कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र खण्डर बन्यो (भिडिओ सहित)

  • प्रकाशित मितिः पुस १८, २०८२
  • 294 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १८–दुई करोड बढी खर्च गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएको कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र खण्डहर बनेको छ । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा करिब दुई करोड रूपैयाँको बजेटमा निर्माण गरिएको कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र खण्डहर बनेको हो ।
ठेक्का मार्फत एक करोड ९० लाख ७० हजार ६ सय ४ रूपैयाँ र कोटेसन मार्फत दश लाख भन्दा बढीमा सम्पन्न कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र निर्माण गरिएको थियो । नगरक्षेत्रभित्रको फोहरबाट कम्पोष्ट मल उत्पादन गरी नगरलाई अर्गानिक बनाउने उद्देश्यले उक्त कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र निर्माण गरिएको थियो । तर व्यवस्थापन समस्याका कारण खण्डहर अवस्थामा पुगेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले २०७६ असार १ गते सिलान्यास गरी काम सम्पन्नपछि तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेका थिए ।
मल उत्पादन समेत सुरु भइसकेको उक्त उद्योगप्रति वर्तमान स्थानीय सरकारले समेत चासो नदिदा जीर्ण बनेको स्थानीय गङ्गाबहादुर विश्वकर्माको भनाइ छ । उक्त कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्रका लागि विश्वकर्माले छ रोपनी जग्गा दिएका थिए । यसमध्ये चार रोपनी २०९१ सालसम्मका लागि लिजमा र दुई रोपनी जग्गा निःशुल्क रूपमा नगरपालिकालाई उपलब्ध गराएका हुन् ।
उक्त ठाउँमा कृषि श्रोत केन्द्र स्थापना गर्ने रणनीति अपनाइएको थियो । पशु तथा कृषि ल्याव लगायतका अन्य पूर्वाधारहरू समेत निर्माण गरिएको थियो । तर व्यवस्थापन अभावमा यी सबै भताभुङ्ग भएको छ । उक्त कम्पोष्ट मल प्लान तथा कृषि श्रोत केन्द्र अघिल्लो स्थानीय सरकारकै पालामा बन्द भइसकेको र सञ्चालनका लागि पटक–पटक बोलपत्र आह्वान गर्दा समेत कसैले चासो नदेखाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । दिक्तेलजस्तो ठाउँमा बनाइएको कम्पोष्ट मल प्लान अनुपयुक्त भएकाले सञ्चालनमा आउन नसकेको भट्टराईको भनाइ छ ।
कम्पोष्ट मल प्लान मेसिन खरिद तथा संरचना निर्माणमा आर्थिक वर्ष २०७५/७६ मा एक करोड चार लाख ५२ हजार पाँच सय रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का रिसोर्स एण्ड चेन्ज मेनेजमेन्ट प्रालि काठमाडौंले लिएको थियो । उक्त उद्योगको कम्पाउण्ड निर्माणमा पनि ठूलै खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा मुकुन्द इन्दिरा निर्माण सेवाले ४४ लाख ४३ हजार पाँच सय ४६ रूपैयाँको लागतमा कम्पाउण्ड निर्माणको काम गरेको थियो ।
पोखरी निर्माण र हाइटेक ग्रीन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रीन हाउस निर्माणमा पनि मनग्गे खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा हाइटेक ग्रीन हाउस निर्माणमा १० लाख ६ हजार ६०४ रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का वेष्ट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि सुनसरीले लिएको थियो ।
मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि भैसी खरिद, कम्पोष्ट मल प्लान उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि फूल, विभिन्न किसिमका विरुवा तथा सजावटका सामग्रीहरूमा पनि खर्च भएको छ । यो सहित विभिन्न योजनाका कामहरू करिब दश लाख बढीको कोटेसन मार्फत गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपाकिाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । मल उद्योगका लागि आवश्यक मलमुत्रका लागि खरिद गरिएको भैसी समेत यो बेला छैन । दुई लाखमा खरिद गरिएको तीन भैसीमध्ये एउटा मरेको र दुई वटा ९० हजारमा लिलाम गरिएको भट्टराईको भनाइ छ । कम्पोष्ट मल प्लानका लागि खरिद गरिएको एउटा सक्सन मेसिन र एउटा ट्याक्टर मात्र सञ्चालनमा छ । एउटा ट्याक्टर र एउटा गाडी भने बिग्रिएर थन्किएको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित