नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २९–जिल्लामा यो वर्ष किवीको उत्पादन घटेको छ । प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा करिब ३० प्रतिशत उत्पादन घटेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का शुभचन्द्र राईका अनुसार यो वर्ष प्रतिकूल मौसमका कारण करिब ३० प्रतिशतले किवी उत्पादन घटेको हो । उनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा शिरानमा ३० रोपनी जग्गामा आफूले सञ्चालन गरेकोे शुभ कृषि फर्ममा गत वर्ष १० हजार केजी किवी उत्पादन भएकोमा अहिले करिब ८ हजार केजी मात्र उत्पादन भएको बताएका छन् । यो वर्षको किवी टिपेर स्टोर गरेर राखेको र मागको आधारमा विक्री गर्दै लैजाने राईले सुनाएका छन् । उनले उत्पादन गरेको किवी काठमाडौं, बिराटनगर, धरान लगायतसम्म पठाउने गरेको राईको भनाइ छ । प्रतिकेजी एक सय ५० देखि दुई सय रूपैयाँसम्म किवी विक्री हुने गरेको राईले सुनाएका छन् । गत वर्ष करिब यसबाट १५ लाख आम्दानी भएकोमा यो वर्ष १० लाख जति मात्र आम्दानी हुने राईले बताएका छन् । ‘यो वर्ष किवी उत्पादन ३० प्रतिशतले घट्यो, गत वर्ष १० हजार केजी किवी उत्पादन भएको थियो, यो वर्ष करिब ८ हजार केजी मात्र उत्पादन भयो’ राईले भने–‘गत वर्ष १५–१६ लाख जति भएको थियो, यो वर्ष १० लाख मात्र हुन्छ ।’
राईले २०७१ सालदेखि किवी खेती सुरु गरेको सुनाएका छन् । किवीबाट जुस, वाइन, जाम, क्यान्डी, ब्रान्डी, आइक्रिम लगायतका परिकारहरू समेत उत्पादन गर्ने गरेको राईले जनाएका छन् । तालिम लिएर उक्त परिकारहरू उत्पादन गर्न सुरु गरेका हुन् । उनले अन्यलाई समेत तालिम दिने गरेको बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढेका दोर्ची शेर्पाले यो वर्ष करिब आधाजति नै किवी उत्पादन घटेको बताएका छन् । त्यस्तै मुढेकै एन्टी शेर्पाले पनि यो वर्ष किवीको उत्पादन घटेको बताएका छन् । किवी उत्पादन घट्नका साथै बजार पनि अभाव भएकाले समस्या भएको उनको भनाइ छ । उनले यो वर्ष काठमाडौं कालिमाटी पठाउने तयारी गरिरहेको सुनाएका छन् । कालिमाटीमा प्रतिकेजी एक सय ५० रूपैयाँका दरले दिने तयारी गरेको शेर्पाले जनाएका छन् । ‘यो वर्ष किवी उत्पादन पनि घट्यो, बजार पनि छैन’ उनले भने–‘यो वर्ष चाहिँ कालिमाटीसंग कुरा भइरहेको छ, उतै पठाउने तयार गर्दैछु ।’
दोर्ची शेर्पाले भने हलेसी, सिरहा, हेटौडामा पठाउने बताएका छन् । उनले गाउँमै प्रतिकेजी दुई सय रूपैयाँले विक्री भइरहेको सुनाएका छन् । जिल्ला बाहिरबाट प्रतिकेजी एक सय ५० रूपैयाँले मागिरहेको शेर्पाको भनाइ छ । गाउँ र हलेसीमा बिक्री नहुने अवस्था भयो भने मात्र बाहिर पठाउने योजना बनाएको उनले सुनाएका छन् ।
अन्य पालिकाहरूमा पनि किवीको उत्पादन घटेको किसानहरूले जनाएका छन् । खोटेहाङ गाउँपालिका अध्यक्ष समेत रहेका किवी किसान उदीमबहादुर राईका अनुसार उक्त गाउँपालिकामा पनि किवीको उत्पादन घटेको जनाएका छन् । राईका अनुसार उक्त गाउँपालिकामा करिब १२ मेट्रिकटन किवी उत्पादन भएको छ । उक्त गाउँपालिकाको चिप्रिङ धालाचुङ, सावाकटहरे नागी लगायतका विभिन्न ठाउँमा हेवार्ड ग्रीन, हेवार्ड रेड लगायतका किवी उत्पादन भएको राईले सुनाएका छन् । उनका अनुसार गाउँमै ८०, ९० र १०० रूपैयाँले बिक्री भइरहेको छ । ‘अहिले त गाउँमै ८०, ९०, १०० ले बिक्री भइरहेको छ’–राईले भने ।
जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला, केपिलासगढी, ऐसेलुखर्क गाउँपालिकामा पनि किवीको उत्पादन घटेको छ । तर कति प्रतिशतले घट्यो भन्ने एकीन विवरण आइनसकेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानले बताएका छन् । आर्थिक वर्ष २०८१÷८२ सम्ममा खोटाङमा ७३ हेक्टर क्षेत्रफलमा किवी लगाइएको हो । गत वर्ष खोटाङमा पाँच सय मेट्रिकटन उत्पादन भएको चौहानले बताएका छन् । ‘यो वर्षको विवरण आइसकेको छैन’ चौहानले भने–‘गत वर्ष चाहिँ पाँच सय मेट्रिकटन उत्पादन भएको रहेछ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित