‘बिमाको भुक्तानी नभए बिमा स्वास्थ्य सेवा बन्द हुन्छ’ भन्दै पत्राचार

  • प्रकाशित मितिः साउन ९, २०८२
  • 452 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ८–बिमा वापतको रकम भुक्तानी नहुदा औषधी खरिदमा समस्या भएको भन्दै जिल्ला अस्पताल व्यवस्थापन समिति खोटाङले स्वास्थ्य विमा बोर्ड, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । जिल्ला अस्पताल खोटाङलाई बिमा वापतको रकम भुक्तानी नगर्दा, औषधी खरिद गर्न बाधा पुगेको भन्दै साउन ७ गते रकम भुक्तानीका लागि पत्रमार्फत ताकेता गरेको हो ।
बिमा वापतको रकम भुक्तानी नहुदा चालु आर्थिक वर्षका लागि औषधी खरिद गर्न नसक्दा, बिमा कार्यक्रम अन्तरगत स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने भएकाले पत्राचार गरिएको, जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताएका छन् । साउन ६ गते भएको अस्पताल व्यवस्थापन समितिको बैठकले ताकेता गर्ने निर्णय गरेकाले पत्र लेखिएको राईले सुनाएका छन् ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष २०८१/८२ को बिमा वापतको चार करोड २५ लाख ४४ हजार ६ सय ९४ मध्ये ३ करोड ४७ लाख ८५ हजार ६ सय ४९ रूपैयाँ भुक्तानी हुन बाँकी छ । ७७ लाख ५९ हजार ४५ रूपैयाँ भने पेश्की वापत बीमा वोर्डले पठाएको सङ्गौलाले बताएका छन् । भुक्तानी हुन बाँकी रकम उपलब्ध नहुदा चालु आर्थिक वर्षका लागि बिमा वापतको औषधी खरिद गर्न नसक्ने अवस्थामा पुगेको सङ्ग्रौलाको भनाई छ ।
जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समितिले फार्मेसी सञ्चालन गरी सङ्घीय सरकार अन्तरगत वीमा कार्यक्रमबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । यस अन्तरगत दुई सय ६१ प्रकारको औषधी बिमाबाट वितरण गर्ने गरेको सङ्गौलाले सुनाएका छन् । सङ्गौलाका अनुसार अहिले ६० लाख बराबरको औषधी मात्र स्टक छ । यसले करिब दुई–अढाइ महिना मात्र पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित