शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले खोटाङमा निर्मित बाँसका सामान प्रयोग गर्ने

  • प्रकाशित मितिः मंसिर १३, २०८२
  • 233 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १२–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बनाइएका बाँसका फर्निचर प्रयोग गर्ने भएका छन् । मन्त्री पुन र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बीच मङ्सिर ११ गते भएको भेटघाटमा पुनले उक्त बचन दिएका हुन् ।
भट्टराईका अनुसार भेटघाटको क्रममा मन्त्री पुनले आफ्नो कार्यकक्षमा आवश्यक पर्ने फर्निचर बाँसबाट बनाइएको उपयोग गर्ने बताएका हुन् । पुनले कुर्सी, टेबल, ¥याक, डस्बिन, फूलदानी लगायत कार्यकक्षमा पूरै बाँसबाटै निर्मित सामग्री राख्नका लागि अर्डर समेत गरेको भट्टराईले बताएका छन् ।
त्यस्तै वाणिज्य सचिव कृष्णबहानुर राउतले समेत पनि आफ्नो कार्यकक्षमा पूरै बाँसबाटै निर्मित सामग्री उपयोग गर्ने भट्टराईले बताएका छन् । दुवै मन्त्रालयमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित ब्याम्बो ग्राफ्ट प्रशोधन कृषक समूहले निर्माण गरेको सामग्री प्रयोग गर्ने भट्टराईले जनाएका छन् । उक्त कृषक समूहलाई नगरपालिकाले बाँसका सामग्री बनाउने तालिम उपलब्ध गराएको थियो । आफ्नो नगरमा उत्पादित बाँसका सामग्री सिंहदरबारसम्म पुग्ने भएपछि खुसी लागेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित