दिक्तेलमा प्रथम राष्ट्रिय कोदो दिवस मनाइयो (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन १७, २०८२
  • 557 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १६–दिक्तेलमा साउन १६ गते प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । यस अवसरमा वक्तित्वकला, किसानलाई सम्मान र कोदोको परिकार प्रदर्शनी गरिएको छ ।
कोदोको महत्वको बारेमा वक्तित्वकला अन्तरगत सरस्वती माविकी विपसा खनाल प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रताप खत्री दोश्रो, सितला मावि खाल्लेकी प्रनिषा राई तेश्रो र जालपा मावि जालपाका प्रज्ज्वल खड्का सान्त्वना भएका छन् । उनीहरूमध्ये प्रथम हुनेले दुई हजार पाँच सय, दोश्रो हुनले दुई हजार दुई सय ५०, तेश्रो हुनेले दुई हजार र सान्त्वना हुनेले एक हजार सात सय ५० रूपैया नगद सहित प्रमाणपत्र पाएका छन् ।
त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको बैकल्पिक बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत प्याज खेती, तोरी खेती र माहुरी पालन गर्ने किसानलाई सम्मान गरिएको छ । यसमध्ये ४४ जना प्याज खेती गर्ने किसानलाई तीन लाख ५९ हजार सात सय ७५ रूपैयाँ, १५ जना माहुरीको मह उत्पादन गर्ने किसानलाई दुई लाख ३१ हजार नौ सय र १७ जना तोरी उत्पादन गर्ने किसानलाई ९८ हजार पाँच सय २० रूपैयाँ वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् ।
उक्त कार्यक्रम कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजना गरेको हो । उक्त कार्यक्रमको अवसरमा कोदोबाट बनाइएका विभिन्न परिकारहरू समेत प्रदर्शनी गरिएको थियो । कोदोको केक, पेनकेक, रोटी, मःम, खिर, विस्कुट, कुकिज, तोङ्बा, रक्सी, निम्की लगायतको प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित