जलवायु परिवर्तन न्युनीकरण र आयआर्जन गर्न बहुउपयोगी मोसो बाँस रोपियो (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ 16, 2082
  • 736 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १५–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मोसो जातको बाँस रोपिएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको छेपेखोलामा मोसो जातको बाँस रोपिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमइ बैंक र विश्व शान्ति मञ्चको सहकार्यमा छेपेखोलाको पहिरोमा बाँस रोपिएको हो । मध्यपहाडी लोकमार्ग निर्माण गर्दा गएको पहिरो रोकथाम तथा जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न बहुउपयोगी मोमो जातको बाँस रोपिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । ‘जलवायु परिवर्तनले पारेको प्रभाव न्युनीकरण गर्न, बाँसजन्य सामग्री उत्पादन गरी नगरबासीको आयआर्जनमा बृद्धि गर्न बहुउपयोगी मोसो जातको बाँस रोपिएको हो’ भट्टराईले भने–‘मोसो जातको बाँसबाट विभिन्न प्रकारका खाद्य परिकार समेत बन्ने भएकाले रोपिएको हो ।’
भट्टराईका अनुसार बिहीबार नगरका सबै वडाहरूमा १५ सय मोसो जातको बाँसको विरुवा समेत वितरण गरिएको छ । मोसो बाँसबाट विभिन्न सामग्री उत्पादन गरी प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्ने लक्ष्य अनुसार बाँस रोपिएको भट्टराईले बताएका छन् । शीप विकासका लागि नगरपालिकाले तालिम समेत सञ्चालन गरिरहेको र बाँसबाट उत्पादित सामग्रीको माग पनि आइरहेको भट्टराईको भनाई छ । ‘प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्न बाँसका परम्परागत सामग्री उत्पादन गर्न शीप विकासका लागि तालिम पनि भइरहेको छ’ भट्टराईले भने–‘बाँसजन्य सामग्रीको माग पनि प्रसस्त भएको र बजारसम्म पु¥याउने व्यवस्था पनि नगरपालिकाले नै गरिदिन्छ ।’
मोसो जातका बाँसको तामाबाट विभिन्न प्रकारका खाद्य परिकार, पात र बाँसबाट विभिन्न किसिमका सामग्री बनाउन सकिने भट्टराईले जनाए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको प्रबद्र्धन गर्ने उद्देश्यले गत फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा देशभरका बाँससंग सम्वन्धित सात सय १३ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित