जन्तेढुङ्गा गाउँपालिकाले बाँझो बारीमा लगाएको आलु खन्न थाल्यो (भिडिओ सहित)

  • प्रकाशित मितिः असार १३, २०८२
  • 660 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–जन्तेढुङ्गा गाउँपालिकाले बाँझो बारीमा लगाएको आलु खन्न थालेको छ । करिब ६० रोपनी बाँझो बारीलाई खनजोत गरी लगाएको आलु उठाउन थालिएको हो ।
गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार उक्त गाउँपालिकाको वडा नं ४ डम्बर्खुशिवालयस्थित गाउँपालिकाको नाममा रहेको ११ रोपनी र अन्य सार्वजनिक जग्गा सहित ६० रोपनी बाँझो बारीलाई खनजोत गरेर लगाएको आलु असार १२ गतेदेखि खन्न थालिएको हो । उनका अनुसार कृषिले सिफारिस गरेको तीन क्वीन्टल र स्थानीय रैथाने सात मुरी आलुको बिउ रोपिएको थियो ।
६० रोपनी जग्गामध्ये १५ रोपनीजतिमा मकै सहित आलु रोपिएको छ भने बाँकी सबै आलु रोपिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताएका छन् । उनका अनुसार आलु खन्न करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । असार १२ गते एकै दिन ३५ केजी जाने २४ बोरा आलु खनिएको छ । आलु खन्न एक साता जति लाग्ने भए पनि कति उत्पादन भयो भन्ने चाहिँ खनिसकेपछि मात्र थाहा हुने खड्काले बताएका छन् । उत्पादित आलु स्थानीयलाई नै विक्री गर्ने योजना बनाइएको खड्काले जनाएका छन् ।
खड्काका अनुसार स्थानीय बजारमा प्रतिकेजी ७० रूपैयाँमा आलु किनबेच हुने गरे पनि गाउँपालिकाले उत्पादन गरेको आलु प्रतिकेजी ६० रूपैयाँलेसम्म बेच्ने सल्लाह भइरहेको छ । तर निर्णय हुन बाँकी छ । मलका लागि करिब तीन लाख खर्च गरेर दुई वटा भैसी पनि खरिद गरिएको छ । दुई मध्ये एउटा वियाउने र एउटा बकेर्नो भैसी मल उत्पादनका लागि गरिद गरिएको खड्काले जनाएका छन् ।
आलु रोपिएको ठाउँमा तिते फापर रोप्ने तयारी गरिएको खड्काको भनाई छ । कृषि उत्पादन, रैथाने बाली प्रबद्र्धन त रैथाने बाली प्रबद्र्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त खेती गरिएको गाउँपालिका अध्यक्ष राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित