जिल्ला अस्पताल खोटाङलाई १५ बाट ५० शैयामा स्तरोन्नति (भिडिओ सहित)

  • प्रकाशित मितिः असार २२, २०८२
  • 870 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २२–जिल्ला अस्पताल खोटाङलाई १५ बाट ५० शैयामा स्तरोन्नति गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले असार २२ गते उद्घाटन गरेका हुन् ।
५० शैयाको भवन अलपत्र परे पनि अन्य सेवा सुविधा विस्तार गर्नका लागि उद्घाटन गर्नु परेको मन्त्री राईले बताएका छन् । सेवा विस्तारका लागि बजेट पनि पर्याप्त मात्रामा उपलब्ध गराइएको राईको भनाई छ । औषधी प्रशोधन केन्द्र, उपकरण, औषधी खरिद, जनशक्ति नियुक्ति लगायतका लागि पर्याप्त बजेट व्यवस्था गरिएको मन्त्री राईले जानकारी गराएका छन् । खोटाङको स्वास्थ्य क्षेत्रका लागि १६ करोड बजेट विनियोजन गरिएको राईले सुनाएका हुन् ।
भवन अलपत्र परेपछि सेवा प्रवाहमा भने समस्या छ । विरामीलाई टहरामा राखेर उपचार गर्नु पर्ने वाध्यता छ । २२ करोड ९० लाख ४७ हजार ९२ रूपैंयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि काम नसकिदा सेवा प्रभावित भएको छ । काम नसकिएपछि जिल्ला समन्वय समिति खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले निर्माण सम्बद्ध कम्पनीहरूलाई ताकेता गरेको छ । ताकेतापछि आगामी मङ्सिरभित्र सक्ने गरी कार्यतालिका बुझाएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । उक्त भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको राईले सुनाएका छन् ।
मन्त्री राईले खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला समेत घोषणा गरेका छन् । खोप उमेर समूहका बालबालिकाले १४ प्रकारको विभिन्न खोपको मात्र पूरा गरी पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । खोटाङमा १५ महिना मुनिका दुई हजार पाँच सय ५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका सात हजार पाँच सय ८२ जना बालबालिकालाई खोप पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताएका छन् । यसअवसरमा दश पालिकाका दश महिला स्वास्थ्य स्वयम सेविकालाई १२ हजार रूपैयाँका दरले पुरस्कृत तथा सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित