पराम्परा धान्दै टंकबहादुर विश्वकर्मा (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत २९, २०८१
  • 913 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाका ६५ वर्षीय टंकबहादुर विश्वकर्माले चदरा व्यवसाय सञ्चालन गरेको पाँच दशक बित्यो । काठबाट ठेकी, हर्पे, कठुवा, तोङ्बा, दुनेरी, आरी लगायतका सामग्री बनाउदै उमेर ढल्किाएको हो ।
उमेर हुदा खोलाको पानीको माध्यमबाट भाँडी चलाउथे । उमेर ढल्किदै गएपछि खोला–खोला धाएर भाँडी चलाउन छाडेको विश्वकर्माको भनाई छ । पछिल्लो समय विद्युतबाट चल्ने मेसिन आएपछि गाउँमै काठका भाँडा बनाउन थालेको उनले सुनाए । ‘पहिले–पहिले उमेर र बल हुदा खोला–खोला धाएर भाँडी चलाइयो, आजभोलि उमेर पनि गयो, बल पनि घट्यो त्यसरी काम गर्न सक्न छाडियो’ विश्वकर्माले भने–‘आजभोलि विजुलीबाट चल्ने मिसिन आएपछि गाउँमै काम गर्दै छु ।’
उनलाई वडा कार्यालय नुनथलाले मेसिन खरिद गरिदिएको हो । वडा कार्यालय नजिकै भाँडी बनाई दिएपछि गत वर्षदेखि गाउँमै काम थालेका हुन् । गाउँमा काम पाएपछि खुसी लागेको विश्वकर्माले सुनाए । विजुलीको खर्च समेत वडाले तिरेपछि सहज भएको उनले बताए । वडाले नै बस्ने व्यवस्था पनि मिलाई दिएको छ । ‘वडाअध्यक्षज्यूले गाउँमै काम गर्ने वातावरण मिलाई दिनु भयो, विजुली, डेरा भाडा सबै वडाले नै खपेको छ, सक्दो काम गर्छु, कामको पैसा आफैंलाई हुन्छ’–विश्वकर्माले भने ।
वडाअध्यक्ष भगेश्वर राईका अनुसार गत आर्थिक वर्षको वडाको एक लाख बजेटबाट मेसिन खरिद गरिदिएको हो । ‘वडाको एक लाख बजेटबाट भाँडीको मेसिन गरिद गरिदिएको हो’ राईले भने–‘अब भाँडी राख्ने टहरा बनाउन बाँकी छ, त्यसका लागि नगरपालिकालाई अनुरोध गरिएको छ, हुन्छ पनि भन्नु भएको छ ।’
पराम्परागत शीप संरक्षण गर्न वडाले लगानी गरेको वडाअध्यक्ष राईको भनाई छ । ‘चदरा व्यवसाय लोप हुन लागेको छ, यस्तो परम्परागत शीप संरक्षण गर्नु हाम्रो दायित्व हो, वडाको इज्जत पनि हो’ राईले भने–‘त्यही भएर लोपोन्मुख चदरा व्यवसाय संरक्षणमा वडाले लगानी गरिएको हो ।’
विश्वकर्माका लागि स्थानीय खेमराज राईको घर निःशुल्क रूपमा उपलब्ध गराई दिएको वडाअध्यक्ष राईले बताए । विश्वकर्माको छ भाइमध्ये साइलो तिलकले यो शीप सिकेका छन् । तर उनी पनि डेढ वर्षअघि रोजगारीको खोजीमा बहराइन गएका छन् । आएप्छि पेशा सम्हाल्छ कि भन्ने आशा राखेको विश्वकर्माको भनाई छ । कान्छा छोरा १० वर्षीय युनिक विश्वकर्माले पनि शीप सिकिरहेको विश्वकर्माले बताए । ‘बाजे शुभचन, बाबु मनवीर र मैले पनि यही पेशामा जुनी गालेँ, अब छोरा नातिले पेशा संहाल्छ कि भन्ने आशा छ’ विश्वकर्माले भने–‘पेशा थामिदियो भने पुर्खौली परम्परा जोगिन्थ्यो ।’
दारको काठबाट बनाएको पाँच पाथी जाने ठेकीको १२ हजार, दुई माना जाने हर्पेको एक हजार, टुक्सेको एक हजार, दुई माना जाने कठुवाको १२ सय, तोङ्बाको १८ सय, ६ कुरुवा जाने दुनेरीको तीन हजार लगायत मुल्यमा विक्री हुने विश्वकर्माले बताए । ‘सामान त महङ्गो मै विक्री हुन्छ, तर मैले त धेरैजसो ज्यालामा बनाउने गरेको छु, यसो एक दुई रूपैयाँ हुन्छ’–विश्वकर्माले भने ।
उनले बनाएको सामान दिक्तेल बजारमा खपत हुने गरेको छ । दिक्तेल बजारबाट काठमाडौ, विराटनगर, धरान लगायत हङ्कङसम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित