अलपत्र नगरअस्पताल निर्माण सुरु (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १२, २०८२
  • 298 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित अलपत्र निर्माणाधीन नगर अस्पताल बल्ल निर्माण सुरु भएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र जग्गाको अवस्था नमिलेकाले डिपिआर परिवर्तन गर्नु पर्दा निर्माणमा ढिलाइ भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार भवन निर्माण सुरु भइसकेपछि डिपिआर परिवर्तन गरिएको हो । उक्त भवन थालनीमै पिलरहरू बाङ्गिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाइएको गिरीले सुनाएका छन् । भवनको तल्लोपट्टीको ६ वटा पिलर बाङ्गिएपछि भत्काएर बनाउन लगाइएको गिरीले जनाएका छन् । भवन निर्माण सुरु गरिए पनि पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसी लगायतको संरचना नमिलेपछि डिपिआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ । ‘भवन निर्माण सुरु गरिए पनि अस्पताललाई आवश्यक पर्ने पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसीका लागि संरचना निर्माण गर्न नमिल्ने भएकाले डिपिआर परिवर्तन गरिएको हो’–गिरीले भने ।
गिरीका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको भवनमध्ये यो भवन एक हो । उक्त भवनको ठेक्का नमुना हिमालयन जेवी विराटनगरले लिएको थियो । संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ (भ्याट बाहेक) बजेटमा २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते उक्त निर्माण कम्पनीले संझौता गरेको थियो । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको करिब ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखाअधिकृत नवराज कटवालले बताएका छन् । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।
निर्माणमा संलग्न राजु गुरागाईँले भने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) परिवर्तन गर्नु पर्ने भएकाले ढिलाइ भएको बताएका छन् । अहिले डिपिआर परिवर्तन गरी काम समेत सुरु भइसकेको गुरागाईँको भनाइ छ । ‘डिपिआर र जग्गा मिलेन’ गुरागाईँले भने–‘जग्गा अनुसारको डिपिआर निर्माण गरेर भर्खरै काम सुरु गरेका छौं ।’
निर्माणस्थलमा खटिएका कामदारको संख्या थोरै भएकाले अझै पनि अस्पताल भवन बन्छ भन्नेमा विश्वस्त नभएको जग्गादाताहरूले गुनासो गरेका छन् । निर्माणस्थलमा ५–६ जना कामदार मात्र भएकाले बेलामा काम नसकिने जग्गादाता प्रकाशचन्द्र गिरीले बताएका छन् । अस्पताल बन्छ भनेर जग्गा दिएको तर यो बेलासम्म पनि काम नसकिदा दुःख लागेको अर्का जग्गादाता गोपाल गिरीले बताएका छन् । ‘हामीले त हस्टिपल बन्छ भनेर पो जग्गा दिएको हो त, यसरी अलपत्र पर्छ भनेर दिएको होइन’ प्रकाशचन्द्र गिरीले भने–‘ढिलासुस्ती गरेको बारे नगरप्रमुख, उपप्रमुख वडाअध्यक्षलाई समेत ध्यानाकर्षण गराइरहेका छौं तर बन्ने छनक देखिएन ।’
उक्त अस्पताल भवन निर्माणका लागि जग्गादाताहरूले ९ रोपनी ३ आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका हुन् । यसमध्ये प्रकाशचन्द्र गिरीले एक रोपनी ५ आना, हरिश्चन्द्र गिरीले ५ आना, दुर्गाबहादुर केसीले दुई रोपनी ५ आना, रत्न राईले ५ आना, गोपाल गिरीले ३ रोपनी ५ आना, प्रेमबहादुर बस्नेतले ८ आना र गौरीमायाँ विश्वकर्माले ७ आना जग्गा निःशुल्क दिएका हुन् ।
उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माणअवधि थपिदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ गतेको कार्यपालिकाको बैठकले तेश्रो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त अवधिभित्र काम सक्ने गुरागाईँले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित