साप्सुखोला जलविद्युत आयोजनाले खोलामा पानी नछाडेको स्थानीयले गुनासो (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख ९, २०८२
  • 358 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६.६ मेगावाट क्षमताको जलविद्युत आयोजनाले खोलामा पानी नछाडेको स्थानीयले गुनासो गरेका छन् । मुहानदेखि पावर हाउससम्म खोला नै सुकाएर पानी फर्काउने गरेकाले जलचर तथा खेतीयोग्य जमिनमा असर परेको स्थानीयले गुनासो गरेका हुन् ।
खोलामा कम्तिमा १० प्रतिशत पानी छाड्नु पर्नेमा खोलै सुकाएर जलविद्युतले पानी फर्काएपछि खोलाका जलचर सखाप हुनका साथै खेतीयोग्य जमिनमा समेत असर परेको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कुमार बुढाथोकीले बताएका छन् । उक्त जलविद्युत आयोजनाको मुहान भएको ठाउँ बसुवादेखि पावर हाउस भएको ठाउँ बेलडाडाँसम्म करिब ४ किलोमिटर खोलामा पानी नहुदा जलचर तथा खेतीयोग्य जमिनमा असर परेको बुढाथोकीले सुनाएका छन् । यसबारेमा गत वर्ष नै सम्वन्धित निकायको ध्यानाकर्षण गराउदा समेत बेवास्ता गरिएको बुढाथोकीको भनाई छ ।
जलविद्युत आयोजनाका कारण सिचाइ कुलोको मुहान बिग्रिएपछि रेग्मीटार क्षेत्रको करिब ५० हेक्टर जमिनमा गरिने खेती प्रभावित भएको स्थानीय पुण्यप्रसाद रेग्मीले बताएका छन् । रेग्मीटार क्षेत्रमा ५६ घर परिवारको घर तथा खेतीयोग्य जमिन छ । पानी अभावले बसाइँ सर्नु पर्ने अवस्थामा पुगेको रेग्मीले सुनाएका छन् । गत वर्ष पनि पानी नछाड्नुका साथै जलविद्युत निर्माण गर्दा बिग्रिएको कुलो नबनाएकाले दिक्तेलस्थित प्रहरी कार्यालयमा छलफल गर्नु परेको स्थानीय कमलराज रेग्मीले बताएका छन् ।
उक्त आयोजनाको प्रबद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनी सम्वद्ध जेनिस लामाले भने १० प्रतिशत पानी खोलैमा छाडिएको दाबी गरेका छन् । करिब एक अर्ब ५० करोडको लागनीमा सम्पन्न उक्त जलविद्युत आयोजनाको विद्युत २०७८ पुसमा राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित