते उक्त प्रदर्शनी सुरु भएको हो । कोशी प्रदेश पूर्व सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेको प्रदर्शनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले समापन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित