क्यामेरा ट्रयापमा अति संकटापन्न वन्य जन्तु कैद (भिडिओ सहित)

  • प्रकाशित मितिः पुस १९, २०८२
  • 377 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १९–जिल्लाको जालपा, खार्मी र हौचुरस्थित सामुदायिक वनहरूमा राखिएको क्यामेरा ट्रयापमा अति संकटापन्न कालो सालक लगायतका वन्य जन्तु कैद गरिएको छ । पुस १९ गते जालपामा आयोजित सालक संरक्षण तथा क्यामेरा ट्रयाप नतिजा सार्वजनिक गोष्ठीको सन्दर्भमा सालक लगायत अन्य विभिन्न १६ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरामा कैद भएको जानकारी गराइएको हो ।
प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका कार्यकारी निर्देशक जीवन राईका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा राख्दा अति संकटापन्नको सूचीमा रहेको प्रजातिको १, संवेदनशील प्रजातिका ३, संकट नजिकमा रहेका प्रजातिका २ र कम चासोका प्रजातिमा पर्ने १० गरी विभिन्न १६ प्रजातिका स्तनधारी वन्यजन्तु प्राकृतिक बासस्थानमा, क्यामेरामा ट्रयाप भएको हो । उनका अनुसार सन २०२५ मा ४ देखि ६ महिनासम्म क्यामेरा ट्र्याप जडान गर्दा अति संकटापन्न प्रजातिका कालो सालक, संवेदनशील प्रजातिका थार, ध्वाँसे चितुवा, चितुवा, संकट नजिक रहेका आसामी घोरल र बाँदर क्यामेरामा कैद भएका छन् । त्यस्तै कम चासोका प्रजातिमा पर्ने चरी बाघ, रतुवा मृग, गँगटे न्याउरी मुसा, ढँेडु, सानो सुँगुरेभालु, ठूलो निर बिरालो, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रो क्यामेरा ट्र्यापमा देखिएको छ ।
सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्य जन्तुको अनुगमन र संरक्षणका लागि आफैंले क्यामेरा ट्रयापिङ गर्ने शीप विकास गर्न क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको राईले सुनाएका छन् ।
उक्त क्यामेरा ट्रयाप सर्वेक्षण जालपाका सामुदायिक वनहरू, प्रकृति संरक्षण तथा अध्ययन केन्द्र, द मोहम्मद बिन जायद स्पिसिज कन्जरभेसन फन्ड, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १२ जालपा, जनसेवा समाज नेपाल, आयुसीएन सीइसीको साझेदारीमा गरिएको हो । यसका लागि द मोहम्मद बिन जायद स्पिसिज कन्जरभेसन फन्डले क्यामेरा उपलब्ध गराएको र क्यामेरा ट्रयाप गर्ने शीप, प्रकृति संरक्षण तथा अध्ययन केन्द्रले प्रदान गरेको आयोजक मध्येका कोरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बर्जध्वज राईले सुनाएका छन् । उक्त क्यामेरा ट्रयाप सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा जालपाका ताली, कोरे, धोद्रे, पैरेनी, कागजथला, छारू, सालघारी सामुदायिक वन सहभागी छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित