दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको  आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट तथा कार्यक्रम

  • प्रकाशित मितिः असार १०, २०७६
  • 2143 पटक पढिएको
  • संवादताता

यस गरिमामय नगरसभाका आदरणीय सभाध्यक्ष एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखज्यू,

सभाका आदरणीय सदस्यज्यूहरु,

आमन्त्रित विशिष्ट व्यक्तित्वहरु,

राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं नगरवासी समस्त महानुभावहरु,

विभिन्न समयक्रममा भएका ऐतिहासिक क्रान्ति, संघर्ष र अन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीकरण सहितको नेपालको संविधान बमोजिम गठित स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गरिमामय यस नगरसभामा नगरपालिकाकाको आ.व. २०७6।०७7 को बजेट प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ। प्रथमतः यस विशिष्ट अवसरमा म हाल सम्म भएका राजनीतिक क्रान्ति, जनयुद्ध र जनआन्दोलनमा देश र जनताको निमित्त जीवन उत्सर्ग गर्ने अमर सहिदहरू प्रति उच्च श्रद्धाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाईते तथा अपाङ्गहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

जनताको लागि जनताद्वारा गरिने जनताको शासनको पवित्र सिद्धान्तलाई स्थानीयस्तरमा व्यवहारमा उतारी लोकतन्त्रको लाभहरुलाई स्थानीय जनतासम्म पुर्याउने दिशामा हामी अविचलित रुपमा लागिरहेका छौं।आर्थिक वर्ष 2076।077 को बजेट तयारी गर्दा चालु आर्थिक वर्ष 2075।076 मा सुरु भएका आयोजनाहरूलाई सम्पन्न गर्नुका साथै नगर आवधिक योजना (2075।076-2079।080) ले निर्दिष्ट गरेका क्षेत्रहरूमा स्रोत परिचालन गर्ने गरी तयार गर्नुपर्ने दायित्व हाम्रो सामु रहेको छ।

'समृद्ध नेपाल सुखी नेपाली' भन्ने राष्ट्रीय लक्ष्य र 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' भन्ने प्रदेशको गन्तव्य प्राप्तिका लागि 'समाजवाद उन्मुख सभ्य र समृद्ध नगर' बनाउने हाम्रो नगरको मूल नारालाई सार्थक बनाउन समन्वयात्मक रुपमा स्रोत परिचालन गरि अगाडि बढ्न आवश्यक छ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

खोटाङ जिल्लाको सदरमुकामस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जातीय सहिष्णुता, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यताले सम्पन्नशाली धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वले प्रचुर सम्भावना बोकेको नगरपालिका हो । यिनै वृहत सम्भावना र विविधतालाई उपयोग गरी स्रोत साधनको वैज्ञानिक परिचालनवाट यो नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न हामी प्रयत्नरत छौं ।नगरबाट गरिवी निवारणमा योगदान पुग्ने, उत्पादनमूलक, रोजगारी बढ्ने, सहभागितामूलक, स्थानीय स्रोतमा आधारित, समन्यायिक, दिगो र सांस्कृतिक जगेर्ना गर्ने पक्षहरूलाई आयोजना छनोटका आधार तोकिएको छ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

राज्य पुनर्संरचना पछि गठित नयाँ नगरपालिका भएका कारण आन्तरिक श्रोत परिचालन क्षमता अत्यन्त न्यून रहेको छ। यथेष्ट भौतिक पूर्वाधारको कमि, संघ तथा प्रदेशसभाबाट प्राप्त हुनुपर्ने ऐन तथा नियमहरू समयमा उपलब्ध नभएका कारण केहि नितीगत अस्पष्टता तथा आन्तरिक स्रोतको अपर्याप्तताका बाबजुद यस नगरपालिकाको दिगो तथा गुणस्तरीय सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासको माध्यमबाट समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरको रुपमा विकास गर्ने सोचका साथ आ.व.२०७6।०७7 को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय सभामा उपस्थित भएको छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

यो बजेट तयारी गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संघीय तथा प्रादेशिक सरकारका नीति, कार्यक्रम तथा मार्गदर्शन, नेपाल सरकारबाट प्राप्त निर्देशिकाहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम आवधिक योजना (२०७५।७६ – २०७९।८०) ले निर्देशित गरेका लक्ष्यहरु, लाई  मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखी नगरपालिकाले प्राप्त गर्ने आयस्रोतको सीमाभित्र रही वार्षिक कार्यक्रमहरु तयार गरि पेश गरेको छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतको श्रोत अनुमान तथा कुल बजेट सिमा निर्धारण समिति, राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, सबै विषयक्षेत्रगत समितिहरु, सबै वडा समितिहरु, राजनीतिक दलका नगरस्तरीय प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरु, टोलवासीहरु, वडावासीहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधीहरुको प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगबाट माग भई आएका योजनाहरु, प्राप्त सल्लाह र सुझाव समेतलाई आत्मसात गर्दै नगर कार्यपालिकाको बैठकमा सघन छलफल सहित पारित गरि यो बजेट तथा कार्यक्रम निर्माण गरेको छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०७6।०७7 को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व यस नगरपालिकाको समग्र विकास कार्यमा देखिएका तथा भोगिएका विद्यमान समस्या, चुनौति एवं अवसर र संभावनाहरुलाई यस गरिमामय सभामा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

समस्याहरु

  • आन्तरिक श्रोत आशातित रुपमा परिचालन हुन नसकेका कारण बढ्दो केन्द्रिय परनिर्भरता ।
  • कर्मचारी समायोजन पश्चात पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव रहनु।
  • कार्यालयको भौतिक पूर्वाधारका साथै संस्थागत क्षमताको कमी।
  • सडक, विधुत्त, सञ्चार जस्ता भौतिक पूर्वाधारहरूको पहुँच सबै नगरवासीहरू सम्म पुग्न नसक्नु ।

चुनौतिहरु

  • अपर्याप्त भैतिक पूर्वाधार र कमजोर सामाजिक तथा आर्थिक सूचकहरु ।
  • ठूलो भूगोल, भौगोलिक विकटता, छरिएर रहेका वस्तिहरू ।
  • स्थानीय सरकारसँग नगरवासी जनताका असिमित अपेक्षाहरु ।
  • सिमित क्षमता र स्रोत साधन तथा असिमित आवश्यकताका बीचमा तालमेल मिलाई सन्तुलित र दिगो विकास गर्नु ।

अवसर तथा सम्भावनाहरु

  • कर्मचारी समायोजन भई खालि रहेका दरवन्दिमा समेत लोक सेवा आयोगबाट पदपूर्ती प्रक्रिया अगाडी बढ्नु।
  • मध्य पहाडी लोकमार्ग, अस्पतालचोक-खानिडांडा-रेग्मिटार, महुरे-फोक्सिङटार जस्ता सडक सञ्जालहरूको निर्माण अन्तिम चरणमा पुग्नु।
  • बगरेभञ्ज्याङ, रुपाकोट, भुलभुले, यलम्बर पार्क, साप्सूधाप जस्ता पर्यटकीय गन्तव्यहरू पहिचान हुनु।
  • प्रयाप्त युवा जनशक्ति र तीनको समुचित परिचालनवाट प्राप्त हुन सक्ने जनसांख्यिक लाभ ।
  • ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कालिका देवीस्थान, मझुवागढी, महुरेगढी, सितादेवी जस्ता स्थानहरू नगरमा अवस्थित हुनाले धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना ।
  • विशिष्ट भौगोलिक अवस्थितिले गर्दा जडिबुटी तथा विविध कृषि पैदावारको प्रचुर सम्भावना।
  • कृषिका विभिन्न बालिका लागि पकेट क्षेत्र घोषणा गरिनुका साथै अर्गानिक नगर बनाउने सम्भावना रहेको।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

अव म आर्थिक बर्ष २०७4।०७5 को यथार्थ र आर्थिक वर्ष 2075।076 को आय र व्ययको संशोधित अनुमान प्रस्तुत गर्न चाहन्छु।

  • आर्थिक बर्ष २०७4०७5 को आय व्ययको यथार्थ विवरण:-
    • आर्थिक बर्ष २०७4।०७5 को आन्तरिक आय (राजस्व) तथा विभिन्न संघ संस्था बाट प्राप्त रकम रु. 48 लाख 65 हजार 9 सय एक ।
    • संघीय सरकारको वित्तीय समानिकरण अनुदान र राजश्व बांडफांड गरि कुल रु. २8 करोड 65 लाख 30 हजार, संघीय सशर्त अनुदान रु. 27 करोड 8 लाख 85 हजार, सामाजिक सुरक्षा लगायत अन्य हस्तान्तरित कार्यक्रम अनुदान रु. 10 करोड 97 लाख 13 हजार तीन सय अठासी ।
    • प्रदेश सरकार अनुदान रु. 18 लाख ।
    • अ.ल्या. लगायत अन्य स्रोत रु. 3 करोड 12 लाख 83 हजार 9 सय उनान्सत्तरी ।
    • कुल जम्मा रु. 70 करोड 50 लाख 78 हजार 2 सय अन्ठाउन्न मध्ये 67 करोड 12 लाख 81 हजार 4 सय बयालिस खर्च भएको।यो कूल बिनियोजन रकमको 95.21 प्रतिशत हुन आउंछ।
  • चालु आर्थिक बर्ष २०७5।०७6 को आय व्ययको संशोधित अनुमान :-
    • चालु आर्थिक बर्ष २०७5।०७6 को विनियोजन ऐन अनुसार विनियोजित रकम रु. 73 करोड 38 लाख 75 हजार, विनियोजन ऐन अन्तर्गत समावेश नभएको विशेष अनुदान, समपूरक अनुदान, सशर्त अनुदान लगायतको रु. 10 करोड 79 लाख 74 हजार गरि कुल संशोधित बजेट रु. 84 करोड 18 लाख 84 हजार हुन गएको छ।
    • आन्तरिक आय (राजस्व) तर्फ रु. 1 करोड 81 लाख 57 हजार अनुमान गरिएकोमा 2076 जेष्ठ मसान्त सम्ममा रु. 39 लाख 27 हजार 3 सय तेईस मात्र प्राप्त भएको छ।
    • संघीय सरकार तर्फको राजश्व बांडफाडंबाट रु. 10 करोड 3 लाख 24 हजार प्राप्त हुने अनुमान गरिएकोमा 2076 वैशाख मसान्त सम्ममा रु. 6 करोड 99 लाख 7 हजार मात्र प्राप्त हुन आएको छ।
    • प्रदेश सरकारबाट राजश्व बांडफांडबाट प्राप्त हुने अनुदान रु. 5 लाख अनुमान गरिएकोमा रु. 77 लाख प्राप्त भएको छ।
    • प्रदेश सरकार अनुदान तर्फबाट रु. 2 करोड प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म कुनै पनि रकम प्राप्त भएको छैन।
    • कुल संशोधित बजेट रु. 84 करोड 18 लाख 84 हजार मध्ये 2076 असार पहिलो साता सम्म पूँजिगत तर्फ रु. 17 करोड 6 लाख 90 हजार 1 सय 17 रुपैंया र चालु तर्फ रु. ४1 करोड 68 लाख 2४ हजार 9 सय बाउन्न गरि जम्मा रु. 58 करोड 75 लाख 15 हजार उनान्सत्तरी खर्च भएको अनुमान छ ।जसमा पुँजिगत तर्फ 54.78 प्रतिशत र चालु तर्फ 78.62 प्रतिशत गरि कुल 69.80 प्रतिशत खर्च भएको अनुमान छ।

 सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

अब म आ.व. 2076।077 को बजेटका उदेश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।

बजेटका उदेश्यहरु :

  • दिगो र गुणस्तरीय पूर्वाधार विकास ।
  • उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने ।
  • विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने ।
  • नगरपालिकाद्वारा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने।
  • समृद्ध, समुन्नत र अर्गानिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने ।

बजेटका प्राथमिकताहरु :

  • यस नगरपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेका उपलब्धिहरू हासिल गर्न सहयोग पुर्याउने आयोजनाहरू
  • चालु आ.व.मा सुरु भएका ठूला आयोजनाहरू
  • स्थानीय गौरवका आयोजनाहरू
  • आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउने आयोजनाहरू
  • स्थानीय वासिन्दालाई प्रत्यक्ष योगदान दिने आयोजनाहरू
  • समावेशी र सन्तुलित विकासमा सहयोग पुर्याउने आयोजनाहरू
  • संस्थागत विकास तथा सेवा प्रवाह प्रभावकारी बनाउने आयोजनाहरू
  • कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्घि गरि व्यवसायिकरणमा सहयोग पुग्ने आयोजनाहरू

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको चालु आ.व. २०७6।०७7 को बजेट सारमा प्रस्तुत गर्न गईरहेको छु ।

१) आयतर्फ

क) नगरपालिकाको आन्तरिक आय रकम रु. 1 करोड 85 लाख रहने अनुमान छ ।आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ।जुन अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, 2076 मा प्रस्तुत गरेको छु।

ख) संघीय सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित रकम रु. १2 करोड 10 लाख, वित्तिय समानिकरण अनुदान रु. १४ करोड 57 लाख, सशर्त अनुदान तर्फ रु. 32 करोड ५6 लाख र अन्य अनुदान (सामाजिक सुरक्षा) तर्फ रु. 16 करोड गरी कुल रु. 7५ करोड 23 लाख हुने अनुमान रहेको छ ।

ग) प्रादेशिक सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित रकम रु. 1 करोड 9५ लाख 99 हजार, वित्तिय समानिकरण अनुदान रु. 75 लाख 85 हजार र सशर्त अनुदान तर्फ रु. २ करोड 25 लाख गरि कुल रु. 4 करोड 96 लाख 84 हजार हुने अनुमान रहेको छ ।

घ) गत आ.व. को अल्याबाट रु. 1 करोड 82 लाख 32 हजार सोह्र मौज्दात रहने अनुमान छ।

माथि उल्लेखित श्रोतहरूबाट आ. व. २०७6।०७7 को कुल बजेट रु. 83 करोड 87 लाख 16 हजार सोह्र हुने अनुमान गरेको छु ।

2) विनियोजनतर्फ

क) संघीय सशर्त कार्यक्रम तर्फ रु. ३२ करोड 56 लाख विनियोजन गरेको छु ।

ख) प्रादेशिक सशर्त कार्यक्रम तर्फ रु. २ करोड 25 लाख विनियोजन गरेको छु ।

ग) चालु खर्च (कार्यालय) तर्फ रु. 12 करोड 56 लाख 77 हजार उनन्चालिस खर्च गर्ने व्यवस्था मिलाएको छु।वडागत चालु खर्च तर्फ 96 लाख 36 हजार विनियोजन गरेको छु।

घ) कार्यालयको लागि पुँजिगत खर्च तर्फ रु. 65 लाख विनियोजन गरेको छु।

ङ) विशेष कोषहरु तर्फ रु. 45 लाख विनियोजन गरेको छु ।

च) संघीय तथा प्रदेश सरकारसंगको सहलगानीमा संचालन हुने आयोजनाहरूको लागि समपुरक कोष तर्फ रु. २ करोड 50 लाख विनियोजन गरेको छु ।

छ) संघ तथा प्रदेश बाट प्राप्त निर्माणाधिन योजनाहरूका लागि भुक्तानी दिन रु. 1 करोड 82 लाख 32 हजार सोह्र विनियोजन गरेको छु।

विषयगत विनियोजन तर्फ

1) पूर्वाधार विकास

नगरपालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गदेखि प्रत्येक वडा केन्द्रसम्म १२ महिना यातायात सञ्चालन हुने गरि सडकको पहुँच पुर्याउन सडक स्तरोन्नतीको कार्यलाई प्राथमिकता दिईनेछ। माध्यामिक विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरू, सामुदायिक भवनहरूसम्म पुग्ने गरि सडक स्तरोन्नती गरि नगर क्षेत्रभित्रका उत्पादन पकेट क्षेत्र र पर्यटकीय स्थलहरूलाई मुख्य बजार केन्द्रसँग आबद्ध गरिनेछ। जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाहरूसँग समन्वय गरि स्थानीय सडक सञ्जालसँग जोडिने गरी नगर सडकहरूको विकास गर्ने र आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन गर्दै लाने उद्देश्य लिईएको छ।

  • महत्वपूर्ण ठूला पूर्वाधारहरूको निर्माण प्रदेश र संघ संगको सहकार्यमा गर्ने गरी प्रोजेक्ट ब्यांक तयारी गर्नको लागि आयोजना पहिचान गरि DPR तयार गर्नको लागि रु. 50 लाख विनियोजन गरेको छु।
  • चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आवमा सम्पन्न गर्नको लागि रु. 4 करोड विनियोजन गरेको छु।
  • बुईपाको यलम्बर पार्कमा विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति स्थापनाको लागि प्रदेश सरकारको समपूरक अनुदान समेत समावेश गरि आवश्यक बजेट विनियोजन गरेको छु।
  • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय पूर्वाधार विकास तर्फ रु. 2 करोड 98 लाख 87 हजार विनियोजन गरेको छु।
  • स्थानीय गौरवका योजनाहरु सचांलनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

2) सामाजिक विकास

नगरवासीलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ। खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ ।लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।

  • जेष्ठ नागरिक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत रु. 16 करोड विनियोजन गरेको छु ।
  • महिलाहरुलाई आर्थिक, राजनीतिक र सामाजिक रुपमा सवल र सक्षम बनाउदै महिला शसक्तिकरण गर्ने कुरालाई ध्यानमा राखेर उपप्रमुख संग महिला कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
  • शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. 23 करोड 86 लाख 53 हजार विनियोजन गरेको छु।
  • विद्यालयमा बालबालिकालाई आकर्षित गरि विद्यालय छोड्ने दर घटाउनका लागि कक्षा 1 देखि 3 सम्मका बालबालिकाहरूलाई टिफिन क्यारी प्रदान गर्न आवश्यक रकम विनियोजन गरेको छु।
  • स्वास्थ्य सेवामा सबैको पहुंच पुर्याई स्वास्थ्य सेवाको स्तर बृद्धि गर्ने कार्यको लागि निशुल्क वितरण गरिने औषधि खरिदमा रु. 15 लाख सहित स्वास्थ्य क्षेत्रको लागि रु. 4 करोड 89 लाख 21 हजार विनियोजन गरेको छु।
  • युवा मैत्री नगर विकासको लागि खेलकुद तथा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • नगरपालिका क्षेत्र भित्र शिघ्र कुपोषित वालवालिकाहरु पहिचान र छनौट गरि वहु क्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु ।
  • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय सामाजिक विकास तर्फ रु. 1 करोड 45 लाख 72 हजार 7 सय चार विनियोजन गरेको छु।

3)आर्थिक विकास

कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धि गर्दै व्यवसायीकरण गर्ने उद्देश्य लिईएको छ।वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गर्दै उद्योग व्यापार तथा सेवा क्षेत्रलाई सक्षम वनाउने उद्देश्य लिईएको छ।

  • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत रु. 90 लाख 7 हजार विनियोजन गरेको छु।
  • कृषि पकेट क्षेत्र घोषण गर्ने कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रहरू पहिचान गर्दै लगिने छ।त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ साना सिंचाई आयोजना अन्तर्गत रु. 1 करोड 55 लाख 38 हजार विनियोजन गरेको छु।यस रकमबाट 5 वटा निर्माणधिन आयोजना पूरा गर्नका साथै 4 वटा नयां आय़ोजना सुरु गर्ने लक्ष्य लिईएको छ।
  • वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूका लागि लक्षित गरि सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रमको लागि रू. 54 लाख विनियोजन गरेको छु।
  • नगरमा औद्योगिक विकास प्रवर्द्धनका लागि नगर महोत्सव तथा औधोगीक/कृषि प्रर्दशनी गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
  • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय आर्थिक विकास तर्फ रु. 85 लाख 42 हजार 6 सय एकाउन्न विनियोजन गरेको छु।

4) बन, वाताबरण तथा सरसफाई

  • नगरपालिका क्षेत्रमा उत्सर्जन हुने घरेलु फोहोर मैला व्यवस्थापनका लागि कम्पोष्ट मल तथा वायोग्यास उत्पादन गर्ने प्लान्टहरूको निर्माण सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
  • नविकरणीय उर्जा प्रविधिहरू (लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायोग्यास, वायोमास उर्जाको उत्पादन र प्रयोग ) मार्फत उर्जा उत्पादन र प्रयोगको लागि रु. 13 लाख 52 हजार विनियोजन गरेको छु।
  • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय वन, वातावरण तथा सरसफाई तर्फ रु. 24 लाख 67 हजार 1 सय चौध विनियोजन गरेको छु।

5) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन

  • नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरूको संस्थागत सुधारको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • संघीय सरकारबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकहरूको तलब सुविधामा बृद्धि भए अनुरुप यस नगरपालिका र अन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरूको तलब सुविधा बृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छु।यसबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकहरूको मनोबल उच्च भई सेवा प्रवाहमा थप सुधार हुने विश्वास लिएको छु।
  • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ रु. 20 लाख 89 हजार 8 सय अठचालिस विनियोजन गरेको छु।

 सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

प्रस्तुत बजेटको कार्यान्वयनबाट यस नगरपालिका भित्र सुशासनको अभिबृद्धि भई भौतिक पूर्वाधार, सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छु।

अन्त्यमा, यो बजेट निर्माणको क्रममा  अहोरात्र खटिई तथा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक सल्लाह सुझाव एवं प्रतिक्रिया दिई सहयोग गर्नुहुने नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरु, कार्यपालिकाका सदस्यज्यूहरु, सल्लाहकारज्यूहरू, विभिन्न विषयगत समितिका संयोजक तथा सदस्यज्यूहरु, राजनैतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।

यस सम्मानित सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पनि यहाँहरुको सक्रिय, रचनात्मक तथा सिर्जनात्मक सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।                                                                        

                                                   

                                                धन्यवाद !

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित