खोटाङ, कात्तिक १६–दिक्तेलमा करिब दुई सय वर्ष अगाडि ब्यापार व्यवसाय सुरु भएको बुढापाकाहरुको भनाइ छ । भक्तपुरबाट १८७२ सालमा अन्तनारायण सैजू, १९१३–१४ सालमा भक्तनारायण बजिमय, त्यसपछि गोपाल जोशी, लक्ष्मीनारायण कसजु र बुद्धिमान श्रेष्ठ दिक्तेल आएपछि ब्यापार सुरु भएको बुढापाकाहरू बताउछन् । खासगरी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको पालामा देशभर खानी उत्खनन् गर्ने क्रममा भोजपुरको खिकानाखा हालको टक्सारमा तामाखानी उत्खनन् गर्न आउने क्रममा अन्तनारायण सैजू दिक्तेल आएका हुन् । अन्तनारायणसंगै उनका छोरा जुजुमान र जुजुमानका छोरा लिलाधर भनिने हर्कबहादुर सैंजू पनि दिक्तेल आएका थिए । यसक्रममा अन्तनारायण र जुजुमान दिक्तेल नबसे पनि हर्कबहादुर भने दिक्तेलमा स्थायी रूपमा ब्यापार गरेर बसेको हर्कबहादुरको छैटौं पुस्ताका नाती फडिन्द्र सैजूको भनाइ छ । यहीबाट दिक्तेलमा ब्यापार व्यावसाय सुरु भएको मानिन्छ । हर्कबहादुरको पाँचौं पुस्तापछिको नाति खलक ८३ वर्षीय गेहकुमार सैंजुका अनुसार भक्तपुरको इटाछेबाट दिक्तेलको दिक्तेल भन्ज्याङ अर्थात अहिलेको शंखधर साख्वा चौकमुनि पोखरीस्कुल नजिक सोल्माली दुवारेले बनाएको पाटी अर्थात अहिलेको गेष्ट हाउसमा आएर खुद्रा पसल सुरु गरेका थिए । उनी नै दिक्तेलको पहिलो ब्यापारी भएको सैजूको भनाइ छ ।
बजिमयले चाहिँ दिक्तेल भन्ज्याङ अर्थात अहिलेको शंखबर साख्वा चौकमुनि पसल चलाएका थिए । यसका साथै भक्तबहादुर बजिमय कानुनवेत्ता पनि थिए । तीन छोराहरू सहित दिक्तेल आएका गोपाल जोशीले अहिलेको दिक्तेल हस्पिटल चौकमा आएर खुद्रा पसल चलाएको चौथो पुस्तापछिका नाति ८३ वर्षीय शिद्धिबहादुर जोशीको भनाइ छ । गोपालले लिएर आएका तीन छोराहरूमध्ये एक जनाको मृत्यु, एक जना सम्पर्क विहीन र एक जना पदमलाल जोशीका सन्तानहरू नै अहिले दिक्तेलका जोशीहरू भएको जोशीले बताएका छन् । २०४८ सालमा कर्मचारी आन्दोलनको बेला शहिद भएका मनोज जोशी पदमलालका चार छोरामध्ये साहिला छोराका नाति हुन् ।
त्यत्तिखेर २०४६ सालको आन्दोलनका क्रममा जागिर गएका कर्मचारीहरूको पुनर्वाहली, कर्मचारीको बृत्ति विकास, महङ्गी नियन्त्रण लगायतका माग सहित कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । त्यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँन विद्यार्थीले निकालेको जुलुसमा प्रहरीले गोली चलाउदा २०४८ साउन १५ गते मनोज जोशीको ज्यान गएको हो ।
श्रेष्ठ र कसजुले पनि पसलै चलाएको बुढापाकाहरूको भनाइ छ । बजिमय, जोशी, श्रेष्ठ, कसजु र सैंजुका सन्ताननै दिक्तेल बजारमा व्यापार गर्ने अघिल्लो पुस्ताका व्यवसायी हुन् । त्यसपछि २०२३ सालतिर राईले समेत पसल सुरु गरेको बुढापाकाहरूको भनाइ छ ।
दिक्तेल बजारमा सदरमुकाम बनेपछि लयालु, उदास लगायत भोजपुरको दावाबाट आएका हुन् । पछिल्लो पुस्तामा क्षेत्री, बाहुन, राई, मधेसी, मगर, भुजेल, दलित लगायतका समुदाय समेत व्यापार व्यवसायमा संलग्न छन् ।
दिक्तेल बजारमा विभिन्न जातजाति समुदायको बसोबास छ । नेवार, राई, बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, मधेसी, गुरुङ, तामाङ, मगर, भुजेल लगायत सबैको बसोबास छ । चाड पर्वमा एक आपसमा सद्भाव र भाइचाराको सम्वन्ध देख्न सकिन्छ । किरातचौक, रत्नपार्क, संगमटोल, मानवअधिकार चौक, बेसक्याम्प, सल्लेरीटोल, भवनगैह्रा, त्रिवेणीचौक, अम्बागाछी, शंखधर शाख्वा चौक, भानुचौक, हाटडाडाँजस्ता टोलले उनिएको माला हो दिक्तेल बजार । पछिल्लो समय हस्पिटलचौक लाइन, अल्छेढुङ्गा–सोल्मा लाइन, बाम्राङ लाइन लगायतका क्षेत्रमा बजार विस्तार हुदै गएको छ ।
२०१८ सालसम्म दिक्तेलमा एउटा चौकी मात्र थियो । तत्कालीन राणा शासन विरोधी आन्दोलनका अगुवा सर्वधन राई, गणेशबहादुर बजिमय, शम्भुसरस्वती श्रेष्ठ, मणिसुन्दर बजिमय, डिल्लीमान बजिमय लगायतले २०१८ सालमा उक्त चौकी कब्जा गरेपछि दिक्तेलमा राजनीतिक माहौल पनि तातिदै गयो । चौकी कब्जा गर्नेहरु पक्राउ परे । केहीलाई छिट्टै छाडियो, केही भने दश वर्षसम्म जेल परे । त्यो बेलाको राजनीतिक आन्दोलनले २०१९ सालको संविधानले देशको पुनर्संरचना भयो । ३३ बाट ७५ जिल्ला र १४ अञ्चल बन्यो । त्यही क्रममा खोटाङ जिल्ला बन्यो र सदरमुकाम दिक्तेल तोकियो । पूर्व ४ नम्बर भोजपुरको प्रशासनिक इकाइ खोटाङबजारको अड्डा दिक्तेलमा सरेको हो । त्यत्तिखेरको ग्राम विकासको नामले चिनिने अड्डा दिक्तेल सरेको सैंजूको भनाइ छ । त्यसपछि २०२१ सालमा अदालत सरेको थियो । त्यत्तिखेरको अदालतले मालपोतको समेत काम गथ्र्यो । यो भन्दाअघि खोटाङको दक्षिणी साप्सुपारिका क्षेत्र पूर्व ४ नम्बर भोजपुर र साप्सुवारीका भू–भागहरु ओखलढुङको प्रशासनिक क्षेत्रमा पथ्र्यो ।
खोटाङ बजारबाट रातारात डोकोमा बोकेर ल्याइएको ग्राम विकास सुरुमा दिक्तेल भन्ज्याङटोलका डिल्लीमान बजिमयको घरमा राखिएको थियो । अदालत भने त्यत्तिखेरको दुवारेको पाटी अर्थात अहिलेको गेष्ट हाउस भएको ठाउँमा राखिएको थियो । कारागार चाहिँ पोखरीस्कुलमाथि राखिएको थियो । त्यसपछि बैदारको पाटी अर्थात न्यायधिसको निवासमा सारिएको थियो । नयाँ कारागार बनेपछि पाटीको कारागार सरेको बुढापाकाहरूको भनाइ छ । त्यत्तिखेरको अदालत, प्रशासन, कारागार लगायतका अड्डाहरू पोखरी लाइनमा थियो । बजारको चहलपहल पनि पोखरी लाइनमै थियो । २०२६ पुस १९ गते दिक्तेल भन्ज्याङ अर्थात हालको शंखधर साख्वाचौक र पोखरी लाइनमा आगलागी भएपछि सरकारी अड्डाहरू अहिलेको प्रशासनिक क्षेत्रमा सर्नुका साथै बजार पनि माथिल्लो क्षेत्रमा विस्तार भएको हो ।
दिक्तेलमा २०२१ सालमा आकाशवाणी स्याटलाइट कार्यालय स्थापना भएको थियो । पछि नेपाल दूरसञ्चार हुदै टेलिकममा परिणत भयो । अहिले सबैको हातमा सूचनाको पहुँच विस्तार भएको छ । यसका साथै करिब दुई दर्जन बढी आम सञ्चारका माध्यमहरू जिल्लामा सञ्चालनमा छन् ।
शिक्षा क्षेत्रलाई हेर्दा सल्लेरी टोलस्थित हालको सरस्वती मावि २००९ सालमा पोखरीमै स्थापना भएको थियो । २०२२–२३ सालतिर सल्लेरी टोलमा नयाँ भवन बनेपछि पोखरीबाट सरेको हो । तर पोखरी स्कुल पढ्ने विद्यार्थी सरस्वती माविमा नआएपछि पोखरीमै स्कुल सञ्चालन गरिएको सैजूको भनाइ छ । यसका साथै २०३७ सालमा स्थापना भएको दिक्तेल बहुमखी क्याम्पस, २०४६ सालमा स्थापना भएको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र २०४८ सालमा दिक्तेल बोर्डिङ स्कुल स्थापना भएपछि दिक्तेल बजार थप गुल्जार बन्दै गएको हो ।
२०३० सालमा राष्ट्रिय वाणिज्य बैंक, २०३३ सालमा कृषि विकास बैंक स्थापना भएपछि थप दिक्तेल बजारको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसका साथै २०२९ सालमा जिल्ला अस्पताल स्थापना भएपछि दिक्तेल बजारको विकासमा सहयोग पुगेको स्थानीयको भनाइ छ । तर अहिले पनि सुविधा सम्पन्न अस्पतालको रूपमा विकास नहुदा उपचारका लागि महंगो मुल्य तिरेर हेलिकोप्टर मार्फत अन्यत्र जानु पर्ने वाध्यता कायमै छ ।
दिक्तेलको माटिकोरेमा २०३०/३१ सालतिर खेल मैदान बनेपछि खेलकुदको गतिविधिले पनि दिक्तेलको विकासमा सहयोग पुगेको जिल्ला खेलकुद विकास समिति खोटाङका पूर्व सचिव तथा खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खुसनारायण सैंजूले बताएका छन् । तर यो खेल मैदान निर्माणमा ५० वर्षभन्दा बढीको अवधिमा करोडौं खर्च गरिए पनि खेलमैदानको अवस्था भने नाजुक छ । दिक्तेलको माटिकोरेमा २०४८ सालमा कवर्ड हल बनेको थियो । त्यसपछि २०७६ सालमा फेरी अर्को नया“ कवर्ड हल बनेपछि खेलकुद गतिविधि बढेको छ । यसले पनि दिक्तेलको विकासमा सहयोग पुगेको सैजूको भनाइ छ ।
२०६२ असार ५ गते तत्कालीन नेकपा माओवादीले प्रशासनिक क्षेत्रका भवनहरु ध्वस्त पारेको थियो । दिक्तेलमा ढुङ्गाले छापेर बनाइएको बाटो र खुड्किलाहरू चाहि सुरक्षाफौजले भत्काएको थियो । खुड्किलाहरूमा माओवादी लुकेर आक्रमण गर्छ भन्ने त्रासमा बेसक्याम्पका तत्कालीन सशस्त्र सुरक्षा फौजले भत्काएको हो । त्यसले बजारको मौलिकता ध्वस्त भइसकेको छ ।
हिउदमा धुलाम्य र वर्षामा हिलाम्य हुने दिक्तेल बजारको सडक अब भने पिच भइसक्न लागेको छ । पुराना घरहरु भत्काएर विस्तारै नयाँ बन्दै छन् । टिनका छाना भएका घरहरु पनि पक्की घरमा परिणत हु“दै छन् । ४०/५० वर्षअघिका घँगरुघारी बजारमा परिणत भएको छ ।
२०६४ सालअघिसम्म दिक्तेलमा सिधा यातायात सुविधा थिएन । त्यतिखेरसम्म ढाकरमा बोकेको माल–सामान किनबेच हुने गथ्र्यो । तराईको गाइघाट, कटारी, बेल्टार लगायतका ठाउँहरूबाट भरिया मार्फत ढाकरमा सामान बोकेर दिक्तेल ल्याइन्थ्यो । हप्तादिन बढीसम्म ढाकरमा बोकेर ल्याएको सामान महङ्गो त हुन्थ्यो नै अझ पुरानो र अखाद्य भइसके पनि कसैले वास्ता गर्दैन थिए । यसरी दशकौं ढाकरले धानेको थियो दिक्तेलबजारको ब्यापार ।
त्यसपछि फेरि खच्चडमार्फत सामान ल्याएर ब्यापार व्यवसाय सञ्चालन गरिएको थियो । २०५५–५६ देखि ६४–६५ सालसम्म झण्डै एक दशक खच्चड मार्फत सामान ल्याएर ब्यापार व्यवसाय सञ्चालन गरिएको थियो ।
२०६४ मङ्सिरमा हेलिकोप्टरमा ल्याइएको गाडी नै जिल्लाको पहिलो हो । त्यत्तिखेर दिक्तेलका ब्यापारीहरुले टाटा कम्पनीको दुई वटा आइचर गाडी र त्यसको चार दिनपछि खोटाङ बहुउद्देश्यीय सहकारी संस्थाले दुई वटा महेन्द्रा कम्पनीको जीप हेलिकोप्टरबाट ल्याएको थियो । आइचर गाडी उदयपुरको गाइघाटबाट मनाङ एअरको हेलिकोप्टरमा चार लाख तिरेर ल्याइएको थियो । सहकारीले खरिद गरेको गाडी चाहिँ नेपाली सेनाको हेलिकोप्टरले ल्याएको सहकारीका सञ्चालक तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको भनाइ छ । उक्त गाडी दिक्तेल–हलेसी र दिक्तेल–लामीडाडाँ सडक खण्डमा सञ्चालन गरिएको थियो । त्यसपछि फेरि एक वर्षपछि २०६५ सालमा दिक्तेलका ब्यापारीहरुले थप दुई वटा बोलेरो जीप हेलिकोप्टरबाटै ल्याएका थिए ।
त्यसपछि भने विस्तारै सडक बन्दै गयो । यातायातका साधनहरू पनि भित्रन थाले । अनि मात्र जिल्ला सदरमुकाम दिक्तेलसंग शहर र ग्रामीण क्षेत्र जोडिएको हो । अहिले मध्यपहाडी लोकमार्ग, दिक्तेल–जालपा–ऐसेलुखर्क, दिक्तेल–जालपा–बाक्सिला, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–खानीडाडाँ–पञ्ममी–खोटाङ बजार–चिसापानी–बाराहापोखरी, दिक्तेल–साकेला लगायतका ग्रामीण भेगसंग यातायात सम्वन्ध जोडिएको छ । २०५१ सालमा सुरु भएको गाइघाट–दिक्तेल सडक भने अझै अपूरै छ । सदरमुकाम नजिकै मनमायाँ राई खानीडाडाँ विमानस्थल चालु छ । यसरी दिक्तेल बजारले विस्तारै काचुली फेर्दै गएको हो ।
बैंक लगायत वित्तीय संस्थाहरूको आगमन पनि बढ्दो छ । तर दिक्तेल बजारको व्यापार व्यवसायमा भने गिरावट आएको व्यवसायीहरूको दुखेसो छ । गणतन्त्रपछिको राज्य पुनर्संरचनाले दिक्तेलको व्यवसाय गाउँ सरेको हो । २०७३ सालपछि विभिन्न ठाउँमा स्थानीय तहहरुको केन्द्र बनेपछि दिक्तेलको व्यवसाय पनि उतै सर्यो । खासगरी २०७४ बैशाखमा स्थानीय तहको चुनावपछि प्रशासनिक काम पनि स्थानीय तहबाटै सुरु भएपछि दिक्तेल सुनसान बन्यो । गाउँलेहरूको सदरमुकाम आउने काम कम हुन थाल्यो, आए पनि यातायात सुविधाले दिक्तेल बस्दैनन् । नबसेपछि दिक्तेलका होटल तथा अन्य व्यवसाय चल्न छाडेको हो । त्यसपछि दिक्तेलको ब्यापार–ब्यावसाय थला पर्दै गएको व्यवसायीहरूको भनाइ छ । यातायात पहुँच बढेपछि दिक्तेलमा एक दर्जनजति बैक र त्यसभन्दा बढी लघुवित्त कम्पनीहरू सञ्चालनमा छन् । विकासप्रतिको सही दृष्टिकोण हुने हो भने दिक्तेल बजारलाई थप विकास गर्न सकिन्छ । तर सही दृष्टिकोणको अभावमा, शंकटमा गुज्रिरहेको छ दिक्तेल बजार ।