रावासावा प्राज्ञिक समाजले दुई जनालाई पुरस्कार र चार जनालाई सम्मान गर्ने घोषणा

  • प्रकाशित मितिः वैशाख २०, २०८२
  • 518 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–रावासावा प्राज्ञिक समाज नेपालले विभिन्न क्षेत्रमा क्रियाशील रहेर जिल्ला तथा देशका लागि विशेष योगदान पु¥याउने दुई जनालाई पुरस्कार तथा चार जनालाई सम्मान गर्ने भएको छ । आगामी असोज पहिलो साता काठमाडौंमा प्राज्ञिक समाजको १२ औं साधारणसभा तथा सातौ अधिवेशनको अवसरमा उक्त पुरस्कार तथा सम्मान गर्ने बैशाख २० गते सार्वजनिक गरेको हो ।
प्राज्ञिक समाजका अध्यक्ष बम बानियाका अनुसार साहित्य, कला, सँगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेलाई पुरस्कार तथा सम्मान गर्ने निधो गरिएको हो । यो वर्षको ‘रावासावा पुरस्कार–२०८२’ बाट वरिष्ठ गीतकार एवम् कवि टीका चाम्लिङ र हास्यकलाकार एवम् साहित्यकार गोकुल परियारलाई प्रदान गरिने बानियाले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका गीतकार एवम् कवि चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार–२०८२’ र खोटेहाङ गाउँपालिका– ७ खोटाङबजारका हास्यकलाकार एवम् साहित्यकार परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको बानियाले सुनाए । पुरस्कृत हुने दुबै जनालाई जनही २५ हजार रूपैयाँका दरले नगदको साथमा दोसल्ला ओढाएर पुरस्कृत गरिने बानियाले जनाए ।


यस्तै ‘रावासावा सम्मान–२०८२’ बाट जन्तेढुङ्गा गाउँपालिका काहुलेकी वरिष्ठ सञ्चारकर्मी एवम् अधिकारकर्मी बबिता बस्नेत, नुनथलाका उद्यमी व्यवसायी तथा समाजसेवी तेजबहादुर राई, लफ्याङका वरिष्ठ अधिवक्ता एवम् समाजसेवी देवराज कटवाल र पाथेकाकी समाजसेवी एवम् सामाजिक अभियान्ता गङ्गा राई ‘कान्छी’लाई सम्मान गर्ने निर्णय गरिएको बानियाले सुनाए । सम्मानित हुनेहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित