नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २३–जिल्लामा अज्ञात रोगले माहुरी मरेर सखाप भएको छ । ऐसेलुखर्क र रावाबेसी गाउँपालिकामा किसानले पालेको सेराना जातको माहुरी अज्ञात रोगले मरेर सखाप भएको हो ।
सेराना जातको माहुरी लेक–बेसी उधौली–उभौली बसाइ सर्दै विचरण गर्ने गर्दछ । ऐसेलखर्क गाउँपालिका १ राखावाङ्देल, २ बाकाचोल, ३ ऐसेलखर्क र ६ ज्यामिरेका किसानले पालेको माहुरी सखाप भएको उक्त गाउँपालिकाका पशु शाखा प्रमुख प्रमोद राजभण्डारीले बताएका छन् । उनका अनुसार उक्त गाउँपालिकामा एक सय ११ घार माहुरी मरेर नष्ट भएको छ । उक्त गाउँपालिका–१ राखावाङदेलमा ४० घार, २ बाकाचोलमा २० घार, ३ ऐसेलुखर्कमा ३१ घार, ६ ज्यामिरेमा १९ माहुरी नष्ट भएको हो । त्यस्तै वडा नं ४ जलेश्वरी, ५ महेश्वरी र ७ माक्पामा पनि फाट्टफुट्ट मरेको राजभण्डारीले सुनाएका छन् । यस बाहेक अन्य ठाउँमा पनि माहुरी मरेको र त्यसको विवरण आइनसकेको राजभण्डारीले सुनाएका छन् ।
सुरुमा चल्मलाउन नसक्ने, उड्न नसक्ने लक्षण देखिएको थियो । त्यसपछि घारभित्रै मरेर नष्ट भएको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका रामकुमार राईले बताएका छन् ।
त्यस्तै रावाबेसी गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि माहुरीमा समस्या देखिएको रावाबेसी गाउँपालिकाका कृषि शाखा प्रमुख शरण हमालले बताएका छन् । उनका अनुसार उक्त गाउँपालिका–१ कुभिण्डेको माथिल्लो क्षेत्र दम्कु, २ खार्पाको माथिल्लो क्षेत्र रुभुङ लगायतका १३–१४ सय मिटर उचाइमा माहुरीमा रोग देखिएको हो । कुन रोग हो भन्ने विषयमा अनुगमन गरेर मात्र थाहा हुने हमालले जनाएका छन् ।
माहुरी मरेको बारेमा किसानले जानकारी गराउनासाथ जिल्लास्थित कृषि ज्ञानकेन्द्र र माहुरी विकास केन्द्रसंग परामर्श लिदा लगातारको पानी, विषजन्य फूलको रस, रासायनिक विषादी लगायतका कारण मरेको हुनसक्ने बताएको राजभण्डारी जनाएका छन् । सेराना जातको माहुरीलाई प्राकृतिक रूपमा फुलेको फूलले खासै असर नगर्ने भएकाले यो चोटी माहुरीमा महामारी आएको हुन सक्ने किसानहरूको भनाइ छ । माहुरी मरेपछि पर्यावरणलाई समेत असर पर्ने किसानहरूले बताएका छन् ।
खोटाङमा मात्र होइन, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, रसुवा, कास्की, गोर्खा, लमजुङ लगायतका जिल्लाहरूमा यो रोग देखिएको माहुरी विकास केन्द्र गोदावरीकी अधिकृत सुरक्षा सुवेदीले बताएकी छन् । माहुरी मरेको जानकारीपछि विज्ञ टोली गोर्खामा माहुरी बारे अध्ययन गरिरहेको र फिल्डबाट फर्किएपछि कुन भाइरस भन्ने पत्ता लाग्ने सुवेदीले सुनाएकी छन् ।
https://youtube.com/shorts/UUwon1M7xYQ?si=yrQ5nxxsSfpY4cJF
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लाम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–पूर्वाध�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित