मझुवागढीमा किरात सांस्कृतिक संग्रहालय नबन्ने (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख १०, २०८२
  • 224 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढी क्षेत्रमा निर्माण गर्न लागिएको किरात सांस्कृतिक संग्रहालय रोकिएको छ । देवीस्थान सामुदायिक वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाउने भन्दै डिभिजन वन कार्यालयले अनुमती नदिदा किरात सांस्कृतिक संग्रहालय निर्माण नहुने भएको हो ।
संघीय सरकारको एक करोड रूपैयाँको बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा मार्फत ठेक्काबाट निर्माण हुनु पर्ने संग्रहालय, डिभिजन वन कार्यालय खोटाङले अनुमती नदिदा रोकिएको, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । देवीस्थान सामुदायिक वनले उपयोजना पारित गरी उक्त संरचना निर्माण गर्ने निधो गरिएको घिमिरेले जनाएका छन् ।
भवन निर्माणका लागि ठेक्का आह्वान गर्नअघि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले डिभिजन वन कार्यालय खोटाङलाई राय मागेको थियो । तर डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको मापदण्ड पूरा गरेर बृहत, कङ्क्रिट, ठूला योजनाका संरचना बाहेकका संरचना निर्माण गर्न पाउने राय दिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले बताएका छन् ।
किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि मझुवागढीको पश्चिम तर्फ जङ्गल फाँडेर पर्खाल लगाइएको छ । उक्त पर्खाल लगाउन डोजरले सडक निर्माण गरिएको छ । संघीय सरकारको संस्कृति मन्त्रालयले नगरपालिकालाई वित्तीय हस्तान्तर गरी पठाएको ३६ लाख रूपैयाँको बजेटले उक्त काम गरिएको हो । उक्त बजेटले मझुवागढीमा रहेको वाबु राखिएको प्राङ््रढमा ढुङ्गा समेत बिच्छ्याइने नगर प्रवक्ता घिमिरेले बताए । तर गढीको आसपास कङ्क्रिटका अनावश्यक संरचना निर्माणले गढीको अस्तित्व संकटमा परेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताएका छन् ।
मझुवागढीमा संग्रहालय निर्माण नहुने भएपछि किरात सेवा समाजको समाधीस्थलमा उक्त संरचना निर्माणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बैशाख ५ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई सिफारिस गरेको छ । किरात सेवा समाजले समाधीस्थलमा संग्रहालय निर्माण गर्न दिने निर्णय सहित निवेदन पेश गरेपछि उक्त ठाउँमै बनाउन सिफारिस गरिएको नगरप्रवक्ता घिमिरेको भनाई छ । उक्त समाधीस्थल भएको ठाउँमा संग्रहालय निर्माणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले समेत सिफारिस गरेको घिमिरेले बताएका छन् । तर समाधी मासेर संग्रहालय निर्माण गर्न नहुने कतिपयले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित