तीर्थराज भट्टराई-
हो, म सादा जीवन र सरल स्वभावको छु तर व्यवहारमा जिद्दी मान्छे । समाजका लागि मैले न घर प्रधान ठानेँ न व्यक्तिगत सुखसयलको जीवन नै । मैले सोचें नाङ्गै जन्मिएको र त्यही रूपमा जाने हो अन्तिममा । त्यसैले सामाजिक काममा समर्पित गरें सानै उमेरदेखि आफुलाई । घमण्ड र अभिमानले आफुलाई मात्र होइन समाजलाई पनि विकृत बनाउककछ मैले परिवारबाट सिकेको संस्कार हो यो । हामीले व्यक्तिगत स्वार्थका लागि होईन पर्यावरण र वातावरणको कुरा गर्दा प्रायः सबै जनप्रतिनिधि नाक खुम्च्याउँछन् । तर म भने माझ किरातको व्रामणको छोरो । प्रकृति र संस्कृति पुजक ठान्छु आफूलाई । म यहाँको संगत, उठबस, वातावरण, रगत र पसिनाले नै प्रकृति प्रेमी छु जन्मजात नै ।
हाम्रो नगरपालिका तथा मेरो व्यक्तिगत प्रकृति मैत्री काम गर्ने उद्देश्य अनुसारको लामो अनुरोध र अनुनयलाई संघीय सरकारले लत्याएपछि कठोर र अन्तिम संघर्ष गर्ने निष्कर्षमा पुगें । सत्याग्रहको आन्दोलन स्वरूप आमरण अनशन बस्नु भनेको केवल विचारको अडान हो । प्रतिज्ञा भनेको जीवनभन्दा ठूलो धर्म हो । म यही सोचमा उभिएको थिएँ । देश, वातावरण, बाँस र रैथाने सीपका लागि मैले माइतीघर मण्डलामा आमरण अनशन बस्दा एउटा अडान थियो –“म पछि हट्दिनँ।”
आठ दिनको सत्याग्रहमा सबैबाट भावनात्मक सत्प्रेम र सहयोग मिल्यो। त्यही शक्ति र मेरो उच्च मनोवल भएको कारण सरकार झुक्यो । साउन १८ गते तत्कालिन वन मन्त्री ऐनबहादुर शाही एवम् स्वास्थ्य मन्त्री प्रदीप पौडेलको आग्रह र उपस्थितिमा १६ बुँदे सम्झौता भयो। मैले मन–मनमा अठोट गरें । मैले उठाएका माग पूरा हुन थालेपछि मात्रै दाह्री र कपाल काट्छु भन्ने प्रतिज्ञा थियो । मेरो प्रतिज्ञा समाज र वातावरणप्रति समर्पित थियो । यो माग केवल निजी वा पारिवारिक स्वार्थका लागि थिएन ।
मानिसको जीवनमा कहिलेकाहीँ यस्तो घडी आउँदो रहेछ जहाँ सिद्धान्त र स्नेहबीचको सीमारेखा फिका परÞ्यो । अहिले त्यस्तै क्षण मेरो जीवनमा आएको छ । मैले आमा पद्मकुमारीको अनुहार सम्झिएं । दश महिना पेटमा राखेर मुटुको टुक्रा झैं सजाउनु भएको सम्झिएं । म आज यस क्षणमा दिलमा दिल जोड्दै अपनत्व दिने करूणामयी आमाप्रति कोटीकोटी नमन गर्दछु ।
जिवित हँुदा माताजीको अनुहारमा म आयुका रेखा होइन ममताका चित्र देख्थें । उमेर ढल्किएको कारण उहाँ कमजोर देखिनुहुन्थ्यो तर आँखामा असिम शक्ति देख्थें । शरीरमा तागत थिएन तर आट र हिम्मत तरूण झैं देख्थें । मेरो सामाजिक संघर्ष र नागरिकप्रतिको लगाव देख्दा उहाँ सधैं मुस्कुराएर आशिर्वाद दिनुहुन्थ्यो । तर आमाको त्यो मुस्कानभित्र अनन्त पीडा लुकेको महशुस गर्थें म । जब उहाँ बिरामी भई बिस्तारामा सुतेर मेरो हात समात्नुभयो । त्यतिबेला मैले बुझें–संघर्ष र कर्तव्यको शिखर आमाको काखभन्दा माथि हुन सक्दैन ।
म आज कार्तिक १४ गते माताजीको वर्ष दिने संस्कारको संघारमा उभिएको छु । आजदेखि एकभक्ति सुरू भएको छ । आमाको वर्ष दिनको संस्कारको कठोर प्रतिज्ञा र कर्मले मलाई गहिरो आत्मसंवादमा पु¥याएको छ । अहिले आमाको सम्झना गर्दा मैले महसुस गरेँ –जीवनका सबै आन्दोलनभन्दा ठूलो आन्दोलन भनेको मानवीय करुणा र मातृश्रद्धा हो । त्यसैले मैले मेरो माग सम्वोधन भएपछि मात्र दाह्री र कपाल खौरिने मनमनको प्रतिवद्धता एकपटकलाई रोक्ने निष्कर्षमा पुगें । प्रतिज्ञालाई एक पटक आमाको चरणमा समर्पण गर्दै दाह्री र कपाल मातृ भक्ति र संस्कार पालना गर्दै आमाको पाउमा चढाएं ।
अनशनका दिनमा मैले कार्बन, बाँस, वातावरण र नीतिको कुरा गरेको थिएं र भोलिको दिनमा पनि म निरन्तर आवाज उठाइरहने छु । तर अहिले बुझें –जीवनको पहिलो र अन्तिम नीति भनेको प्रतिज्ञा र स्नेह दुबै हो । संकल्प आमाप्रतिको समर्पण र श्रद्धा हो । म निष्ठा पूर्वक आमाको वात्सल्यरूपि काखमा फर्कें । जहाँ न प्लास्टिकको प्रदूषण छ न त सत्ता–संघर्षको धुलो। त्यहाँ केवल एक शुद्ध स्पर्श छ जसले आत्मालाई न्यानो बनाउँछ । यस कार्यबाट आत्मालाई सन्तुष्टि दिन्छ र भावनात्मक शक्तिलाई युगौंयुगसम्म जोडि रहन्छ ।
आमाको निधनपछि वर्ष दिने संस्कार सुरु हुँदा मैले आफैंलाई रोक्न सकिनँ । म जन्मिएको दोर्पाको घरको आँगनमा पुगेँ, आमाको अनुहार सम्झिएँ । आँशु झरेर मन ढक्क फुल्यो । भक्कानिंदै मुल ढोकाबाट भित्र छिरेर मझेरीमा लमतन्न भएर सुकुलमा सुतें । बुईकल र आँगन सुनसान थियो । गाई–बाख्रा भोकले कराइ रहेका थिए । विचरा, आमाले सन्तानझैं हुर्काएका ती जनवारहरू । यो सोच्दै गर्दा म भावनामा चुर्लुम्मै डुबें ।
मैले आमरण अनशन देश र नागरिकका लागि गरेको थिएँ । बाढी र जलवायुको परिवर्तनको असर रोक्न सरकारलाई सडकबाट चुनौती दिँदै भएको थियो मेरो शान्ति युद्ध । त्यो समयमा देह त्याग गर्नेसम्मको अठोट थियो मेरो । त्यो संघर्ष मेरो अठोट र समर्पणले जित्यो । नैतिक वलका सामु सरकार झुक्यो र सम्झौता भयो १६ बककुदै । त्यो समयको कठोर दृढ निष्चय र प्रतिज्ञा सम्झँदै मैले पुर्खाप्रति टाउको झुकाएँ । आत्मैबाट आमालाई नमन गरेँ । त्यही प्रतिज्ञा र समर्पणको भावमा उद्वेलित भइरहदा मेरा छिमेकी भाइ ओम आचार्यले दाह्री र कपाल छुराले खौरिदिए । कपाल खौरिनु अगाडी भतिज पिकेश भट्टराईले विभिन्न चरणमा फोटो खिचे । खौरिएको मेरो दाह्री र कपाल भूईमा झर्दै गर्दा आँखाबाट आंशु पनि तररर झरे ।
आमाप्रतिको समर्पण र निष्ठामा खौरिएको दाह्री र कपालको भावनात्मक शक्तिले मेरो माग पुरा हुन थप शक्ति प्राप्त भएको अनुभूति गरें । आजदेखि सुरू भएको वार्षिकी संस्कारको तयारी र सहयोगमा आज घर वरिपरिका छिमेकीबाट ठूलो सहयोग भयो । विहानैदेखि मोतिकृष्ण भट्टराई, सीताराम आचार्य, ओम आचार्य, मनिकुमार राई, विज्ञान प्रधान, हेम प्रधान, दधिराम प्रधान, युवराज भट्टराई, धनबहादुर प्रधान, चेतनारायण प्रधान, तुलाराम प्रधान लगायतको कडा मेहनतपछि मन्च र पाल लगाउने काम गरÞ्यौं । हिजोदेखि परेको निरन्तरको वर्षाद्ले धेरै समस्या भयो । तयारी र व्यवस्थापन गर्न धरानबाट आउनुभएको साइली दिदी इन्दिरा, पर्शुराम, कुमारी, कल्पना, सावित्रा, पिकेश, अध्ययन, प्रेशिका र अनुसन्धानको मेहनत प्रशंसनीय थियो ।
जसरी जीवनका अहंकार र दृढताहरू पनि एकछिनका लागि खरानी हुन्छन् । ठूला–ठूला महलहरू पनि पानीको थोपा झैं नष्ट हुन्छन् । त्यस्तै भयो मेरो दाह्री र कपालको अवस्था। कपाल काट्दा मन हलुका भयो । आमाले सधैं भन्नुहुन्थ्यो–“छोरा ! तिमी देशका लागि लड्नु तर परिवारका सदस्यको आँसु सधैं पुच्छ्नु । समाजको सधैं हित हुने काम गर्नु तर सो काम गर्न नसके अहित हुने काम भने कहिल्यै नगर्नु ! ” मैले आज आमाका तिनै वचन पुरा गर्ने कोशिस गरिरहेको छु ।
आमाको वर्ष दिने संस्कार केवल विधि मात्र होइन, जीवनचक्रको पुनःसंस्मरण हो । आमा केवल जन्म दिने महिला मात्र होइन, हाम्रो विचार, कर्म र संवेदनाको मूल ममताको खानी हुनुहुन्थ्यो । म अहिले पनि घर अगाडीको बककासघारी, हर्रे, कोले र असुरेको बाँसको हरियो जंगलमा आमाको अनुहार देख्छु । बाँसजस्तै उहाँ गुणग्राही हुनुहुन्थ्यो । बाँसजस्तै लचिलो र सिधा थियो स्पष्ट विचार पनि । आमाका अभाव र आवश्यकतालाई चैतको हावाले खुव हल्लाउँथ्यो तर आमाको दर्बिलो मनलाई कहिल्यै भाँच्न सक्दैनथ्यो ।
म भगवानसंग आमाको आत्मालाई शान्ति देऊ भन्ने कामना गर्दछु । उहाँको ममताले मलाई फेरि नयाँ बोध दिएको छ । संघर्षले देश बदल्छ भने अग्रजको ममताले मन बदल्छ । पितृ देवताप्रति विश्वास गर्छु । आमाको पाउमा झुकेको शिरले नयाँ संकल्प र अठोटको बीजारोपण गर्नेछ । बाँसको टुप्पोमा पुगेर आमाले चुम्नुभएको हरियो पातलाई सत्प्रेम सम्मान गर्छु । आमाले सिकाउनुभएको दया, विनम्रता र करुणा मेरो सामाजिक आन्दोलनको मर्म र भावनाको सारथी हुनेछ ।
जीवनका उकाली–ओरालीहरूमा मैले जित र हार देखेको छु । तर आज मैले बुझें – साँचो जित भनेको आमाको आत्मालाई शान्ति दिन सक्नु नै ठूलो प्रतिज्ञा र महाव्रत हो । यही अठोट बोकेर आमाको करूणाभाव प्रति शिर झुकाएर दाह्री र कपाल खौरिँदा मैले केवल अनुशासन मात्र पालन गरेको होइन, आत्मा शुद्ध पारेको छु । आमाको स्मरणमा गरेको तपस्या र त्याग मेरो प्रत्येक काम, अभियान र आमाको आशीर्वादसंग जोडिएको हुनेछ ।
बुवा र आमा विनाको टुहुरो भए पनि समाजको हात समातेर म फेरि उठ्नेछु । देश र नागरिकको सेवा गर्न दिनुभएको आशिर्वादलाई निष्ठापूर्वक पूरा गर्नेछु । स्वर्गीय बुवा लक्ष्मीप्रसाद, स्वर्गीय आमा पद्मकुमारी र स्वर्गीय दाजु गुणराजको आशिर्वादले हाम्रो परिवार सधैं समाजमा सम्मानित हुनेछ । आमा, वुवा र दाजुलाई गुमाए पनि परिवार र समाज सेवाका लागि सधैं अग्रपङ्तिमा समर्पित हुनेछु । जीवनका हरेक दुःख सुखका पाइलामा आमा, वुवा र दाजु सहित कुल वंशको आशिर्वाद सधैं साथमा रहने छ । अग्रज मृतकको आत्माप्रति हार्दिक नमन।
१४ कार्तिक २०८२
दोर्पा, चिउरीडाँडा, खोटाङ
(लेखक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख हुन् ।)
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित