दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले प्रस्तुत गरेको २०८२/८३ को नीति तथा कार्यक्रम (भिडिओ सहित)
प्रकाशित मितिः असार ९, २०८२
725 पटक पढिएको
संवादताता
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०८2।0८३ को वार्षिक नीति तथा कार्यक्रम
यस सम्मानित नगर सभामा उपस्थित आदरणीय नगर उपप्रमुखज्यू,
सम्मानित नगरसभाका सदस्यज्यूहरु,
राष्ट्र सेवक कर्मचारीज्यूहरू,
आमन्त्रित राज्यका चौथो अंगपत्रकार साथीहरु,
सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना र अधिकार प्राप्तिका लागि भएका भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने तमाम् वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। त्यसै गरी, सुन्दर सपना बोकेर राष्ट्रको उन्नयनका निम्ति विभिन्न आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा वेपत्ता हुनुभएका तमाम योद्धाहरु तथा योगदान गर्नु हुने महानुभावहरू प्रति शिर झुकाएर सम्मान प्रकट गर्न चाहन्छु।
खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित यो नगरपालिका प्राकृतिक स्रोत, साधन तथा मानवीय संशाधनको हिसाबले जिल्लाकै अग्रणी नगरको रुपमा रहेको छ। हामी निर्वाचित भएपछि नगरको समृद्धि र समुन्नतिका लागि "मेरो नगर-म बनाउँछु, अहिले नबनाए कहिले बनाउने?मैले नबनाए कस्ले बनाउने?" भन्ने दृढता बोकेर सहकार्य गर्दै हामी निरन्तर सक्रिय रहेका छौं।
"नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान" भन्ने मूल उद्देश्य लिएर नगरपालिकाको समग्र भौतिक पूर्वाधार विकासका साथ-साथै सामाजिक, आर्थिक, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा समेत हामी निरन्तर लागि परेका छौं। नगरभित्रका प्राकृतिक श्रोत र साधनको वृहत्तर सदुपयोग गर्दै यहाँका बौद्धिक, सामाजिक, साँस्कृतिक, साहित्यीक एवं उद्यमशील जनशक्तिलाई सम्मानित ढंगबाट स्वत:स्फुर्त रुपमा यो नगरको समृद्धिमा सहभागी गराउन सकियो भने मात्रै समाजवादङा छुमा तेम्माखारुतिम मुमा तेम्मासुङ, चारिकू हमा होसुङरिलुङ दिम पोर्मैमा (समाजवादउन्मुख नगरपालिका निर्माणका आधार,पर्यावरण तथा संस्कृतिमैत्री विकास) भन्ने हाम्रो उद्देश्य प्राप्त हुने कुरामा हामी विश्वस्त छौं।
सम्मानित नगरसभाका सदस्यज्यूहरु,
अव म चालु आ.व.मा भए गरेका प्रमुख कार्यहरू तथा उपलब्धिहरू संक्षेपमा प्रस्तुत गर्न चाहन्छु।
हामी निर्वाचित भएर आए पश्चात् सदरमुकामबाट तराई जोड्ने आहाले-रेग्मीटार सडक र दिक्तेल-पाथेका-खार्मी सडकलाई नगर गौरवको आयोजनाको रूपमा र अल्छेढुङ्गा-नेर्पा-दुम्ली-लामदुवाली, दिक्तेल-डल्लेदोभान-बुईपा-बिजुले सडक, अस्पताल चोक-मियाखोला-दुम्ली, हुर्लुङ-खार्मी, हाटडांडा-देविथान, दिक्तेल बजार ढलान लगायत सडकहरूलार्इ उच्च प्राथमिकतामा राखी काम अघि बढाएको कुरा सर्वविदितै छ। हाम्रो निरन्तरको समन्वय र सक्रियताको परिणाम स्वरुप नगर गौरवको दुई वटै सडकहरूमा आगामी आ.व.मा विभिन्न मन्त्रालय तथा निकायहरूबाट बजेटको सुनिश्चितता भएको व्यहोरा सहर्ष अवगत गराउन चाहन्छु। आहाले-रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने सडकका लागि संघीय शहरी विकास मन्त्रालयबाट रु. 3 करोड, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु. 2 करोड तथा बैंकचोक-शितला मा.वि.-वडा नं. 4-आहाले-रेग्मीटार जोड्ने सडकका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु. 3 करोड रकम विनियोजन भएको छ। दिक्तेल-सोल्मा-पाथेका-खार्तम्छा हुंदै केपिलासगढी जोड्ने सडकका लागि संघीय शहरी विकास मन्त्रालयबाट रु. 3 करोड, दिक्तेल-खार्मी-पाथेका सडक स्तरोन्नतीको लागि संघीय समपूरक अनुदान कार्यक्रम र नगरपालिकाको साझेदारीमा रु. 2 करोड र दिक्तेल-सोल्मा-पाथेका-खार्तम्छा-फेदी सडक स्तरोन्नतीको लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु. 50 लाख बजेट व्यवस्था भएको छ।
त्यसै गरी, हाटडांडा-देविथान, दिक्तेल बजार ढलान, खाल्ले-राजापानी सडकपुल, साप्सुखोला-लामदुवाली सडकपुल, खानीडांडा एयरपोर्ट-चाम्लिङ चोक सडक स्तरोन्नती, बिजुले-बुईपा-बाम्राङ-दिक्तेल सडक, दिक्तेल-अस्पताल चोक-साप्सुखोला सडक, हुर्लुङ-जाल्पा-बाक्सिला सडक, मेवाखोला-दुम्ली-दोबेला सडक स्तरोन्नती, कारागार-निगाले-सिद्देश्वरी आ.वि.-मध्यपहाडी लोकमार्ग सडक स्तरोन्नती, पेलुङ-साप्सुधाप सडक स्तरोन्नती, वडा कार्यालय-साप्सुखोला-लिपे दोभान सडक स्तरोन्नती, पञ्च मा.वि. सडक स्तरोन्नती, खाम्खुवा-सेरा-फलाटे सडक, बैंक चोक-झिसेपु-बाम्राङ सडक, पुरानो बैंक चोक-खानिडांडा सडक, थापागाउं-चिउरीडांडा वडा कार्यालय सडक, नुनथला ग्रामिण कृषि सडक, विभिन्न सामाजिक-सांस्कृतिक भवन निर्माण, खानेपानी, सिंचाई, खेलकुद पूर्वाधार तथा अन्य भौतिक पूर्वाधार निर्माण लगायत केही महत्वपूर्ण र दूरगामी प्रभाव पर्ने योजनाहरु छनौट भर्इ संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। खाल्ले-खानिडांडा, नुनथला सडक स्तरोन्नती, नेर्पा संसारीडांडा-मोहोरिया जोड्ने सडक स्तरोन्नतीमा संघीय सशर्त अनुदान प्राप्त भएको छ। यस प्रति म सम्पूर्ण नगरबासीको तर्फबाट व्यवस्था गर्नु हुने र पहल गर्नुहुने तत् तत् महानुभावहरूलार्इ हार्दिक धन्यवाद दिन चाहन्छु।
सम्बन्धित निकायहरू र निर्माण व्यवसायीहरूसंगको हाम्रो निरन्तरको समन्वय र ताकेताका कारण वर्षौदेखि अलपत्र रहेको महुरे-फोक्सिङटार सडक कालोपत्रे कार्यको सम्बन्धित निकायबाट पुरानो ठेक्का तोडी नयाँ ठेक्का लगाउने काम सम्पन्न भई निर्माण कार्य पुनः सुरु भएको छ। त्यसै गरी, अस्पताल चोक-लफ्याङ-साप्सु सडक खण्ड, हुर्लुङ-जाल्पा सडक, दिक्तेल बजार ढलान, अस्पताल चोक-दोर्पा-दुम्ली सडक लगायतका योजनाहरूको काम धमाधम भईरहेका छन् र कुनै-कुनै योजनाहरूको स्रोत सुनिश्चितता भएको छ, भने मध्य पहाडी लोकमार्ग अन्तर्गत रहेका केही सडक खण्ड तथा पक्की पुलहरू लगायत केहि योजनाहरू निर्माण व्यवसायीको गैह्र जिम्मेवारीपनका कारण सुस्त रुपमा भर्इ रहेका छन् भने केही अझै अलपत्र नै रहेका छन्। तर, हामी नागरिकको शक्ति लिएर निर्माण व्यवसायी र सम्बन्धित निकायहरूमा दबाबहरु दिने कार्यलाई निरन्तरता दिईरहेका छौं।
यस नगरपालिका मुख्य आयोजक भई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र-बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय-कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन- ललितपुरको आयोजना र ह्याबिट्याट फर ह्युमानिटी नेपाल (Habitat for Humanity Nepal) को साझेदारी तथा विभिन्न स्थानीय तहहरू, निकायहरू, संघ-संस्थाहरूको साझेदारी र सहयोगमा मिति 2081 फाल्गुण 15 देखी 17 गतेसम्म दिक्तेलमा ऐतिहासिक प्रथम राष्ट्रिय बाँस सम्मेलन-2081सफलतापूर्वक सम्पन्न भएको थियो। "जहाँबाँसत्यहाँजीवन, जहाँजीवनत्यहाँबाँस" भन्ने मूल नाराका साथ बाँसको संरक्षण, ब्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी प्राकृतिक संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्घि गरी समृद्घ पालिका र राष्ट्र बनाउने मूल उद्देश्यका साथ आयोजित सो सम्मेलनमा बाँसको क्षेत्रमा लामो समय अध्ययन गर्नु भएका विषय विज्ञ, विभिन्न 7 वटा विश्व विद्यालयका प्राध्यापकहरू-विद्यार्थीहरू, बाँसको महत्वलाई बुझ्दै आय आर्जन गरिरहेका उद्यमी, व्यवसायीहरू लगायतका व्यक्तित्वहरूको उपस्थितिमा बाँससंग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरण, उपयोगिता, बाँससंग सम्बन्धित नयाँ प्रविधि लगायतका विषयमा करिब 44 जना विज्ञ तथा अध्येताहरूबाट 23 वटा कार्यपत्र प्रस्तुत गर्दै सोही कार्यपत्रहरूको निचोड अनुसार खोटाङलाई बाँसको राजधानी घोषणा, दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने लगायत विषय समेटी 35 बुँदे "खोटाङघोषणापत्र" जारी गर्दै भव्यतापूर्वक उक्त सम्मेलन सम्पन्न भएको थियो। स्थानीयस्तरमा प्रसस्त पाईने तर सरोकारवालाहरू विशेष गरी सरकारी तवरबाट ध्यान पुग्न नसकेको बहु आयामिक बाँसको उपयोगिता र यसको भावी सम्भावनालाई उजागर गर्ने, बाँस संरक्षण तथा खेती बिस्तारलाई प्राथमिकता दिई वन-वातावरण-पर्यावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, बाँसको उद्यम विकासमा देखिएका नविनतम प्रबिधिहरूको बारेमा प्रचार प्रसार गर्ने देशकै पहिलो नगरपालिका बन्न सफल भएका छौं।
यस नगरपालिकाको आयोजनामा मुन्दुम ट्रेल भ्रमण वर्ष-2025 को अवसरमा मिति 2082 वैशाख 1 र 2 गते नगरपालिकाको हुर्लुङमा रेड पाण्डा तथा थार महोत्सव-2082सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाबाट खटिई गएको जनप्रतिनिधि सहितको स्थलगत अध्ययन टोलीले नगरपालिकाको पाथेका स्थित मेरुङ र कोप्चे सामुदायिक वनको सिमानामा रेडपाण्डा फेला पार्न सफल भई रेड पाण्डा हाम्रो नगरपालिकामा पाइने कुरा सुनिश्चित भएको र सो कुराको राष्ट्रिय मिडियाहरूमा समेत राम्रो प्रचार-प्रसार भएको थियो त्यसै गरी, हाम्रो नगरपालिकाको पाथेका, नेर्पा, चिउरीडांडामा लोपोन्मुख थार पाईने भएकोले जैविक विविधता, लोपोन्मुख वन्यजन्तु र वातावरणको संरक्षण तथा सम्बर्द्धनका साधै जलवायु परिवर्तनको प्रतिकूल असर न्यूनीकरण गर्ने उद्देश्यका साथ सो महोत्सवको आयोजना गरिएको थियो। सो महोत्सवमा हालको मुन्दुम ट्रेललाई विस्तार गरी वृहत मुन्दुम ट्रेल (ग्रेटर मुन्दुम ट्रेल) मा समेत समावेश गर्ने गरी औपचारिक रूपमा यस नगरपालिकाको हुर्लुङ, मुडे, रुपाकोट हुँदै मेरुङमा लगेर ट्रेललाई जोड्ने र सो ट्रेललाई रेड पाण्डा तथा थार ट्रेल नामाकरण गरिएको थियो।
उक्त दुवै कार्यक्रमलाई सभ्य र भव्य तवरले सफल बनाउन आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुने राजनैतिक दल, विभिन्न तह-तप्काका व्यक्तित्वहरू, संघ-संस्था लगायत सम्पूर्ण सरोकारवालाहरूलाई पुनः हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। उक्त दुवै कार्यक्रमबाट हाम्रो नगरपालिका वन, वातावरण र पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा योगदान पुर्याउने स्थानीय तहको रूपमा देश/विदेशमा आफ्नो पहिचान संस्थागत ढंगले स्थापना गर्न सफल रहेको हाम्रो विश्वास रहेको छ।
सोही योगदानको फलस्वरुप नेपाल सरकारद्वारा विश्वव्यापी समस्याहरू जस्तै जलवायु परिवर्तन, दिगो विकास, हिमाल/पर्वतको सुरक्षा एवं संरक्षण, मानव अस्तित्वका साझा चुनौतीहरू लगायत विषयमा छलफल गर्न र समाधान खोज्नका लागि सुरु गरिएको एक बहुपक्षीय उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद मञ्च सगरमाथा संवादमा यस प्रदेशबाट एक मात्र हाम्रो नगरपालिका छनौट भएको साथै, सो सगरमाथा संवादमा देशभरीबाट छनौट भएका 15 वटा स्थानीय तहभित्र हाम्रो नगरपालिका पर्न सफल भएको थियो। २०२५ मे १६ देखि १८ सम्म सम्पन्न भएको सगरमाथा संवाद मञ्चमा नगरपालिकाको तर्फबाट सक्रिय सहभागिता जनाईएको थियो।
प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा रु. 1 करोड 54 लाख बजेट विनियोजन गरी नगरको पर्यटन प्रवर्द्धनको क्षेत्रमा महत्वपूर्ण योजनाको रूपमा रहेको कालिका भगवती र मझुवागढीको सौन्दर्यकरण योजनालाई निरन्तरता दिईएको छ। आगामी वर्षहरूमा समेत प्रदेश सरकारसंगको साझेदारीमा स्वीकृत गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम सो योजनालाई प्राथमिकताका साथ अगाडि बढाईनेछ।
गत वर्षहरूमा नगरपालिकाले खरिद गरेको ब्याक-हो लोडर र रोलरको सही परिचालन गरी नगरपालिकाको महत्वपूर्ण सडकहरूको गुणस्तरीय रूपमा स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईएको छ। उक्त उपकरणहहरूको उच्चतम सदुपयोग गरी धेरै भन्दा धेरै सडकहरूको स्तरोन्नती गर्ने कार्यलाई थप व्यवस्थित गरिने छ।
यस नगरपालिकाको वडा नं. 6, नेर्पाको तालखर्कमा रहेको फलफूल प्रशोधन केन्द्र र वडा नं. 1, दिक्तेलको हाटडांडामा रहेको कृषि बजारलाई निकट भविष्यमा नै व्यवस्थित रूपमा संचालन गर्ने लक्ष्य लिईएको छ।
विगतमा बनेका कम्पोष्ट प्लान्ट, रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क लगायत संरचनाहरूलाई व्यवस्थित गर्दै लैजाने लक्ष्य लिईएको छ।
सानो-सानो कामका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सुरुवात गरिएको श्रमदान अभियानलाई आगामी दिनमा धेरैभन्दा धेरै योजनाहरूमा श्रमदानलाई अझ परिष्कृत गर्दै स्थानीयहरूको समेत सहभागिता रहने गरी निरन्तरता दिईनेछ।
सम्मानित नगर सभाका सदस्यज्यूहरु,
बाल विकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीहरूको सेवा सुविधामा नगरपालिकाको तर्फबाट आवश्यक थप रकमको लागत सहभागितालाई निरन्तरता दिईएको साथै सबै शिक्षकहरूको तलब भत्ता मासिक रूपमा निकासा गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाबाट गठित “शैक्षिक सुधार कार्यदल” ले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक अवस्थाको स्थलगत वस्तुस्थिति अध्ययन गरी आफ्नो अन्तिम प्रतिवेदन पेश गरेको छ। सो शैक्षिक सुधार कार्यदलले दिएको सुझाव अनुरुप शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र उत्पादनमुखी बनाउने लगायत केही प्राथमिकतामा परेका कार्यको थालनी गरिएको छ भने सो कार्यदलको महत्वपूर्ण सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ। नगरपालिकाको शिक्षा क्षेत्रको समग्र सुधार गर्ने लक्ष्य लिईएको छ।
प्रत्येक मंगलबार व्यवहारिक तथा जीवन उपयोगी शिक्षा सबै विद्यालयमा लागू गरिएको छ। विद्यालय खुल्ने हरेक शुक्रबार सबै विद्यालयमा विद्यालय सरसफाई र विभिन्न किसिमका फूलका विरूवा रोप्ने कामको थालनी गरिएको छ।
कक्षा 1-5 का लागि स्थानीय पाठ्यक्रमलाई समान भौगोलिक तथा सांस्कृतिक क्षेत्रलाई मध्यनजर गरी 8 वटा क्लस्टरमा विभाजन गरी क्लस्टर अनुरुप परिमार्जनको कार्य सम्पन्न गरी लागू गरिएको छ।
नगरपालिकाको सबै विषय, भूगोल, दुर्लभ रेडपाण्डा लगायतका विषयवस्तु समावेश गरी कक्षा 6-8 को स्थानीय पाठ्यक्रम तयार गरिएको छ।
नगर प्रमुखसंग विद्यार्थी कार्यक्रम अन्तर्गत प्रथम राष्ट्रिय बाँस सम्मेलन तथा लोपोन्मुख रेडपाण्डा संरक्षण सम्बन्धी विषय समेटेर विद्यालयस्तरीय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ। जसमा विभिन्न विद्यालयका 72 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
आधारभूत तह कक्षा ८ को परीक्षालाई नगर स्तरीय परीक्षाको रूपमा सञ्चालन गरी निरन्तरता दिईएको साथै परीक्षामा एकरुपता ल्याउन परीक्षणका रुपमा केहि वडामा कक्षा ५ को वार्षिक परीक्षालाई वडा स्तरीय परीक्षाको रुपमा सञ्चालनमा ल्याइएको छ।
अस्ट्रेलियन चित्रकार एवं स्वयंसेवक शिक्षक रे मार्स्डेनसंग सहकार्य गरी विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई चित्रकला सम्बन्धी नियमित प्रयोगात्मक अभ्यास संचालन गरिएको थियो।
विद्यार्थीको कार्यभार-बेकारबाट आविष्कार भन्ने नाराका साथ प्लाष्टिकजन्य फालिएका बोतलबाट विभिन्न आकर्षक सजावटका सामानहरू लगायत सामग्रीहरू निर्माण गर्ने सम्बन्धी आधारभूत तालिम संचालन गरी विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा जोड्ने प्रयत्न गरिएको छ।
सबै सामुदायिक विद्यालयका कक्षा 1-3 का विद्यार्थीहरूको क्षमता विकासका लागि स्व-अध्ययन सामग्री वितरण गरिएको छ।
पढाई संगसंगै खेलकुदको विकास तथा शारिरीक तन्दुरुस्तिका लागि अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यतापूर्वक सम्पन्न गरिएको छ।
नमुना विद्यालयको स्वीकृत गुरुयोजना बमोजिमको भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरू धमाधम भईरहेका छन्।
विद्यालय शैक्षिक सूचना व्यवस्थापन प्रणाली IEMIS तथा विद्यालय लेखा व्यवस्थापन सम्बन्धी सबै विद्यालयहरूका लागि कार्यशाला सम्पन्न गरिएका छन्।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि प्रयासहरू भएका छन्।
चालु आ.व.मा स्वास्थ्य चौकी खार्मी, नुनथला र बाम्राङको भवन निर्माणका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुल रु. 1 करोड 14 लाख बजेट प्राप्त भई उक्त 3 वटा स्वास्थ्य चौकी भवनहरू निर्माणको अन्तिम चरणमा रहेका छन्।
बढ्दो नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाहरु साथै शुक्रबार हटबजारको अवसर पारेर पञ्चरेदोबाटो र शनिबार दिक्तेलको हाटडाँडामा उच्च रक्तचाप, मधुमेह, दम, पाठेघरको मुखको तथा स्तन क्यान्सर र मिर्गौलाको लागि निःशुल्क स्कृनिङ कार्यक्रम सम्पन्न गरिएको छ।
संघीय सरकारसंगको समन्वय तथा साझेदारिमा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि विद्यालय जाने कक्षा ६ देखि १० का सम्पुर्ण किशोरी र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सम्पूर्ण किशोरिहरूलाई एचपीभि (HPV) खोप अभियान मार्फत् खोप प्रदान भएको साथै नियमित खोपमा एचपीभि (HPV) खोप शरुवात भएको छ।
स्वास्थ्य निर्देशनालय धनकुटा तथा स्वास्थ्य कार्याल खोटाङसंगको समन्वयमा बुईपा र दोर्पा चिउरिडांडामा खोटाङ जिल्लामा नै पहिलोपटक ए.आई. (AI) जडित एक्स-रे (X-Ray) मेसिनको प्रयोग गरी क्षयरोगको निःशुल्क बृहत घुम्ती स्वास्थ्य शिविर संचालन गरी करिव ४०० जनालाई सेवा दिईएको थियो भने सो शिविरबाट ४ जना नयाँ क्षयरोगी पत्ता लगाई उपचार सुरुवात गरिएको छ।
नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरणको वर्ष भरी अभाव नहुने गरी सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
महिलाहरूको पाठेघरको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्याउन विभिन्न वडाहरुमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन भएकोमा उक्त शिविरमा अपरेसन गर्नु पर्ने भनी पहिचान भएका 17 जनालाई बनेपा स्थित शीर मेमोरीयल अस्पतालसंग सहकार्य गरी निजहरूको निःशुल्क शल्यक्रिया सफल भएको छ।
नेपाल नेत्र ज्योती संघ, खोटाङसंगको सहकार्यमा नेत्र उपचार केन्द्र, दिक्तेलमा बृहत तीन दिने आँखा जाँच तथा अपरेशन शिविर सञ्चालन गरी जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको सथै आँखा सम्बन्धी समस्या भएका मानिसहरुकालागि आँखा जाँच तथा अपरेशन कार्यक्रमलाई प्रभावकारी तरिकाले सम्पन्न गरिएको छ।
नगर भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजात शिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अवस्थामा सो को लागि एकतर्फी यातायात खर्च उपलब्ध गराउँदै आईएको छ।
समुदायमा मानसिक रोगको बड्दो भार न्युनीकरण गर्न महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मानसिक रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगरका विभिन्न वडाहरुमा सम्पन्न गरिएको छ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरूको पेशागत दक्षता वृद्धि र सुरक्षामा जोड दिँदै महिला स्वास्थ्य स्वयं सेविकालाई संघीय सरकारवाट प्रदान हुँदै आएको रकममा नगरपालिकाले समेत सोही बराबर रकम थप गरी प्रोत्साहन रकम प्रदान गरिंदै आईएको छ।
जटिलता रहित प्रसुती सेवाका लागि नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट मासिक ग्रामिण घुम्ती भिडियो एक्सरे सेवालाई नियमितरुपमा संचालन गरिएको छ।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारीरूपमा संचालन गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड अबलम्बन गरी निरन्तर फलोअफ भईरहेकोमा न्यूनतम सेवा मापदण्ड सुधारका लागि कार्ययोजना बनाई कार्यान्वयनमा लाईएको छ।
नगरभित्रका गर्भवती तथा प्रसुती भएका महिलाहरूलाई निःशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई निरन्तररूपमा संचालन गरिएको छ।
लक्षित बर्ग महिला, बालबालिका, ज्येष्ठनागरिक, दलित, जनजाति, सिमान्तकृत तथा लैङ्गिक समानता समावेशीकरणलाई मध्यनजर गरी सशक्तीकरण, नेतृत्व विकास, बालविवाह न्यूनीकरण, छुवाछुत न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण साथै दिवसीय कार्यक्रम सहित सचेतनामूलक कार्यक्रमहरू संचालन गरिएको छ।
प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरू लक्षित स्वास्थ्य, शिक्षा, जिविकोपार्जनमा सुधार, पहुँच वृद्धि, सशक्तीकरण, क्षमता अभिवृद्धि, पुनःस्थापना लगायत विविध गतिविधिहरू निरन्तर संचालन गरिएको छ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को लगानीमा दिक्तेल हाटडाँडामा सुविधासम्पन्न कृषि तथा पशुपंछी सेवा केन्द्रको भवन निर्माण सम्पन्न भई सो भवन नगरपालिकालाई हस्तान्तरण भए पश्चात सो सेवा केन्द्रबाट कृषक तथा सेवाग्राहीहरूका लागि सेवा प्रवाह अगाडि बढाईएको छ।
बांदरको क्षति न्यूनीकरणका लागि बैकल्पिक बालिलार्इ प्रोत्साहनका लागि तोरी, प्याज र सुन्तला जात फलफूल खेति प्रवर्द्धन गरिएको छ।
कफी खेतिको क्षेत्रविस्तारका लागि कफी खेती विस्तार तथा कफी वेर्ना उत्पादन कार्यक्रम संचालन गरिएको छ।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरी प्याज, तोरी र मह बालीमा ७२ जना कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराईएको छ। आगामी दिनमा समेत यस कार्यक्रमलाई निरन्तरता दिईनेछ।
कृषि र पशु वीमामा संघीय सरकारले दिँदै आएको वीमाको प्रिमियमको अनुदानमा थप गरी ९० प्रतिशत अनुदानको व्यवस्थालाई निरन्तरता दिईएको छ।
वेमौसमी तरकारी खेती, मकैको वीउ उत्पादन, केरा खेतीको क्षेत्र विस्तारको कार्यक्रम संचालन गरिएको छ।
रैथाने बाली प्रवर्द्धनका लागि रैथाने बालीको परिकार (विस्कुट) तयारी तथा बिक्रीका लागि साना उद्योग स्थापना गरिएको छ।
स्थानीय उत्पादनको वजारीकरण सहयोगका लागि ढुवानीमा अनुदान कार्यक्रम संचालन गरिएको छ।
दुधमा नगरपालिकालार्इ आत्मनिर्भर बनाउने उदेश्यले गार्इ/भैसी पकेट कार्यक्रम संचालन गरिएको छ।
कृत्रिम गर्भाधान सेवालाई निरन्तर संचालन गरिएको छ।
गाई तथा भैंसी प्रवर्द्धन कार्यक्रम संचालन गरी उन्नत नश्लका भैंसी पालन कार्यलाई प्रोत्साहन गरिएको छ।
मासु प्रवर्द्धनका लागि पाडा पाडी प्रवर्द्धन कार्यक्रम संचलान गरिएको छ।
मानिसमा कुकुरको टोकाईबाट हुने रेबिजको संक्रमणलाई शून्यमा झार्नका निमित्त नगरपालिकाको 15 वटै वडामा सामुदायिक तथा घरपालुवा कुकुर तथा बिरालाहरूमा रेबिज रोग विरुद्धको खोप अभियान संचालन गरिएको छ।
लम्पि, खोरेत, पि.पि.आर. लगायतका विषाणुजन्य रोगहरूका विरुद्ध सबै वडाहरूमा खोप अभियान संचालन गरिएको छ।
हाम्रो निरन्तरको पहलबाट बहुवर्षीय क्रमागत योजनामा पर्न सफल भई बुईपा-पञ्चदोबाटो-विजयखर्क-ढकालवेसी हुँदै खानिडांडा जाने बाटोको काम निरन्तर भईरहेको छ।
प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा बुईपाको पञ्चदोबाटोमा करिब 110 फिटको प्रथम किरांती राजा यलम्बर हाङको प्रतिमा सहितको यलम्बर पार्कको निर्माण कार्य सम्पन्न भएको छ।
संघ तथा प्रदेश सरकारहरूसंगको साझेदारीमा नेर्पाको साकेला पार्क लगायत पर्यटन प्रवर्द्धनसंग सम्बन्धित निर्माण कार्यहरू धमाधम भईरहेका छन्।
संघीय समपूरक अनुदान कार्यक्रम अन्तर्गत संघ सरकार र नगरपालिकाको करिब रु 1 करोडको साझेदारीमा दिक्तेल-पाथेका-केपिलासगढी सडकको सोल्मा देखी हरेलोडांडासम्मको विभिन्न खण्डमा सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ।
संघीय सशर्त अनुदान मार्फत् अस्पताल चोकदेखी दोर्पा-दुम्ली जाने सडकको करिब 130 मिटर सडक खण्ड ढलान, लोकसेवा आयोगदेखि जिल्ला प्रशासन कार्यालयतर्फ करिब 70 मिटर सडक खण्ड ढलान, वडा नं. 5 डांडाबारी पुराना गाउँ भदौरे फड्कने देउराली हुँदै तावा दोभान सडक स्तरोन्नती सम्पन्न गरिएको छ भने कर कार्यालय गेट देखि खाल्ले जाने सडक स्तरोन्नती निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
उपभोक्ता समितिबाट संचालन हुने योजनाहरूलाई व्यवस्थित गरी सबै योजनाहरूको सम्झौता देखि फरफारकसम्म एकरुपता कायम गर्ने, योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने र उपभोक्ता समितिलाई योजनासंग सम्बन्धित काममा सहजीकरण गर्ने उद्देश्यका साथ “योजना कार्यान्वयन पुस्तिका” लाई थप परिस्कृत गरी लागू गरिएको छ।
स्थानीयस्तरमा प्रशस्त उपलब्ध हुने बाँसबाट फर्निचर लगायत बाँसका विभिन्न किसिमका सामग्रीहरू निर्माण, उत्पादन, प्रवर्द्धन तथा स्थानीयबासीहरूलाई रोजगार वा स्व-रोजगार बनाई जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ चाँगुनारायण फाउण्डेसन, भक्तपुरसंगको साझेदारीमा पहिलो चरणमा 3 महिना अवधिको बाँसबाट सामग्री निर्माण गर्ने (Bamboo Art and Craft)आधारभूत तालिम सम्पन्न गरिएको छ भने त्यस्तो आधारभूत तालिम लिईसकेका व्यक्तिहरूका लागि अनुभवी प्रशिक्षकहरूबाट 2 महिना अवधिको बाँसबाट सामग्री निर्माण गर्ने (Bamboo Art and Craft)एडभान्स्ड तालिम समेत सम्पन्न गरिएको छ।
विभिन्न निकायहरू तथा संघ-संस्थासंगको समन्वय र साझेदारीमा रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बन्न सहयोग पुग्ने किसिमका कृषि, घरेलु तथा साना उद्यमसंग सम्बन्धित मौरीपालन लगायत विभिन्न विषयहरूका तालिम कार्यक्रमहरू संचालन गरिएका छन्। रोजगारी प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिईनेछ।
नगरको आन्तरिक राजश्व वृद्धिका लागि व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी अभियान सबै वडाहरूमा सफलतापूर्वक संचालन गरिएको छ। आन्तरिक राजश्व वृद्धि गर्नका लागि नगर प्रहरी परिचालन गरिएको छ। विगत वर्षहरूको तुलनामा सबै शिर्षकका राजश्वमा सुधार भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगर भित्रका सडक मर्मत लगायत आयोजनाहरूमा 94 जना विपन्न बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरिएको छ।
यूवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत रोजगारीमा खटिने ४० जना श्रमिकहरुलाई ४० दिनको कार्यस्थलमा आधारित सडक मर्मत तथा सम्भार विषयक सीप विकास तालिम तथा १० दिने जीवनोपयोगी सीप तालिम प्रदान गरिएको छ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिका लागि व्यक्तिगत श्रम स्वीकृति एवं पुन: श्रम स्वीकृतिको अनलाईन आवेदन प्रक्रियामा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिंदै चालु आ.व. मा करिव १०० जना व्यक्तिहरूलाई यो सेवा प्रदान गरिएको छ।
आगलागिजन्य, मनसुनजन्य लगायतका विपद्मा उद्वार, राहत लगायत कार्यहरूमा विपद् व्यवस्थापन कोष मार्फत् निरन्तर सहायता प्रदान गरिएको छ।
संविधान र स्थानीय सरकार संचालन ऐनद्वारा प्रदत्त अधिकार अनुसार हालसम्म करीव 90 वटा स्थानीय कानूनहरू निर्माण गरी लागू गरिएका छन्।
न्यायिक समितिबाट नियमित रुपमा न्याय सम्पादनका कार्यहरु भईरहेका छन्।
सबै वडाबाट 2 जनाका दरले मेलमिलापकर्ता उत्पादन सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०80/८1 मा यस नगरपालिकाको बेरुजु 1.24 प्रतिशत कायम भएको छ, जुन यस अगाडिका आर्थिक वर्षहरूको भन्दा सुधार भएको छ।
हिउँदे नगर सभाबाट संस्था दर्ता तथा नवीकरण सम्बन्धी ऐन स्वीकृत गरी कार्यान्वयनमा आएको छ। सोही ऐन बमोजिम विभिन्न संस्थाहरू नगरपालिकामा दर्ता गर्ने कार्य अगाडि बढेको छ।
नगरवासीहरूको सहजताका लागि कृषि, भेटेनरी र ईञ्जिनियरिङ सेवाका प्राविधिकलाई वडा–वडामा खटाई सेवा प्रवाह गरिएको छ।
“स्वदेशमै रोजगारी गरौ,वैदेशिक रोजगारीमा जानु नै पर्ने भए सहि सूचना र सीप तालिम लिएर मात्र जाऔ” भन्ने मुल सन्देशका साथ वैदेशिक रोजगारीका क्षेत्रमा सूचना सन्देश, कल्याणकारी कामहरु, न्यायमा पहुँच, वित्तीय साक्षारता, मनोसामाजिक परामर्श सेवा लगायत कार्यहरू सुरक्षित आप्रवासन सामी कार्यक्रम मार्फत् निरन्तर भईरहेका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र तिनका परिवारका सदस्यहरूलाई नगरभित्रै सामाजिक, सांस्कृतिक एवं आर्थिक रूपमा सकृय सहभागी गराई पुनःस्थापित गराउने कार्य रेमी परियोजना मार्फत् निरन्तर भईरहेको छ।
"शासक होइन सेवक बनौं, स्वावलम्बी र पारदर्शी भई समृद्ध बनौं" भन्ने हाम्रो मूल उद्देश्यलाई आत्मसात गर्दै नगरमा हुने फजुल खर्चलाई न्यूनीकरण गर्ने कार्यलाई निरन्तरता दिईएको छ।
विभिन्न निकायहरूबाट विगतमा ठेक्का भई नगरभित्रका विभिन्न स्थानहरूमा अलपत्र पारिएका पूर्वाधार निर्माणका कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्न निर्माण व्यवसायीहरू तथा सम्बन्धित निकायहरूलाई पटक-पटक दबाब दिने हाम्रो निरन्तरको प्रयास स्वरुप केही महत्वपूर्ण योजनाहरू सम्पन्न भएका छन् भने केही योजनाहरूको ठेक्का तोडिई पुनः ठेक्का लाग्ने काम भएको छ। बाँकी रहेका केही पूर्वाधार निर्माणका कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्न निर्माण व्यवसायीहरू तथा सम्बन्धित निकायहरूलाई पटक-पटक दबाब दिने काम हाम्रो तर्फबाट भईरहेको छ।
माननीय सांसदहरु, राजनैतिक दल, विभिन्न संघीय तथा प्रादेशिक कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसंग छलफल, संवाद, परामर्श, समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
संघ र प्रदेशसंग नदोहोरिने गरी तथा संघ र प्रदेशका कार्यक्रमको परिपुरक हुने गरी योजना तथा कार्यक्रमहरू तर्जुमा तथा संचालन गर्ने नीति लिईएको छ।
सम्मान्नित नगर सभाका सदस्यज्यूहरुः–
आ.व.2081।082 को नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा परेको मुन्दुम चित्रकला संग्रहालय निर्माण योजनाका लागि नगरपालिकाको अथक प्रयासका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयबाट आ.व.2082।083 मा पर्यटन विभागबाट योजना संचालन हुने गरी रु. 3 करोड बजेट व्यवस्थापन भएको अवगत गराउन चाहन्छु। सो विनियोजित बजेटबाट उचित स्थानमा जग्गा व्यवस्थापन गरी प्राकृतिक सामग्रीहरूको प्रयोग गरेर पर्यावरणीययुक्त पुरातात्विक मुन्दुम चित्रकला संग्रहालय भवन निर्माण गरिनेछ।
नगरपालिकाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको प्रथम राष्ट्रिय बाँस सम्मेलन-2081 र रेड पाण्डा तथा थार महोत्सव-2082 बाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै आगामी दिनमा नगरपालिकाले वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिईनेछ।
वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरणको क्षेत्र तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने, कोशी प्रदेशले 2082 साललाई प्रदेश पर्यटन वर्ष मनाउन गईरहेको सन्दर्भमा प्रदेशको सो योजनालाई सफल बनाउन पर्यापर्यटनमा टेवा पुर्याउने उद्देश्य राखी यस क्षेत्रमा काम गरिरहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय सबै निकायसंग समन्वय र सहकार्य गरेर "जैविक विविधता: रेडपाण्डा र थार - संरक्षण संवर्द्धन, समृद्धिको आधार" ("Biodiversity – Red Panda and Tahr: Guard them, Grow together") भन्ने मुल नाराका साथ 2082 पौष 15,16 र 17 गते बायो-रेथा अन्तर्राष्ट्रिय सम्मेलन-2025 (रेड पाण्डा-थार-हिमालयन जैविक विविधता) आयोजना गरिनेछ।
प्रथम राष्ट्रिय बाँस सम्मेलन-2081 बाट संघ, प्रदेश र स्थानीय सरकार गरी तीनै तहको सरकार तथा नीजी क्षेत्र लगायत सरोकारवाला सबैबाट सर्वसम्मत सहमती भई बाँसजन्य वस्तुको उत्पादन, प्रवर्धन, आयआर्जन लगायतका विभिन्न विषय समेटी जारी गरिएको 35 बुँदे घोषणापत्रको कार्यान्वयनका लागि नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने कार्यलाई उच्च प्राथमिकता दिई योजना तथा कार्यक्रम अगाडि बढाईनेछ भने सम्बन्धित सरकार तथा सरोकारवाला निकाय, संघ-संस्थाहरूलाई पनि घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराईनेछ।
अब उप्रान्त नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा फर्निचर खरिद गर्दा स्थानीयस्तरमा पाईने कच्चा पदार्थबाट बनाईएको फर्निचर मात्र खरिद गरी प्रयोग गर्ने नीति लिईनेछ।
नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा न्यून प्लाष्टिक प्रयोग क्षेत्र बनाउने लक्ष्य सहित वातावरणीय प्रदुषण नियन्त्रण गर्दै लैजाने नीति लिईनेछ। आगामी आ.व.को सुरुवात देखि नगरपालिकाको कार्यालयभित्र पानीजन्य बोतल तथा अनावश्यक प्लाष्टिकजन्य सामग्री प्रयोग गरिने छैन।
बाँस लगायत स्थानीय कच्चा पदार्थको प्रयोगका लागि सरकारी दररेट तथा नर्म्सहरू नबन्दा सार्वजनिक कोषहरूबाट निर्माण हुने संरचनाहरूमा बाँस लगायत स्थानीय कच्चा पदार्थको प्रयोग हुन नसकेको हुँदा सम्बन्धित मन्त्रालय तथा निकायहरूबाट त्यस्ता कच्चा पदार्थको लागि नीति, दररेट तथा नर्म्सहरू बनाउनका लागि भद्रअवज्ञा आन्दोलन गरी स्थानीय स्रोत र सामग्रीको प्रयोगलाई देशव्यापी बनाउन जोड दिईनेछ। बाँसबाट निर्मित कुर्सीहरू देशका उच्च पदस्थ व्यक्तित्वहरूलाई उपहार दिएर घरेलु र स्थानीय कच्चा पदार्थको प्रयोगलाई बढाउन नगरपालिकाको तर्फबाट राष्ट्रिय स्तरमा दबाव बढाईने नीति रहेको छ।
अहिलेको नयाँ प्रविधि र युगको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न विश्व विद्यालय, कलेज, नीजि क्षेत्र, संघ-संस्थासंग सहकार्य गरेर "प्रविधिको उपयोग र ज्ञान-नगरको शान- विद्यार्थीको सम्मान" भन्ने नाराका साथ शिक्षालाई ए.आई. प्रविधिसंग जोड्ने प्रयास गरिनेछ। विभिन्न सरकारी तथा गैर सरकारीसंस्थाहरूसंग सहकार्य गरेर विद्यार्थीलाई पर्यावरणीय ज्ञान, सीप प्रदान गर्ने कार्यक्रमहरू संचालन गरिनेछ।
विभिन्न विश्व विद्यालय, संघ-संस्थाहरूसंग सहकार्य गरेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, वन-वातावरण सम्बन्धी सृजनात्मक गतिविधिहरू अगाडि बढाईनेछ।
"स्थानीय वातावरण मैत्री सामग्रीको प्रयोग गरौं-प्रकृति, सम्पदा र संस्कृतिको संरक्षण गरौं" भन्ने उद्देश्यका साथ परम्परागत सीपको संरक्षण हुने, स्थानीय रोजगारीको सिर्जना हुने, प्लाष्टिकजन्य सामग्रीको न्यूनीकरणमा सहयोग पुग्ने र प्लास्टिकजन्य वस्तुको विकल्प स्वरूप स्वच्छ, प्राकृतिक भाँडाको प्रवर्द्धनार्थ "पर्यावरण" र "माटो" लाई जोड्दै स्वास्थ्यमैत्री, वातावरण अनुकूल र दिगो विकासमा आधारित माटोको भाँडा उत्पादन कार्यक्रमलाई अगाडि बढाईनेछ।
जलवायु परिवर्तनको कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि वर्षादको पानीलाई संकलन तथा पुनर्भरण कार्यक्रम अगाडि बढाईनेछ।
घरेलु मदिराको उत्पादनलाई व्यबस्थित गर्न दर्ता, ब्राण्डिङ र बिक्री वितरणका लागि यसै आ.व.बाट आवश्यक कानून बनाई लागू गरिने छ।
बाँस तथा काठका हस्तकला, स्थानीय रुपमा पाईने कोदोको रक्सी, गाँजा उद्योग सञ्चालन गर्न प्रयास गरी स्थानीयहरूको आय आर्जनको पहल कदमी गरिनेछ। यसका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट तथा कानून निर्माणका लागि असार मसान्त पछाडी काठमाडौंको माइतीघर मण्डलामा नगर प्रमुखको नेतृत्वमा विभिन्न प्रकारका रचनात्मक तथा भद्र अवज्ञा आन्दोलनका कार्यक्रम गरिनेछ।
उद्योग वाणिज्य संघ, होटल एशोसिएशन आदिको समन्वय तथा सहकार्यमा नगरको आन्तरिक आयश्रोत वृद्धि गर्न ठोस कार्यक्रमहरू अगाडि बढाईनेछ।
नागरिकको स्वास्थ्यलाई हानी गर्ने जंकफुड र अन्य बोतलमा भएको पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) लाई निरुत्साहित गरिनेछ। नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा आउने पेय पदार्थहरु आयात गर्ने व्यक्ति वा पसललाई खाली सिसाहरुको व्यवस्थापन स्वयं व्यक्ति वा पसलले नै गर्नुपर्ने गरी जिम्मेवार बनाईनेछ, व्यवस्थापन नगर्ने व्यक्ति वा पसललाई दण्डित र प्रतिबन्धित गरिनेछ। कोल्ड ड्रिङ्क्सको विकल्पमा स्थानीस्तरमा उत्पादित पेय पदार्थहरूलाई प्रोत्साहित लगाईनेछ। "प्लाष्टिक र आयातित सामग्रीको प्रयोग कम गरौं-विश्व जलवायु परिवर्तनको असर न्यूनीकरण गरौं" भन्ने नीति लिईनेछ।
दिक्तेल बजारको मुख्य केन्द्र रत्नपार्कदेखि हाटडाँडासम्म घर अगाडिको बरण्डाले यातायात सञ्चालनमा बाधा पुगेको, बजार क्षेत्र कुरुप देखिएको, मक्किएको काठले दुर्घटना हुने सम्भावना भएको हुँदा त्यस्ता संरचना हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरिनेछ। खोटाङ उद्योग वाणिज्य संघ, टोल विकास समिति, स्थानीय राजनीतिक दलसँग समन्वय गर्दै त्यस्ता संरचनालाई हटाई सफा र सुन्दर दिक्तेल बजार बनाउन पहलकदमी गरिनेछ।
सडक किनारामा यत्र-तत्र अव्यवस्थित तरिकाले सवारी साधन राख्दा दुर्घटना हुने सम्भावना भएकोले प्रयोग विहिन भएको वसपार्क र आवश्यक ठाउँ खोजी व्यवस्थित बनाइनेछ।
उपस्थित नगरसभाका सदस्यज्यूहरु,
अब म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०८2।०८3 को प्रमुख प्राथमिकताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक बर्ष २०८2।083 का प्रमुख प्राथमिकताहरुः
वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने आयोजना तथा कार्यक्रमहरू।
शिक्षा क्षेत्र सुधारलाई प्रमुख प्राथमिकतामा राख्ने आयोजना तथा कार्यक्रमहरू।
कृषि र पर्यटनलार्इ मूख्य आर्थिक गतिविधि मानी गरिने विकासका योजना तथा कार्यक्रमहरू।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने कार्यक्रमहरू।
"मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न जनश्रमदानलाई प्रोत्साहित गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू।
स्थानीय गौरवका आयोजनाहरू।
आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
संघीय तथा प्रादेशिक आवधिक योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।
अव म आ.व. २०82।083 का विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न गईरहेको छु:
सर्वप्रथम, म आर्थिक विकास तर्फको विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
आर्थिक विकासः
कृषि र पशुपन्छीः
“जलबायू मैत्री कृषि, उत्पादनमा वृद्धि र समृद्धि” भन्ने नाराका साथ नगरपालिकाभित्र रहेको ८००-१६०० मिटर उचार्इको क्षेत्रमा सामूहिक कफी खेती कार्यक्रम संचालन गरि कफी क्षेत्र विस्तार गरिने छ।
विभिन्न कारणले बाँझो रहेका खेतीयोग्य जमिनलार्इ कर्मशील जनशक्ति तयार गरी उक्त जनशक्ति मार्फत उत्पादन मूलक कार्यमा प्रयोग गरिने छ।
रसायनिक विषादि तथा मलको प्रयोगले पर्यावरणमा देखा पर्ने असर न्यूनीकरणका लागि जैविक तरिकाले बाली संरक्षणका कार्यक्रम संचालन गरिनेछ र स्थानीय वजारमा विक्री वितरण हुने कृषि उपजको संघीय सरकारको सहकार्यमा रसायनिक विषादि अवशेष परिक्षणको कार्य समेत नियमित रुपमा संचालन गरिनेछ।
कृषि तथा पशुपन्छी सेवा केन्द्र मार्फत नियमित माटो परिक्षण, बाली उपचार तथा पशुपन्छी उपचार सेवा उपलब्ध गरार्इनेछ।
"उत्पादन साथमा अनुदान हातमा" कार्यक्रमलार्इ प्रभाबकारी रुपमा कार्यान्वयनमा ल्याउन तोरी, प्याज, वेसार, अदुवा, लसुन, अकवरे खुर्सानी र महको उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरिनेछ।
कृषकहको क्षमता अभिवृद्धिका लागि विज्ञहरुबाट स्थलगत रुपमा घुम्ती तालिम सेवा संचालन गरिनेछ।
नेर्पामा स्थापना भएको फलफूल प्रशोधन केन्द्रलार्इ संचालनमा ल्यार्इनेछ।
रैथाने खाद्यन्न बालिको संरक्षण तथा क्षेत्र विस्तारका लागि कार्यक्रम संचालन गरिनेछ।
विगतका वर्षहरुमा अभ्यास गरिदै आएको प्रतिष्पर्धी कृषि अनुदान प्रणालीलाई स्थगन गरी व्यवसायिक रुपमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बद्ध उन्नत प्रविधि प्रयोग तथा व्यवसाय विस्तारका लागि अधिकतम किसानहरुको पँहुच पुग्ने गरी बैंक तथा वित्तिय संस्था संस्थाहरु मार्फत सर्वसुलभ रुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ।
स्थानीय उत्पादनहरुको वजारीकरणका लागि वजारीकरण सहयोग कार्यक्रम संचालन गरिनेछ।
गुणस्तरीय बीउ तथा वेर्नाको प्रयोगबाट मात्र खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन र उत्पादकत्व वृद्धि संभव भएकोले नगरपालिकामानै गुणस्तरीय बीउ तथा वर्ना उत्पादन, आपूर्ति र नियमनको कार्यलाई प्रभावकारी रुपमा संचालन गरिनेछ।
घरेलु उद्योगका लागि आवश्यक कच्च पदार्थ उत्पादनका लागि अकबरे खेर्सानी तथा साग उत्पादनमा विशेष पहल गरिनेछ।
बजार संभाव्यताका आधारमा व्यवसायिक रुपमा फलफूल, कफी, मह तथा गाई, भैंसी, रागाँ, बाख्रा, लगायतका अन्य पशुपन्छीजन्य उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण प्रवर्द्धन आदि व्यवस्था गरिनेछ।
हाल केही वडामा सुरुवात भएको किसान सूचीकरण कार्यलाई अन्य वडाहरूमा विस्तार गरी डिजिटल किसान परिचयपत्र वितरण गर्नुका साथै कृषि तथ्याङ्क संकलन कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ।
कृषक र उपभोक्ता विच प्रत्यक्ष सम्पर्क गरार्इ स्वस्थकर उत्पादन उपभोगका लागि कृषि वजारको संचालन गरिनेछ।
जङ्गली बन्यजन्तुबाट कृषकहरूले व्यहोर्नु परेको हैरानीलाई मध्यनजर गरी बांदर नियन्त्रण तथा व्यवस्थापनको उचित बिधि तथा प्रविधि खोजी गरिनेछ। जंगली पशुहरुका कारण बाँझो रहेको जमिनमा वैकल्पिक बाली अकवरे खुर्सानि, तोरी, प्याज, वेसार, लसुन, अदुवा खेतिका लागि प्रोत्साहन गरिनेछ।
कृषकहरूलाई सहजरूपमा खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानको व्यवस्था गरिनेछ।
कृषि क्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासको लागि कृषि सम्बन्धी अल्पकालीन, दीर्घकालीन नीति निर्माण गरिनेछ।
आयात घटाउने, निर्यात बढाउने र खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, तेल, दुध, दही, मसला, आदी खाद्य वस्तुहरूको आन्तरिक उत्पादन बढाउने कार्यक्रम संचालन गरिनेछ।
यस नगरपालिका स्थित कृषिसंग सम्बन्धित संघ र प्रदेशका कार्यलयहरुसंग सहकार्य गरी कृषि तथा पशुपालनका क्षेत्रमा नतिजामुखी कार्यहरु संचलन गरिनेछ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) र पहाडि क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (NAFA) परियोजना संचालनमा ल्याइनेछ ।
कुकुरको टोकाइबाट मानिसमा हुने रेबिज रोगको संक्रमणलाई शून्य पार्न सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेबिज विरुद्बको खोपको व्यवस्था गरिनेछ। साथै सामुदायिक कुकुरको बन्ध्याकरण शिविर कार्यक्रमलाई निरन्तरता दिइनेछ।
सिंचाईः
खेतियोग्य जमिन तथा तरकारी उत्पादनका लागि सम्भावना बोकेका सुख्खा ठाउँहरुलाई लक्षित गरी उपयुक्त सिँचाई सुविधाको व्यवस्था गर्न पहल गरिनेछ।
केही नयाँ मझौला तथा साना सिँचाई योजनाहरू निर्माणको सुरुवात गरिनेछ। विगतबाट सुरु भएका क्रमागत योजनाहरूलाई सम्पन्न गरिनेछ।
उद्योग बाणिज्य, घरेलु तथा साना उद्योगः
नगर क्षेत्रभित्र उपयुक्त स्थानमा संघ तथा प्रदेश सरकारसंगको सहकार्यमा बाँस प्रशोधन केन्द्र स्थापना गरी संचालन गर्न पहल गरिनेछ।
नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थ (बाँस, लोक्ता, अल्लो, गैरकाष्ठ वनपैदावार) को सदुपयोग हुने गरी साना तथा मझौला उद्योग स्थापना गर्न पहल गरिनेछ।
सञ्चालनमा रहेका घरेलु उद्योग, खांडी, ढाका कपडा, राडीपाखी लगायतलाई विकास तथा स्तरोन्नतीमा सहयोग गरिनेछ।
घरेलु तथा साना उद्योग कार्यालय तथा अन्य निकायहरूसंगको सहकार्यमा ढाका तथा बाँसको तालिम संचालनका लागि पहल गरिनेछ।
नगरमा औद्योगिक विकासका लागि निजी क्षेत्र र संघ तथा प्रदेश सरकारसंगको सहकार्यमा एक उद्योग ग्रामको स्थापना गर्न पहल गरिनेछ।
सहकारीः
सहकारी संस्थाहरूको नियमन, अनुगमन, सूचना संकलन तथा सम्प्रेषणमा ठोस कार्यहरू गरिनेछ।
कृषि तथा गैर कृषि सहकारी संस्थाहरुको प्रवर्द्धन गरी कृषि उत्पादन तथा बजारीकरण प्रवर्द्धन गरिनेछ।
निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने र सहकारी संस्थामा रहेको दोहोरो सदस्यताको अन्त्य गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
सानो पूँजी भएका प्रकृति मिल्ने सहकारी संस्थाहरुलाई एकाआपसमा एकीकरण हुन प्रेरित गरिनेछ।
पर्यटन र अन्य सेवाः
कालिका भगवती तथा मझुवागढीको संरक्षण र प्रवर्द्धनका लागि स्वीकृत गुरुयोजना अनुरुप सौन्दर्यकरण गर्दै फूलै-फूलको पहाडको रुपमा विकसित गर्दै लगिनेछ।
नगरपालिकाको हुर्लुङबाट प्रचुर पर्यटकीय सम्भावना रहेको रुपाकोट, मैयुङ, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने रेड पाण्डा ट्रेललाई ग्रेटर मुन्दुम ट्रेलमा समावेश गर्न र सो ट्रेलको विकासका लागि आवश्यक पहल गरिनेछ।
बुईपामा प्रदेश सरकार र नगरपालिकाको साझेदारी र सहकार्यमा निर्माण सम्पन्न हुने स्थितिमा भएको 110 फिटको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको पार्कलाई निर्माण सम्पन्न भए पश्चात आवश्यक कार्यविधि बनाई संचालन गरिनेछ।
प्रदेश सरकारसंगको साझेदारीमा नेर्पामा व्यवस्थित साकेला भिलेज पार्क निर्माण कार्यलार्इ सम्पन्न गर्न आवश्यक पहल गरिनेछ।
यस नगरपालिका भित्र रहेका महत्वपूर्ण धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गरिनेछ।
हलेसी आएका तीर्थयात्रीलाई दिक्तेल स्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आउने वातावरण तयार गरिनेछ।
पर्यटन पत्रकारितालाई प्रोत्साहन गरिनेछ।
नगरपालिकामा पर्यटकहरूको आवागमन बढाउनका लागि होटल ब्यवसायी संघ खोटाङसँग आवश्यक सहकार्य गरिनेछ।
रोजगार प्रबर्द्धनः
रोजगारी सृजनाका क्षेत्रको पहिचान,उद्यमशिलता प्रवर्द्धन, वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप सदुपयोग तथा श्रम बजार अनुकूल सीप विकास कार्यक्रमहरुको निर्माण र कार्यान्वयन गरिनेछ।यस मार्फत नगरपालिकाले श्रम-सीप-रोजगारीको दिगो चक्र निर्माण गर्दै उत्पादनशिलता,उद्यमशिलता र आर्थिक समुन्नतिको नयाँ आधार तय गर्नेछ।
श्रम बजारको माग,उपलब्ध स्रोत र जनशक्ति,रोजगार प्रवृतिको अध्ययन गरी रोजगार रणनीति तर्जुमा गरी सोही अनुरुप कार्यान्वयन गरिनेछ।
आन्तरिक रोजगारी सृजना तथा प्रवर्द्धनका क्रियाकलापहरु सञ्चालन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको लागि उद्यमशिलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
उद्यमशिलता विकासलाई स्थानीय रोजगारी सिर्जनाको मुख्य आधार मान्दै स्थानीय स्रोत, सीप र सन्दर्भ अनुकूल लघु तथा घरेलु उद्योग,स्टार्टअप र नवप्रवर्तनशील उद्यमलाई प्रवर्द्धन गर्ने नीति तथा संरचना विकास गरिनेछ। सीप विकास र तालिम पछिको अवसरको लागि रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरु र तहगत सरकारहरुसँग समन्वय तथा सहकार्य गरिनेछ।
पालिका स्तरिय नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ।
आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी,सहकारी तथा गैर सहकारी क्षेत्र सँग समन्वय र सहकार्यमा जोड दिइनेछ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिका लागि व्यक्तिगत श्रम स्वीकृति एवं पुन: श्रम स्वीकृतिको अनलाईन आवेदन प्रक्रियामा सहजिकरण गरिनेछ।साथै बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायतामा सहजिकरण गरिनेछ।
श्रम तथा रोजगारीका क्षेत्रमा न्यूनतम मानविय मर्यादालाई कायम राख्न काम तथा श्रमिक प्रतिको धारणामा व्यवहारिक परिवर्तन ल्याउन"श्रमको सम्मान, राष्ट्रको अभियान" का विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछ।
रोजगारीको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलब्ध हुने रोजगारीको अवसरको पहिचान, समस्याको निदान र रोजगारीको क्षेत्रमा नविनतम् उपाय र विधिको पहिचान गरी आवश्यकता अनुसार स्थानीय तहलाई राय सुझाव प्रदान गर्न रोजगार संवाद मञ्च गठन एवं सञ्चालन गरिनेछ।
वैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गर्नुका साथै वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागि सामाजिक र आर्थिक पुन: एकीकरण सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न संघ, प्रदेश,नगरपालिका तथा गैसससँगको सहकार्यलाई निरन्तरता दिईनेछ।
बैदेशिक रोजगारीका क्रममा हुने ठगीलाई कम गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ। गन्तव्य मुलुकमा समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी संयन्त्रको विकास गरिनेछ।
महिला,पुरुष लगायत लैंगिक तथा यौनिक अल्पसंख्यक उपर हुने श्रमको ज्यालामा विभेद अन्त्य गर्दै रैथाने र आप्रवासी कामदार तथा श्रमजीवी उपर हुने सबै किसिमका विभेदको अन्त्य गरिनेछ।
प्रदेश संचित कोष तथा स्थानीय संचित कोषबाट पारिश्रमिक पठाउने (प्रचलित कानून बमोजिम निवृतिभरण पाउने बाहेक) नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिनेछ।
बाल श्रमलाई पुर्ण रुपमा निषेध गर्दै श्रममा लगाउने उपर कानूनी कारवाही गरिनेछ।
बैदेशिक रोजगारी बाट फिर्ता आएका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न स्थानीय यूवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।
नगरपालिकाभित्र प्राप्त विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्नका लागि वित्तीय साक्षरता कक्षा संचालन गर्दै उद्यमशीलता र लगानी प्रवर्द्धन गरिनेछ।
आदरणीय सदस्यज्यूहरु,
अव म सामाजिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।
सामाजिक विकासः-
शिक्षा:
आगामी आ.व.२०८२/८३ लाई शैक्षिक सुधारका वर्षका रुपमा मनाईनेछ।
न्यून विद्यार्थी भएको विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई वडा शिक्षा समितिसँग समन्वय गरी आवश्यकताका आधारमा विद्यालय मर्ज/ कक्षा स्थगन गर्दै शिक्षकहरूलाई आवश्यकताका आधारमा कामकाजमा खटाउने व्यवस्था मिलाइनेछ।
सम्बन्धित वडा, विद्यालय, स्थानीयबासी, अभिभावकसंग समन्वय गरी आवासीय विद्यालयको विकास गर्न जोड दिईनेछ।
गाभिएका/ मर्ज भएका विद्यालयहरुलाई प्रोत्साहनको कार्यक्रमको व्यवस्था गरिनेछ।
समय सुहाउँदो माग र ए.आई. को प्रयोगलाई विद्यार्थीसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखिनेछ।
विश्व जलवायु परिवर्तनको असरले उत्पन्न समस्यालाई न्यूनीकरण गर्न त्यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम विद्यालय तहमा विद्यार्थी, शिक्षक तथा सरोकारवाला पक्षसंग विभिन्न प्रकारका रचनात्मक गतिविधि सहित सञ्चालन गरिनेछ।
महिला शिक्षकहरु प्रसुती बिदामा बसेको समयमा हुने शैक्षिक क्षति न्युनीकरणका लागि प्रसुती सट्टा शिक्षकको व्यवस्था गरिनेछ।
अति न्यून पारिश्रमिक सहित पठनपाठनमा संलग्न बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिम नगरपालिकाबाट थप लागत साझेदारी सहित न्यूनतम पारिश्रमिकको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धी गर्न एक वडा-एक स्मार्ट विद्यालयको अवधारणा कार्यन्वयनमा ल्याइनेछ।
एक नगरपालिका-एक प्राविधिक विद्यालय नेपाल सरकारको नीति भए तापनि पशु क्षेत्रमा थप प्राविधिक विद्यालयको स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिनेछ।
विद्यालय उमेर समूहका सबै वालवालिकालाई विद्यालयमा ल्याउने, टिकाउने कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिनेछ।
नगरपालिका र विद्यालयबीच अनलाइन प्रणाली मार्फत भर्चुअल बैठक तथा सूचना प्रवाहको व्यवस्था मिलाइनेछ।
प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने नीति अबलम्बन गर्दै प्रोत्साहन स्वरुप सामुदायिक विद्यालयका प्र.अ.हरुलाई संचार समन्वय खर्च भत्तालाई निरन्तरता दिईनेछ।
स्थानीय पाठ्यक्रमलाई पुनरावलोकन गर्दै थप प्रभावकारी बनाइनेछ।
अनुगमनका सूचक विस्तार गरी विद्यालयको स्वःमूल्याङ्कन गरिनेछ।
अंग्रेजी माध्यम भाषा शिक्षण गर्ने तथा आधारभूत तहमा मातृभाषा अतिरिक्त शिक्षण सिकाइ गरिने विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ।
कक्षा ४-९ नगर नगरस्तरीय एकीकृत परिक्षा प्रणाली सञ्चालनमा ल्याइनेछ साथै, परीक्षालाई व्यवस्थित, प्रभावकारी तथा बैज्ञानिक बनाई उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिनेछ।
शिक्षकहरुका लागी सेवा प्रवेश, पुनर्ताजगी तथा प्रविधि प्रयोग सम्बन्धी तालिमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
उच्च तथा प्राविधिक शिक्षा हासिल गर्न चाहिने गरिब जेहन्दार तथा अविभावक गुमाएका विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिनेछ।
किशोरावस्थाका विद्यार्थीमा हुन सक्ने कुलतको लत तथा दुर्व्यसनीबाट टाढा राख्न सोहि उमेर समूहका विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
रिमिडियल कक्षा सञ्चालनको नीति अबलम्बन गरिनेछ ।
नगर भित्रका सामुदायिक विद्यालयहरुमा सञ्चालन हुने कक्षा ८ को परीक्षा, एस.ई.ई. परीक्षा र कक्षा 8 को नगर स्तरीय परीक्षामा उत्कृष्ट GPA ल्याउने छात्र/छात्रालाई पुरस्कारको व्यवस्था गरिनेछ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि कम्तिमा एक पटक सबै सामुदायिक विद्यालयको अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गरी अनिवार्य पृष्ठपोषण सहित अनुगमन प्रणालीको व्यवस्था गरिनेछ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुसँग शैक्षिक सुधार गर्नका लागि अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने व्यावस्था गरिनेछ।
शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायत सरोकारवालाहरूसँग शैक्षिक समस्याको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरी शिक्षण सिकाई क्रियाकलाप सुधारका लागि आवश्यक व्यवस्था गर्दै लगिनेछ।
गाउँ, टोल तथा वडा स्तरमा शैक्षिक छलफल तथा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।
सिकाइ उपलब्धिका आधारमा उत्कृष्ठ प्रधानाध्यापक शिक्षक विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ।
राष्ट्रपति रनिङ शिल्ड/राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको लागि बजेटको व्यवस्था गरिनेछ।
नगरपालिका भित्र सबै विद्यालयहरुमा खेलकुद, संगीत र चित्रकलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि व्यवस्था गरिनेछ।
जीवन उपयोगी तथा सीपमूलक अभियानलाई प्राथमिकता दिइनेछ।
सबै विद्यालयहरुमा विभागीय प्रमुखहरु तथा तहगत इन्चार्जहरुको व्यवस्था गर्न सर्कुलर गरिनेछ।
माध्यमिक विद्यालयहरुलाई लिडर तथा आधारभूत विद्यालयहरुलाई फिडर विद्यालयको रुपमा विकास गर्दै लगिनेछ।
प्रविधियुक्त सिकाई प्रवन्ध गर्न कक्षा कोठामा सूचना प्रविधिमैत्री संस्कारको विकास गरिनेछ।
शैक्षिक प्राणलीको सुदृढीकरण गरी गुणस्तरीय र समावेशी शिक्षा विस्तार गर्दै लगिनेछ।
शिक्षा र सीपलाई उत्पादन र बजारसँग जोड्ने व्यवस्था गरिनेछ ।
हरित विद्यालयको अवधारणा कार्यन्वयनका लागि सामुदायिक विद्यालयमा विद्यालय बालबालिका हरित क्लब/ सञ्जालको विकास गर्दै लगिनेछ।
स्वास्थ्य तथा पोषणः
‘म स्वस्थ-मेरो सामुदाय स्वस्थ’ भन्ने नाराका साथ घर-टोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
"जीवनसँग जोडौं, आत्महत्या हटाऔं" अभियान मार्फत विद्यालय, युवा क्लब, महिला समूह र समुदायिक संस्थाहरूसँगको सहकार्यमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
समुदायमा मानसिक रोगको बड्दो भार न्युनीकरण गर्न महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग सम्वन्धी तालिम दिईने छ।
बढ्दो नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै समुदाय स्तरमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्कृनिङ तथा जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
बालबालिकाको समग्र स्वास्थ्य सुधार तथा विद्यालयमै स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न विद्यालय र स्वास्थ्य संस्थाबीच सहकार्यमा एकीकृत विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ।
नगरपालिकालाई क्षयरोग मुक्त नगर निर्माण गर्न नगरका विभिन्न स्थानमा AI जडित X-Ray मेसिनको प्रयोग द्वारा क्षयरोग सम्बन्धी स्कृनिङ शिविर साथै समुदायमा लुकेर रहेका क्षयरोगि खोजि गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्यमा डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्नका लागि संघ, प्रदेश तथा संघ-संस्थाहरूसंग पहल गरी आवश्यक व्यवस्था गरिनेछ।
पोषणमैत्री स्थानीय शसनको अवधारणा बमोजिम यस नगरलाई पोषणमैत्री नगर निर्माणका लागि स्वास्थ्य र पोषणका सूचकाङ्कमा शतप्रतिशत प्रगति हाँसिल गर्न आवश्यक कार्यक्रम गरिनेछ।
उपचारको आभावमा जोखिममा परेका बेसहारा/विपन्न व्यक्तिहरूको पहिचान गरी निजहरूका लागि निःशुल्क औषधि उपचारमा सहयोग तथा समन्वय गरिनेछ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरूको पेशागत दक्षता वृद्धि र सुरक्षामा जोड दिँदै प्रदान गरिदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिइनेछ।
भौगोलिक अवस्था तथा जनघनत्व र जनताको पहुँचलाई आधार मानी पालिकाभित्र स्वास्थ्यसंस्थाहरू बाट टाढा रहेका स्थानमा घुम्ति स्वास्थ्य क्लिनिक सञ्चालन तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिइनेछ।
नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरण स्वास्थ्यसंस्थाहरूबाट वर्षभरी निःशुल्क वितरण गर्न आवश्यक व्यवस्था गरिनेछ।
विभिन्न सरोकारवालाहरूसंगको समन्वय तथा सहयोगमा पालिकाभित्रका विभिन्न वडामा विशेषज्ञ चिकित्सकसहित निःशुल्क बृहत घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ।
नगर भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजात शिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अवस्थामा सोको लागि एकतर्फी यातायात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ।
जटिलता रहित प्रसुती सेवाका लागि नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट मासिक ग्रामिण घुम्ती भिडियो एक्सरे सेवा नियमित संचालन गरिनेछ।
घरमा शून्य प्रसुती सुनिश्चितताका लागि समुदाय स्तरमा गर्भवती महिला समूह अभियान संचालन गरिनेछ साथै प्रसुति केन्द्र नरहेका स्वास्थ्य संस्थाहरू मध्ये वडा स्वास्थ्य केन्द्र, बुवालुङ प्रसुति केन्द्र संचालनमा ल्याईनेछ।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारीरूपमा संचालन गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड अबलम्बन गरी निरन्तर फलोअप गरिनेछ।
नगरपालिकाभित्रका नियमित संचालन हुने खोप तथा गाउँघर क्लिनिकलाई क्रमशः सुदृढीकरण गर्दै लगिनेछ।
डेङ्गु लगायत महामारी तथा प्रकोप व्यवस्थापनका लागि पालिका र वडा स्तरका RRT श्रोत सहित चुस्त र तयारी अवस्थामा राखिनेछ।
नगरभित्रका गर्भवती तथा प्रसुती महिलाहरूलाई निःशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ।
संचालनमा आएका बर्थीङ सेन्टरका प्रयोगशालाहरूलाई थप प्रभावकारी बनाउँदै लगिनेछ।
पालिकाभित्रका शिघ्र कुपोषित बालबालिका पहिचान गरी पोषण अवस्था सुधारका लागि सहयोग गरिनेछ।
महिलाहरूको पाठेघरको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्याउन नगरभित्र पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन गरिनेछ।
नगरपालिका र नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा संचालित रक्तसंचार केन्द्रको सेवा निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको छ।
सुनौला १००० दिनका महिला तथा बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्था प्रबर्द्धन गर्न विशेष कार्यक्रम संचालन गरिनेछ।
नागरिकको स्वास्थ्य बीमामा पहुँच वृद्धि गर्न स्वास्थ्य बीमा बोर्डसँग आवश्यक समन्वय गरी प्रभावकारी कार्यक्रम संचालन गरिनेछ।
नगरभित्र संचालनमा रहेको जनसेवा नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गर्न आवश्यक औजार उपकरण र तालिम प्राप्त जनशक्ति ब्यवस्था गर्दै लौजाने साथै वीमा बोर्डसंगको समन्वयमा नगर अस्पतालबाट स्वास्थ्य वीमा कार्यक्रस संचालनमा ल्याईनेछ।
रोग लाग्न नदिन सामुदायीक स्वास्थ्य शिक्षालाई टोल-घरमा पुर्याउने, मौसम अनुसारको स्वास्थ्य शिक्षालाई प्रभावकारी रूपमा लागू गरिनेछ।
नगरका विभिन्न स्थानहरूमा आँखा जाँच शिविर, विद्यालय आँखा जांच कार्यक्रम, जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको लागि आँखा जांच कार्यक्रमलाई प्रभावकारी तरिकाले संचालन गरिनेछ।
जनस्वास्थ्य सेवा प्रवाहलाई समावेशी, सुलभ, गुणस्तरीय र उत्तरदायी बनाउने उद्देश्यले स्थानीय स्वास्थ्य नीति निर्माणको थालनी गरिनेछ।
नगरभित्रका विद्यालयहरूमा वास कर्नरको व्यवस्थापन गर्न पहल गरिनेछ।
युवा तथा खेलकुदः
गत वर्षबाट निर्माण सुरु गरिएको लफ्याङ सिरानमा अवस्थित जिल्लाकै पहिलो क्रिकेट खेलमैदानको स्तरोन्नती कार्य गरिनेछ।
प्रदेश सरकारसंगको सहकार्यमा नगरपालिकाको विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूको स्तरोन्नती तथा पूर्वाधार सुधार सम्बन्धी योजनाहरू संचालन गरिनेछ।
दिक्तेल बजारको माटिकोरे स्थित दिक्तेल रंगशालालाई स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
नगरभित्र संचालित प्रतिष्ठित खेलकुद प्रतियोगिताहरू संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
ग्रासरुट खेलकुद प्रशिक्षण कार्यक्रम तथा नगर स्तरिय, वडास्तरीय तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रमहरू संचालन गरिनेछन्।
सरोकारवालाहरूसंगको सहकार्य र समन्वयमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध युवा लक्षित अभियानहरू संचालन गरिनेछ।
युवाहरूलाई सामाजिक र आर्थिक विकासमा आवद्ध गराउन सीपमूलक, स्वरोजगार उन्मुख कार्यक्रमहरू आयोजना गरिनेछ।
महिला,बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, समुदायः
सरोकारवाला निकायहरूसंगको साझेदारीमा बालमैत्री स्थानीय तह घोषणा गर्ने कार्यलाई अगाडि बढाईनेछ।
लक्षित समुदाय विशेष गरी दलित समुदाय र एकल महिलाहरुको सीप विकास, रोजगारी सिर्जना तथा क्षमता विकास लगायतका विविध कार्यक्रमहरुलाई प्राथमिकता दिइनेछ।
महिला सशक्तिकरणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
हिंसा पिडित महिला तथा बालबालिकाहरुलाई न्यायमा पहुँच पुर्याउन न्यायिक समितिमा निःशुल्क कानूनी व्यवस्था गर्ने साथै ग्रामिणस्तरमा नै सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ। न्यायिक समितिको क्षमता अभिबृद्बि र सशक्तिकरण गरी लैंगिक मैत्री बनाईनेछ।
विपन्न, दलित, जनजाती, एकल र सिमान्तकृत महिलाहरुका लागि आत्मनिर्भर कार्यक्रमहरुलाई बढावा दिईनेछ।
राजनितिक, आर्थिक, सार्वजनिक लगायत सम्पूर्ण निर्णायक तहमा महिला, दलित तथा सिमान्तकृत समुदायको सार्थक र समान पहुँचका लागि समान अवसरहरुको सिर्जना गरिनेछ।
बालविवाह न्युनीकरणका लागि सरोकारवाला निकायहरुसँग पैरवी गर्ने कार्यक्रमहरु संचालन गरिनेछ।
बालक्लव तथा बाल सञ्जालहरुको क्षमता विकास, दर्ता, नवीकरणका विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ।
जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तरिकाले सञ्चालन गरिनेछ।
जेष्ठ नागरिकहरुको हक अधिकार र संरक्षणको लागि सचेतनामूलक कार्यक्रमहरु, पुस्ता हस्तान्तरण कार्यक्रमहरु सञ्चालन गरिनेछ।
प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिईनेछ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा संरक्षणको निमित्त सीप तथा क्षमता विकास कार्यक्रम साथै सचेतनामूलक तथा अन्तर्किया कार्यक्रमहरु सञ्चालन गरिनेछ।
सार्वजनिक स्थलहरुलाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिनेछ।
विभेदरहित छुवाछुतमुक्त नगर निर्माण गर्ने अभियानलाई निरन्तरता दिईनेछ।
दलित समुदायको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा विशेष कार्यक्रम लागू गरिनेछ।
घरेलु हिंसा न्युनीकरण, सामाजिक विभेद न्युनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
महिला पदाधिकारीहरुका लागि क्षमता तथा नेतृत्व विकास कार्यक्रम गरिनेछ। जनप्रतिनिधिहरुसँग संविधान तथा कानून सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
खानेपानी तथा सरसफाईः
नगरपालिकाभित्रका सबै घरपरिवारमा आधारभूत खानेपानी तथा सरसफाईको प्रबन्ध मिलाउन पहल गरिनेछ। यसका लागि संघीय तथा प्रादेशिक निकायहरूसंग सहकार्य र समन्वय गरिनेछ।
बजार क्षेत्रका चलिरहेका खानेपानी आयोजना र गाउँका धारा कुवाको संरक्षण गर्ने नीति लिइनेछ।
दिक्तेल बजार लगायत बजार क्षेत्रका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गरी सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।
दिक्तेल बजार लगायत बजार केन्द्रहरु सरसफाईमा जोड दिँदै सफा र सुन्दर नगर बनाउने अभियान संचालन गरिनेछ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाः
ज्येष्ठ नागरिक, फरक क्षमता भएका (पूर्ण र अति अशक्त अपाङ्ग), एकल महिला, दलित वालवालिकाको सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (EFT) मार्फत सम्बन्धित लाभग्राहीको बैंक खातामा भुक्तानी हुने कार्यलाई निरन्तरता दिईनेछ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न बायोमेट्रिक प्रणाली लागू गर्ने व्यवस्था मिलाईनेछ।
सामाजिक सुरक्षा भत्ता बैङ्क, वडा कार्यालय, सुरक्षा निकाय र नगरपालिकाबीच समन्वय गरी वडा-वडामा गई व्यवस्थित तवरले वितरण गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
व्यक्तिगत घटना दर्ता कार्यलाई प्रत्येक वडा-वडाबाट अनलाईन प्रणाली मार्फत व्यवस्थित गरिनेछ।
एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरूको पारिश्रमिकका लागि नगरपालिकाबाट गरिने लागत सहभागितालाई निरन्तरता दिईनेछ।
यस नगरपालिका भित्रका १५ वटै वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र बितरण गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
भाषा, संस्कार, संस्कृति तथा संरक्षणः
यहाँको भाषा, संस्कार, संस्कृति र बहुसंख्यक जातिको भावनालाई सम्मान गर्दै यहि श्रावण 1 गते देखि लागु हुने गरी नगरपालिकाको लेटरहेडमा नेपाली र किंरात लिपी प्रयोग गरिनेछ।
प्रदेश सरकारसंगको सहकार्यमा विभिन्न जातजाति, समुदायको धार्मिक तथा सांस्कृतिक पूर्वाधार निर्माण कार्यहरू अगाडि बढाईनेछ।
सबै समुदायका भाषा, संस्कार, संस्कृतिहरु संरक्षण, सम्वर्द्धनका तथा प्रवर्द्धनका लागि कार्यक्रमहरू संचालन गरिनेछ।
नगरपालिकाको उपयुक्त स्थानहरूमा साँस्कृतिक सम्पदाको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालयहरूको निर्माण कार्यको लागि आवश्यक पहल गरिनेछ।
नगर क्षेत्रभित्र रहेका ऐतिहासिक स्थलहरू, सबै जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन-अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवर्द्धन गर्ने नीति लिईनेछ।
आदरणीय सदस्यज्यूहरु,
अव म पूर्वाधार विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
पूर्वाधार विकासः
सडक, पुल तथा यातायात व्यवस्थाः
दिक्तेल बजार ढलान कार्यलाई निरन्तरता दिई यस आ.व.मा मुख्य बजार ढलान सम्पन्न गर्न प्रयास गरिनेछ, बजार आसपासका अन्य सडक खण्डहरू ढलानका लागि आवश्यक पहल गरिनेछ।
दिक्तेल-खानीडांडा-आहाले-रेग्मिटार सडक र दिक्तेल-खार्मी र दिक्तेल-पाथेका सडकलाई स्थानीय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा राखी गुणस्तरीय रूपमा स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
संघ-प्रदेश सरकारसंगको सहकार्यमा हाटडाँडाबाट कालिका भगवती मन्दिरसम्म जाने सडक पक्की गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
सडक निर्माण गर्दा छेउ-छाउमा अनिवार्य रूपमा विभिन्न रुख विरुवाहरू वृक्षारोपण, फूलहरू रोपेर हरियाली सडक निर्माण गर्ने तथा वन-वातावरणको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणलाई सहयोग गर्ने कार्यको थालनी गरिनेछ।
नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गरिनेछ, यस अगाडी खनिएका स्थानीय सडकहरु, वडा केन्द्र र स्वास्थ्य चौकीहरू जोड्ने सडकहरूको स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ।
सोल्मा बस पार्क र दिक्तेल आचार्य गाउंको बस पार्कलाई स्तरोन्नती तथा ब्यबस्थित गर्न पहल गरिनेछ।
नगरपालिकाभित्रका नयाँ तथा पुराना सडकहरूको मापदण्ड पुनरावलोकन गरी लागू गरिनेछ।
आवागमन सुचारु गर्न आवश्यक स्थानहरूको पहिचान गरी झोलुङ्गे पुल तथा सडक पुलहरूको सम्भाव्यता अध्ययन र निर्माण कार्यलाई प्राथमिकता दिईनेछ।
भवन, आवास, वस्ती तथा शहरी विकासः
नगरपालिका क्षेत्रभित्र बन्ने सबै किसिमका घरहरू मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक बनाउने नीति लिईनेछ।
पुराना पक्की घरहरूको अभिलेखीकरणलाई निरन्तरता दिईनेछ।
बजार क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, विजुली, टेलिफोन, ईन्टरनेट लगायतका विभिन्न तारहरु व्यवस्थित गर्न सम्वन्धित पक्षहरूसंग पहल गरिनेछ।
जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जाः
नेपाल विद्युत प्राधिकरणसंगको सहकार्यमा दिक्तेल बजारमा सडक बत्ती जडान कार्य अगाडि बढाउन पहल गरिनेछ।
सम्बन्धित निकाय तथा संघ-संस्थाहरूसंगको समन्वय र सहकार्यमा नगरपालिकालाई विद्युतीय चुल्हो युक्त नगरपालिका बनाउनका लागि आवश्यक व्यवस्था गरिनेछ।
नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरी नगरपालिका क्षेत्रको विद्युत क्षमताको विस्तार गर्न पहल गरिनेछ।
सूचना तथा संचारः
स्थानीय सञ्चार माध्यमहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न स्थानीय संचार नीति तर्जुमा गरिनेछ।
पत्रकारहरूको लागि अक्षय कोष स्थापना गर्न आवश्यक व्यवस्था मिलाईनेछ। नगरभित्र क्रियाशील सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ।
नगरभित्र सञ्चालित सञ्चारगृहको स्तरोन्नति र पूर्वाधार निर्माणका लागि पहल गरिनेछ।
खोजमूलक पत्रकारिताको प्रवर्द्धन गरिनेछ।
जिल्लामा रहेका संचार माध्यमहरुलाई दिईने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गरिनेछ।
दिक्तेल बजारको विभिन्न स्थानहरूमा जडान गरिएको फ्रि-वाईफाईलाई निरन्तरता दिईनेछ।
आदरणीय सदस्यज्यूहरु,
अब म वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
वन, वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनः
वन, वातावरणः-
वन संरक्षण, भू-संरक्षण, नदी तथा खोल्साका तटबन्ध निर्माण, वृक्षारोपण तथा जैविक विविधता र वन्यजन्तुको संरक्षणका कार्यहरू प्रभावकारी ढंगले अगाडि बढाइनेछ।
सार्वजनिक स्थलहरू र सडक किनारामा बहुउपयोगी तथा सौन्दर्यपूर्ण रुख तथा विरुवाहरूको रोपण र संरक्षण गरिनेछ।
सबै प्रकारका पानीका मुहानहरूको पहिचान गरी संरक्षण अभियान सञ्चालन गरिनेछ।
वन तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धिका लागि समुदाय, विद्यालय तथा युवाहरूमार्फत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
वायू, ध्वनि, जल प्रदूषणलाई न्यूनीकरण गर्ने नीति अवलम्बन गरिनेछ र प्रदूषण गर्ने गतिविधिहरूलाई निरुत्साहित गरिनेछ।
बन डढेलो न्यूनीकरणका लागि जनचेतना अभियान सञ्चालन गरिनेछ र डढेलो लगाउने कार्यमा संलग्नहरुमाथी कानूनी कारबाही गरिनेछ।
वन तथा वातावरण क्षेत्रमा गरिने सबै कार्यहरु सामुदायिक वन उपभोक्ता महासंघ, विषयगत संस्था तथा सरोकारवालाहरुसँगको सहकार्यमा सञ्चालन गरिनेछ।
रूपाकोट, मेरुङ, साप्सुढाप लगायतका क्षेत्रहरूलाई जडीबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गरिनेछ।
जलवायु परिवर्तनको जोखिममा परेका वन तथा सिमसार क्षेत्रहरूको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षणका लागि स्थानीय स्तरमा विशेष कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ।
प्राकृतिक स्रोतमा आश्रित गरिब, विपन्न महिला तथा संकटासन्न घरधुरी र समुदायका लागि जलवायू परिवर्तन अनूकुलन क्षमता बढाउने बैकल्पिक आय आर्जनको उपायहरु पहिचान गरी प्रवर्द्धन गरिनेछ।
जलवायु परिवर्तनको असर र जोखिम एवं अनूकुलन र न्यूनीकरणका उपायहरु समुदाय स्तरमा प्रचार- प्रसार गरिनेछ।
जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना-Dcrl संगको सहकार्यमा स्थानीय स्तरमा उपयुक्त हुने फलफूल र विरुवा रोपी हुर्लुङ-जालपा रोडलाई हरित सडकको रूपमा विकास गरिनेछ।
फोहरमैला व्यवस्थापनः
नगरपालिकाको दिगो विकासका लागि स्वच्छ, सुरक्षित र व्यवस्थित फोहर व्यवस्थापन प्रणाली लागू गरिनेछ।
नगरपालिकाको वडा नं. ५, लफ्याङ्मा रहेको ल्यान्डफिल साईटलाई थप व्यवस्थित बनाईनेछ।
स्रोतबाटै फोहरको बर्गिकरण गरी कुहिने फोहरलाई कम्पोष्ट मल र नकुहिने फोहरलाई ल्यान्डफिल्ड साईटमा विसर्जन गरी बजारको फोहर व्यवस्थापनलाई व्यवस्थित बनाईनेछ।
नगर क्षेत्रको स्वच्छता कायम राख्न फोहरमैलालाई जथाभावी रुपमा सडक अधिकार क्षेत्र वा अन्य सार्वजनिक स्थानमा विसर्जन गर्ने कार्यलाई पूर्णरुपले नियन्त्रण गरिनेछ।
घरेलु फोहरमैला बाहेक अन्य स्वास्थ्य संस्था तथा अन्य व्यावसायिक फोहरमैला व्यवस्थापनका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई जिम्मेवार बनाईनेछ।
फोहरमैलाको प्रकृति र परिमाण अनुसार सेवा शुल्कको व्यवस्था गरी "फोहर गर्नेले तिर्ने" सिद्धान्तलाई अवलम्वन गरिनेछ।
फोहरमैला व्यवस्थापनमा घरपरिवार, समुदाय, टोल विकास संस्था र अन्य सरोकारवालाको सहभागिता र सहकार्यलाई प्रोत्साहन गरिनेछ।
फोहरमैला व्यवस्थापन सम्बन्धी असल अभ्यासहरुको आदान-प्रदान र समुदाय तहसम्म प्रचार-प्रसार गरिनेछ।
विद्यालय शिक्षाको पाठ्यक्रममा फोहरमैला व्यवस्थापन सम्बन्धी विषय समावेश गरी जनचेतना अभिवृद्धिलाई फराकिलो तथा संस्थागत गरिनेछ।
आवधिक रुपमा नगर क्षेत्रमा जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं सर्वसाधारण नागरिकहरुको सहकार्यमा सरसफाई अभियान सञ्चालन गरिनेछ।
प्लाष्टिकका झोला वा प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोगलाई कम गर्दै विकल्पको प्रयोग प्रोत्साहित गरिनेछ।
विपद् व्यवस्थापनः
विपद् व्यवस्थापनका सम्बन्धमा नगरपालिकाको संस्थागत क्षमता विकास गर्दै आपतकालीन अवस्थामा तत्काल परिचालन हुने संयन्त्रहरु स्थापना गरिनेछ।
विपद्को समयमा खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुन:निर्माण लगायतका प्राथमिक कार्यहरु छिटो, प्रभावकारी र समन्वयात्मक रुपमा सम्पन्न गरिनेछ।
नगरपालिकाका पदाधिकारी, कर्मचारी, स्वयंसेवक, सामाजिक परिचालक तथा समुदायलाई विपद् व्यवस्थापन सम्बन्धी नियमित प्रशिक्षण दिने व्यवस्था मिलाईनेछ।
सरकारी, निजी एवं गैरसरकारी संस्था, स्थानीय स्वयंसेवक, सामाजिक परिचालक लगायत सम्बन्धित सबै पक्षको समन्वय र संलग्नतामा विपद् व्यवस्थापन सम्बन्धी कार्य गरिनेछ।
विपद् प्रतिकार्यका लागि सुरक्षा निकायहरुसँगको समन्वय र सहकार्यमा नमूना अभ्यासका क्रियाकलाप एवं तालिमहरु सञ्चालन गरिनेछ।
विपद्को समयमा प्रयोग गर्न सकिने वारुणयन्त्र, एम्बुलेन्स लगायतका अन्य उपकरणहरु २४ सै घण्टा सञ्चालन हुने गरी तयारी अवस्थामा राखिनेछ।
भौतिक पूर्वाधार निर्माण गर्दा स्वीकृत निर्देशिका वा मापदण्ड तथा भवन संहिता अनिवार्य रुपमा पालना गरिनेछ।
स्थानीय स्तरमा आपतकालीन कार्यसञ्चालन केन्द्र र स्थानीय विपद् सहायता कक्ष (LDHD) स्थापना गरी सञ्चालन गरिनेछ।
विद्यालय तहको शैक्षिक पाठ्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी विषय समावेश गर्न पहल गरिनेछ।
स्थानीय विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जूमा गरी कार्यान्वयन गरिनेछ।
प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट जोखिमयुक्त क्षेत्र, खुल्ला सुरक्षित स्थान तथा आपतकालीन आश्रयस्थलको पहिचान र नक्साङ्कन गरिनेछ।
नगर विपद् व्यवस्थापन कोषमा जनप्रतिनिधिहरु, संस्थाहरु र नगरवासीको स्वेच्छिक योगदान प्रोत्साहित गरिनेछ।
वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाईनेछ।
आदरणीय सदस्यज्यूहरु,
अब म संस्थागत विकास, सेवा प्रवाह र सुशासन विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनः
योजना व्यवस्थापन र तथ्याङ्क प्रणालीः
विस्तृत परियोजना प्रतिवेदन, संभाव्यता अध्ययन र प्राविधिक लागत अनुमानका आधारमा निर्माण सम्वन्धी कार्यमा बजेट विनियोजन गरिनेछ।
विकास कार्यक्रमहरूमा सार्वजनिक-निजी साझेदारी एवं सामुदायिक सहभागितालाई प्रवर्द्धन गरिनेछ।
विभिन्न विषय क्षेत्रगत नीति, रणनीति, गुरुयोजना तथा योजनाहरू तयारी गरी कार्यान्वयन गरिनेछ।
उपभोक्ता समितिबाट संचालन हुने योजनाहरूलाई व्यवस्थित गर्नका लागि योजना कार्यान्वयन पुस्तिकालाई थप परिष्कृत गरी लागू गरिनेछ।
योजना अनुगमन तथा सुपरीवेक्षण र बजार अनुगमनलाई निरन्तरता दिई थप प्रभावकारी बनाईनेछ।
नीति, कानून, न्याय र सुशासनः
संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र अन्तर्गतको निर्माण गर्न बांकी रहेका नीति तथा कानूनहरू क्रमशः निर्माण गरी कार्यान्वयन गरिनेछ।
निर्मित नीति तथा कानूनहरूको प्रभावकारी कार्यान्वयन, नियमन र अनुगमन गरी सुशासन कायम गरिनेछ।
विधिको शासन प्रवर्द्धन, जनसहभागिता अभिवृद्धि, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सेवा प्रवाहमा निष्पक्षता र महिला तथा लक्षित समूहलाई अग्राधिकार दिने नीति लिई सोही वमोजिम कार्यान्वयन गरिनेछ।
निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता तथा सदाचार पद्धति लागू गरी सुशासनको पूर्ण प्रत्याभूति दिँदै भ्रष्टाचारमुक्त नगर बनाइनेछ।
संगठनात्मक विकास, मानव संशाधन तथा सेवा प्रवाहः
प्रत्येक पदको कार्यविवरण तयार गरी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिईनेछ। कार्यसम्पादन सम्झौतालाई नगरको सबै क्षेत्रमा विस्तार गरिनेछ।
नगरपालिकाबाट प्रदान गरिने प्रशासनिक सेवालाई छिटो छरितो, जनमुखी, झन्झट्मुक्त, सर्वसुलभ एवम् पारदर्शी बनाउँदै लगिनेछ।
नगरपालिका र प्रत्येक वडामा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायत सुशासन प्रवर्द्धनका कार्यक्रमहरू संचालन गरिनेछ।
सार्वजनिक जबाफदेहिता, उत्तरदायित्व र पारदर्शिता कायम गर्न नागरिक समाजको भूमिकालाई प्रश्रय दिइनेछ।
स्रोत परिचालनः
करका दरहरु पुनरावलोकन गरी उचित प्रगतिशील दर कायम गरिनेछ। करको दायरा फराकिलो बनाउँदै लगिनेछ।
राजश्व संकलनलाई अभियानको रुपमा अगाडी बढाईनेछ।
नगरपालिकाको आन्तरिक श्रोत न्यून भएका कारण संघीय र प्रदेश सरकार तथा अन्य निकायहरूसंग थप वित्तीय व्यवस्थापनको लागि पहल गरिनेछ।
बजेट निर्माण गर्दा आवधिक योजनाले तोकेका प्राथमिकता, प्रदेश र संघीय सरकारबाट प्राप्त मार्गदर्शन एवं नगरपालिकाले तोकेको प्राथमिकताको आधारमा वित्तीय स्रोतहरूको व्यवस्था गरिनेछ।
नगरपालिकाको सम्पूर्ण लेखा तथा आर्थिक विवरणको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कायम भएका बेरुजुको प्रतिवेदन उपर कानून बमोजिम कारबाही तथा फर्छ्यौट गरिनेछ।
अर्थ तथा सार्वजनिक लेखा समितिलाई सक्रिय बनाई बेरुजु फर्छ्यौट कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईनेछ।
गैर बजेटरी तथा फजुल खर्चहरूलाई नियन्त्रण गरी चालु खर्चलाई कम गर्दै लगिनेछ।
बजेट कार्यान्वयन गर्दा वित्तीय अनुशासनलाई दृढताका साथ लागू गरी पारदर्शिता कायम गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
आदरणीय सदस्यज्यूहरु,
हालसम्म भएका सबै किसिमका उपलब्धीहरूलाई संरक्षण गर्दै थप उन्नती र समृद्धिको पथमा अगाडि बढ्ने, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन गरी विकास कार्यलाई तीब्रता दिने लक्ष्यका साथ आर्थिक वर्ष 20८2।083 को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ।
प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट राष्ट्रिय तथा प्रादेशिक नीति तथा कार्यक्रम, लक्ष्य र गन्तव्य प्राप्तिका लागि योगदान पुग्नेछ भन्ने विश्वास लिईएको छ।
नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउनुहुने माननीयज्यूहरू, राजनैतिक दल तथा नेतागणहरू, राष्ट्रसेवक कर्मचारीहरू, खोटाङ उद्योग वाणिज्य संघ लगायत निजी-सहकारी-सामुदायिक क्षेत्र, संघ-संस्थाहरू, नागरिक समाज, आम संचार जगत लगायत सम्पूर्ण नगरवासी दिदिबहिनी-दाजुभाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
अन्त्यमा, प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आ-आफ्नो स्थानबाट सबैको सिर्जनात्मक तथा सक्रिय सहयोग र सहभागिता रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु।