नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ९–हलेसी तुवाचुङ नगरपालिका–७ महोवस्थानमा निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी हलेसी तुवाचुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ । ठेक्का लिएर काम नगरी अलपत्र पार्ने नमूना हिमालयन जेवी विराटनगर सम्वद्ध रमेश बस्नेत चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको सुजुकी कार चैत ८ गते नियन्त्रणमा लिएको हो ।
कानुनी आधारमा पटक–पटक ताकेता गर्दा समेत नटेरेकाले बोलाएरै नियन्त्रण लिएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताएकी छन् । गाडी नियन्त्रणमा लिएपछि चैत ८ गते नै जिल्ला प्रशासन कार्यालय खोटाङलाई लिखित जानकारी समेत गराइएको राईले सुनाएकी छन् । काम नगरेकाले कालो सूचीमा राख्ने जानकारी गराउदै बोलाएपछि गाडी नियन्त्रणमा लिएर काम गर्नेबारे लिखित प्रतिबद्धता समेत गराइएको नगरप्रमुख राईले जनाएकी छन् । उक्त प्रतिबद्धतापत्रमा चैत १२ गतेदेखि काम सुरु गर्ने, त्यसको ४५ दिनभित्र वेसमेन्ट कभर स्याब ढलान गर्ने, ६० दिनभित्र फष्टफ्लोर स्ल्याव सक्ने, त्यसपछिको ६० भिनभित्रमा सेकेण्ड फ्लोरको स्ल्याब सम्पन्न गर्ने प्रतिबद्धता गराइएको छ । कामको प्रगति देखिएपछि सम्वन्धित व्यक्तिलाई गाडी जिम्मा लगाउने राईले जनाएकी छन् ।
उक्त निर्माण कम्पनीले २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते सम्झौता गरेको थियो । संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ बजेटको उक्त अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् ।
उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माणअवधि थपिदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ गतेको कार्यपालिकाको बैठकले तेश्रो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताएका छन् । सुरुको रनिङ बिलको उक्त रकम भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।
गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर गएपछि काम अलपत्र परेको थियो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताएका छन् । लिखित प्रतिबद्धता गराएपछि काम सुरु गरेको गिरीले जनाएका छन् । निर्माणमा सम्बद्ध रमेश बस्नेतले प्रतिबद्धता पत्रमा उल्लेख गरिएअनुसार काम गर्ने बताएका छन् ।उक्त अस्पतालका लागि स्थानीयले ९ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित